स्वप्नील शहरमा रुपान्तरित चुहाई

स्वप्नील शहरमा रुपान्तरित चुहाई

मे १८, २०२४ 

छिमेकी मुलुक जनगणतन्त्र चीनको राजधानी बेइजिङ्गमा आगमन भएको नौ दिन बितेको छ । उज्जवल भविष्यको निम्ति समयको अघिपछि भागदौड गर्दै संघर्षको पाइलालाई केही समय थाँती राखेर अल्पकालीन नयाँ जीवन यात्रामा हुटहुटीका साथ निस्केकी उत्सुक यात्री म । 

नयाँ ठाउँ, नौलो परिवेश, अनि काठमाडौंको कोलाहलपूर्ण वातावरणभन्दा छुट्टै र अनौठो अनुभूति भइरहेको छ । विकासको चरमोत्कर्षमा पुगिसकेको बेइजिङ्गलाई छोडेर चीनकै उत्तर पूर्वी किनारामा रहेको ग्वाङ्गडोङ्ग राज्यको चुहाई शहर पुगेको पनि तीन दिन भइसकेछ । तीन सय वटाभन्दा बढी द्वीपसमूहहरु मिलेर बनेको, विश्वमान चित्रमा छुट्टै पहिचान र अस्तित्व बनाएको, पूर्वाधार र मानव बसोबास धेरै भएको यो शहर उत्पादन र उत्पादकत्वमा पनि निकै अगाडि रहेछ । 

जनघनत्व अधिक रहेको चुहाईमा केही समय विलीन भएर भोलि बिहानै बेइजिङ्ग फर्किनु छ । मानव जीवन स्वार्थपूर्ण छ । मनलाई जतिसुकै स्थिर राख्न खोजेपनि अस्थिर र चञ्चल भइहाल्छ । चीनको यी यावत विकास र सकारात्मक कुराहरु सबै नेपाल लग्न पाए हुन्थ्योजस्तो भइरहेको छ । बेइजिङ्ग फर्किने समय भइसक्दापनि केही महत्वपूर्ण कुराहरु पछाडि छुट्यो कि जस्तो महशुस भइरहेको छ । जति समय घर्कँदै जान्छ, त्यति मुटुको धड्कनको गति बढ्दै गएको छ । एक पटक सुटुक्क उडेर चिलझैं हेर्न बाँकी सबै चिज धीत मर्नेगरी गगनबाट नियालुझैं भइरहेको छ । 

हिँड सुन्दर विदेशमा,  
चिडिया आज बनुँ उडि त्यहाँ,  

ढकमक्क सुगन्ध छाउने, 
वनमा नीड रचेर गाउने ।।

नेपाली साहित्यका युगपुरुष महाकवि लक्ष्मीप्रसाद देवकोटाले शाकुन्तल महाकाव्यमा लेखेका यी शब्दहरु मलाई आफैंले अनुभूति गरेझैं लागिरहेको छ । मिश्र र नाइल नदीको सभ्यता मात्रै पढेको मलाई मोतियुक्त नदीको सभ्यताले झनै मन्त्रमुग्ध बनाएको छ । मैले पढेको र सुनेको भोट बर्मेली सभ्यताको उद्गमस्थल सम्भवतः यही होकी भन्ने दोधारमा परेकी छु ।

जब घामले चुहाईमा अवस्थित मोतीहरुको नदी (पर्ल नदी) लाई नाघेर मकाउ अनि मकाउ प्रायद्वीपबाट दक्षिण चीनको समुद्री किनाराको क्षितिज चुम्न खोज्छ, तब चुहाईबासीहरु ह्वारर्र बाहिर निस्किन्छन् । १९८० को दशकमै चीनको चार पर्यटकीय शहरमध्ये एक यो शहरमा रातिको १२ बजिसकेको हुन्छ, तापनि शहर जागृत नै हुन्छ । पर्यटकहरु सडक, पार्क, रेष्टुरेण्ट र ‘कान्चे’ भनिने चोकको फुडकार्टतिरै झुमेर रमाइरहेका हुन्छन् । शहरको बजार, गल्ली र चोक यथास्थितिमा ग्राहकहरुलाई स्वागतभावले मुस्कुराइरहेको हुन्छ । ग्राहकहरुलाई यसले गर्ने सत्कारमा कुनै कमी नभएको आभाष हुन्छ । दिनभर उद्योग कलकारखानामा उत्पादन, आयात र निर्यातमा व्यस्त जीवनशैलीलाई राहत दिने र भोलिको दिनलाई निःशर्त स्वागत गर्ने चुहाईबासीको यो नियमित दिनचर्या नै हो । 

