थाइल्याण्ड र म्यानमार नजान नेपाली दूतावासको आग्रह

थाइल्याण्ड र म्यानमार नजान नेपाली दूतावासको आग्रह

म्यान्मारस्थित नेपाली दूतावासले थाइल्याण्ड र म्यानमारमा रोजगारीका लागि नजान सचेत गराएको छ । आकर्षक तलबको प्रलोभनमा परेर नेपालीहरु म्यान्मार र थाइल्याण्डमा पुगेर अलपत्र परेका घटना सार्वजनिक हुन थालेपछि दूतावासले आज विज्ञप्ति जारी गर्दै सचेत गराएको हो । 

दूतावासले म्यानमारस्थित आइटी कम्पनीमा आकर्षक तलब दिने प्रचार गर्दै नेपालीलाई थाइल्याण्ड र म्यानमार पुर्याएर बन्दी बनाई गैरकानूनी काममा लगाउने गरेको पाइएकाले कसैको पनि प्रलोभनमा नपर्न आग्रह गरेको छ । युएई र नेपालमा रहेका नेपालीलाई सामाजिक सञ्जालमार्फत आकर्षक तलब र सुविधाको प्रलोभन देखाई थाइल्याण्डको बैंकक र याङ्गुनको अन्तर्राष्ट्रिय विमानस्थालमा अवतरण गराई विभिन्न माध्यमबाट म्यानमारको कायिन प्रान्तको म्यावडीमा जबरजस्ती अवैध कार्यमा लगाउने गरेको दूतावासको भनाइ छ ।

अनलाइन जुवा, कल सेन्टर–क्रिप्टो करेन्सीजस्ता क्षेत्रमा काम गर्ने आइटी कम्पनीले नेपालीहरुलाई नियन्त्रणमा लिने र राहदानी कब्जा गरी दैनिक १३  घण्टासम्म काममा लगाउने गरेकाले पीडितहरु उद्धारको निम्ति दूतावासको सम्पर्कमा आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

‘यसरी फसेका नेपाली नागरिकहरुको रोजगारदाताले राहदानी खोसिदिने, १२/१३ घण्टासम्म काम लगाउने, तलब नदिने गरेको बताउँदै उद्धारका लागि राजदूतावासमा सम्पर्क गर्ने गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा ल्याई अलपत्र पार्ने एवम् नेपाल सरकारको प्रचलित कानूनअनुरुप निषेध गरिएका कार्यहरुमा संलग्न हुने कार्य कानूनबमोजिम दण्डनीय भएकाले यस्ता गैरकानूनी कार्यहरु नगर्न/नगराउन र यसतर्फ सचेत रहन अनुरोध गरिन्छ ।’ 

साथै, रोजगारीको प्रलोभनमा पर्यटक भिसामा यात्रा नगर्न र रोजगारी प्रस्ताव स्वीकार गर्नुअघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म/कम्पनी/रोजगारदाताहरुको बारेमा जानकारी प्राप्त गर्नसमेत दूतावासले अनुरोध गरेको छ ।

टिप्पणीहरू