एक दिनको बिदा

एक दिनको बिदा

माओवादीले १० वर्षसम्म जनयुद्ध ग¥यो तर जनतालाई के दियो भनेर प्रश्न गर्नेहरू धेरै छन् । अरुको के कुरा, म आफैँ पनि गर्थेँ । जनयुद्धले के दियो ? आज जनयुद्ध सकिएको १५ वर्षपछि यो प्रश्नको उत्तर पाएको छु, जनयुद्धले एक दिनको बिदा दिएको छ । जनयुद्धले के दियो ? एक दिन बिदा दियो । आखिर केही न केही त दियो नि ! 

त्यसो त नेपालमा जति पनि परिवर्तनहरू आए, त्यसले पनि दिएको त यही एक दिनको बिदै न हो । बिदाभन्दा बढी के दिएको छ र ? ९७ सालमा त्यत्रो शहीदहरूले ज्यान अर्पण गरे । शहीदहरूले ज्यान अर्पण गरेर देशलाई के दियो ? त्यही एक दिनको बिदा होइन ? (अहिले त त्यो पनि काटिसकेको छ ।) देशमा प्रजातन्त्र आयो । प्रजातन्त्र आएर जनतालाई के दियो ? एक दिन बिदा दियो । गणतन्त्र आयो ।

गणतन्त्र आएर जनतालाई के दियो । त्यही एक दिनको बिदा दियो । नयाँ संविधान आयो । नयाँ संविधानले जनतालाई के दियो ? त्यसले पनि एक दिनको बिदै दियो । आखिर देशमा आएको नयाँ संविधानले पनि जनतालाई दिएको त त्यही एक दिनको बिदै न हो ?

यसले प्रमाणित गर्छ कि देशमा जे आओस्, सबैले दिने भनेको एक दिनको बिदा मात्रै हो । अब जनयुद्धले पनि एक दिनको बिदै दियो त यसमा के आपत्ति ? 

आखिर देशमा ठुल्ठूला परिवर्तन गर्ने भनेकै जनतालाई सुख, शान्ति र आनन्द दिनलाई हो । अब बिदा भएपछि घरमा आनन्दले बस्नोस् । शान्तिले बस्नोस् । जनतालाई चाहिएको यति नै होइन र ?
 

टिप्पणीहरू