चुहाई शहर हङ्गकङ्ग र मकाउको वैकल्पिक शहर पनि हो । जसले खाद्यान्न र अन्य बन्दोबस्तीबाट हङ्गकङ्ग र मकाउलाई पालेको छ । मोतीको नदीमा रहेको विशाल र आँखाले भ्याएसम्मको लामो अत्याधुनिक पुल पारिको आलिशान शहर जसलाई परिहरुको शहर, जुवाको शहर, कमलको फुलको टापु, दर्पणको आगमन र सुगन्धित पर्वतको शहरलगायतको नामले चिनिन्छ । हुन त जुहाईलाई मोतीजस्तै चम्काउन र जीवन्तता दिन हजारौंको संख्यामा यहाँ रहेका ठूलासाना कलकारखानाहरुले पनि महत्वपूर्ण योगदान गरेको छ । 

विश्वजगत् फाइभजी नेटवर्कलाई लक्ष्य मानेर अघि बढिरहेको अवस्थामा चीनले ‘अब त आठजी’ भन्न शुरु गरिसकेको छ । विकास र विनाश एकापसका पुरक हुन् भन्ने भाष्यलाई जुहाई शहरले गलत साबित गरेको छ । भ्रमणको क्रममा संसारकै एक प्रमुख एयर कन्डिसनर निर्माता कम्पनी ‘ग्री इलेक्ट्रिक एप्लाईन्सेस कम्पनी’ मा पुगियो । सो कम्पनी देख्दा जोकोहीलाई अचम्म लाग्न सक्छ । ‘विशाल कम्पनी, व्यापक उत्पादन तर कार्बन उत्कर्षणको दृष्टिकोणले शून्य’, यस्तो किसिमको चकित बनाउने वातावरणमैत्री काम यो कम्पनीले गरेको छ । 

८० हजार कामदारले तीन सिफ्टमा काम गर्ने विशाल कम्पनीले १६० भन्दा बढी राष्ट्रहरुलाई आफ्नो उत्पादन बेच्दै चीनको आयआर्जनलाई थप मजबुत पारेको छ । कम्पनीले निर्माण गरेको चलाख विद्युत मानव ‘रोबोट’ को एक समूह जसले इच्छानुसारको सांगितिक धुन बजाएर हाम्रो दिनभरीको थकान मेट्छ । यसले म र हामीजस्ता आगन्तुकहरुलाई खोज र अनुसन्धानमा जुट्न प्रेरित पनि गर्दछ । प्रत्येक कामदारलाई नव–आविष्कारमा जुटेर अघि बढ्न उत्प्रेरणा पनि दिएको आभाष हुन्छ । कम्पनीले निर्माण गरेको बोलेर बन्द र सुचारु गर्न मिल्ने सेन्सरयुक्त अत्याधुनिक टेलिभिजन र अत्याधुनिक वातावरण अनुकूल (एयर कन्डिसनर) जुन चीनमै बलियो र टिकाउ भनेर प्रख्यात रहेको छ । इञ्जिनहरुको दिमाग भनेर चिनिने माईक्रोचिप्ससमेत निर्माण गरेको देख्दा कसलाई अचम्म नलाग्ला र ?

 

विमान निर्माण, मर्मत र विकास गर्दै आएको चुहाईमा रहेको अत्यन्तै महत्वपूर्ण उद्योग ‘चुहाई एभिएसन पार्क’ ले चीनले गरेको विज्ञान जगतको प्रतिबिम्ब झल्काउँछ । उडान अवधिमा हुने आपतकालीन अवस्था अथवा विमान नियन्त्रणबाट बाहिर गएमा एक पावर बटन थिचेको भरमा स्वचालित भई सुरक्षित रुपमा विमान अवतरण हुने आविष्कारलाई स्वयम् आफ्नै आँखा अगाडि देख्न पाउँदाको खुशी कसरी पो वर्णन गर्न सकुलाँ र ? यस्तो चमत्कारिक आविष्कार सायद विश्वकै पहिलो आविष्कार हुनुपर्छ । ‘अम्फिबियन विमान’ नाम अनुसारको प्रयोगमा आउने भूमि र पानी दुबैमा अवतरण र उड्न सक्ने विमानदेखि लिएर प्याराग्लाइडिङ विमानसम्मका विभिन्न विमानको मोडल, उडान, उड्डयन सिमुलेटरजस्ता चमत्कारिक आविष्कारहरु त्यहाँ देख्न पाइयो । 

