मेयर सा’बको टाइम
अस्ति काठमाडौंका मेयर बालेन साहका कुनै पीएलाई एउटा फोन आएछ । साहलाई नै फोन गर्ने त सम्भावनै छैन । गर्ने पीएसम्मलाई हो ।
पीए — हेल्लो ! को बोल्नुभयो ?
— ओहो, पल शाहजी ? कता ? खोरमै हो ? हेर्नोस्, यो दुनियाँ कति निष्ठुरी छ । न तपाईंलाई काम गर्न दियो, न यता मेयर साबलाई काम गर्न दियो । भेटेर कुरा गरौँ ।
— म पल शाह होइन, जल शाह हो के जल शाह ।
— ए, जल शाह पो । ओहो, नमस्कार । हजुर भन्नुस् न ।
— मेयर साबलाई भेट्नु थियो । कहिले टाइम मिल्छ होला ?
— भेट्ने ? टाइम त छैन उहाँसँग । के काम थियो ?
— काम त अब....
— अब कुनै कामै छ भने त पछि मात्रै टाइम पाउन सकिन्छ । उहाँ अहिले साह्रै व्यस्त हुनुहुन्छ ।
— काम त खासै छैन ।
— ए, काम छैन ?
— छैन, यसो भेट्न मन लागेर मात्रै भेट्न खोजेकी । छोरीले पनि भेट्ने इच्छा गरेकी छ । यसो गफ मात्रै गर्ने हो ?
— ए, गफ मात्रै गर्ने हो ? त्यसो भए त हुन्छ नि । कहिले भेट्नुहुन्छ ?
— उहाँले जुन बेला भन्नुहुन्छ त्यही बेला आउँछु ।
— केही काम छैन, खाली गफ मात्रै गर्ने हो भने त टाइम मिलिहाल्छ नि । तर भेटेर फेरि ढल, पानी, सडक, फुटपाथ, डोजर, नाप, नक्सा, बत्ती, पुल, फोहोर, नाली जस्ता कुराचाहिँ गर्न पाइँदैन नि है !
— गर्दिन, गर्दिन । विशुद्ध गफै मात्र हो ।
— हुन्छ नि, उसोभए अहिले १० मीनेटमै आउन सक्नुहुन्छ ? म टाइम मिलाइ राख्छु ।
— हुन्छ, म आइपुग्छु । थ्यांक यू ।
— वेलकम !
टिप्पणीहरू