आफ्नो अस्थित्वका लागि खहरे पहाडमा जतिसुकै गडगडाए पनि सागरमा विलिन हुँदा शान्त त हुनैपर्छ । यो प्राकृतिक नियम हो भने धुव्रसत्य पनि । यो सत्यलाई आत्मसात् गरेका छन्, चिनियाँ नागरिकले । त्यसैले शान्त, सभ्य चिनियाँहरुलाई आतिथ्य सत्कार र आमोद विनोदमा कसले पो सक्छ र ? शान्तिप्रिय चिनियाँ काम अधिक र कुरा कम गर्छन् । मोतीहरुको नदी दक्षिण चीन सागरमा समाहित हुने ठाउँ चुहाईको यलि द्वीपको पूर्वी किनारा । यही बिन्दूनजिकै दक्षिण चीन सागर तटमा निर्माण भएको छ, गोलाकार भव्य र मनमोहक युगल ओपेरा भवन (ओपेरा घर) । ५९ हजार वर्गमिटर क्षेत्रमा फैलिएको यो अत्याधुनिक सुविधा सम्पन्न भवनले दक्षिण चीन सागरजस्तै शान्त भएर मन्दमुस्कानका साथ अविच्छिन्न शहरतर्फ फर्केर शहरवासीहरुलाई पहरा दिइरहेको छ । विकासले मानव जीवनलाई व्यवस्थित बनाउँछ भन्ने उद्गार चीनको चुहाई शहरबाट शुरु भएको दाबी चुहाईबासीले गर्दछन् ।

 

व्यापक जनसंख्या, चौंडा र व्यस्त चिल्ला सडक, तर सवारी जाम कतै देखिँदैन । सबैलाई यस्तै खालको सडक मनपर्छ । सबैले मनपराउने भएर नै होला सडकको नामै प्रेमीहरुको सडक अर्थात लभर्स रोड राखिएको छ । यहाँ दुनियाँका प्रेमिल जोडीहरु आउँछन् अनि माया साट्छन् । जसले शुद्ध चित्तले, दिमाग एकत्रित बनाएर भविष्यमा गरिने कार्ययोजनाको चित्राङ्कन गरेर फर्कन साथ दिन्छ । जुहाईमै मकाउ सीमानामा रहेको जमिनमुनिको विशाल र सस्तो बजार ‘पोर्ट प्लाजा मार्केट’ छ । जसले व्यस्त चुहाई शहरलाई थप व्यवस्थित पारेको छ र मकाउबासीको किनमेल गर्ने मुख्य मार्केट बन्न पुगेको छ । उन्नतबाली प्रणालीबिना विश्वजगत्मा बढ्दो जनसंख्यालाई भोकमरीबाट जोगाउन सकिन्न भनेर ज्ञानको आँखा खोल्ने, विश्वलाई सडकमार्ग र कनेक्टिभिटी नै विकासको द्योतक हो भन्ने मन्त्र सिकाउने विश्वविद्यालयहरु यही अवस्थित छन् । 

चीनले पहिले आफैंले ५५ किलोमिटर अर्थात ३४ माइल लामो पुलद्वारा हङ्गकङ्ग र मकाउलाई चुहाई शहरसँग जोडेर विकासको मार्गचित्र प्रस्तुत गरिसकेको छ । सायद विकास यही र यस्तैलाई भन्ने त होला नि । जसले इञ्जिनियरिङ्ग जगतमा मात्र नभई आधुनिक मानव सभ्यताकै लागि एक खुड्किलो माथि इँट्टा थप्ने काम गरेको छ । जुन हाम्रोजस्तो विकासशील देशले अनुकरण गर्न आवश्यक रहेको छ । जसरी संरचना बलियो हुन जग र त्यसमाथिका अवयवहरु मजबुत हुन जरुरी छ, त्यसरी नै कुनैपनि देश सम्पन्न र बलियो हुन स्थायी आम्दानीका स्रोत र बलियो स्थायी संरचना हुन आवश्यक छ । यसलाई चीनले ८० को दशकमै प्राकृतिक वातावरणको संरक्षण र जगेर्ना गर्दै बल र विकासद्वारा समृद्ध र सुःसम्पन्न पारिसकेको छ । 

चिनियाँ प्रशासन अनि आम नागरिकले विगतमा पुर्खाले छोडेर गएको चिनो र बिरादरीलाई यथास्थितिमा भावी पुस्तालाई हस्तान्तरणका लागि माया गरेर सुरक्षित राखेका छन् । ‘सके थपिन्छ, नसके यसमा घटाउने त परिकल्पनाभन्दा बाहिरको कुरा’ भन्ने दृढ संकल्प प्रत्येक चिनियाँ नागरिकले बोकेको पाइन्छ ।

(यात्रा संस्मरणमा आधारित)

टिप्पणीहरू