अन्तर्राष्ट्रिय सहमति

अन्तर्राष्ट्रिय सहमति

नयाँ राष्ट्रपतिको चयन झनै जटिल बनेको छ । चुनावनजिक आइसक्यो तर राष्ट्रपतिको उम्मेदवार न एमालेले दिन सक्यो, न माओवादीले, न त कांग्रेसले । बरु भारतबाट प्राध्यापकएस.डी मुनिले दिनुभएको छ । नेपाली नेताहरू कति हुतिहारा छन्, यो यसबाट पनि थाहा हुन्छ । हामीले पेट्रोल र खाद्यान्न मात्र होइन, अब त राष्ट्रपतिको उम्मेदवारसमेत भारतबाट ल्याउनुपर्ने अवस्था आइसकेको छ । यति धेरै परनिर्भर हुनु सायद राम्रो कुरा होइन । 

राष्ट्रपति उम्मेदवार यसलाई बनाउँदा ठीक होला भनेर भारतबाट उम्मेदवारको सूची आएपछि अब सायद चीनबाट पनि उम्मेदवारको अर्को सूची आउने होला । किनभने भारतबाट सूची आएपछि चीनबाट पनि आउने निश्चित नै छ । अब चीनबाट आयो भने अमेरिका चुप बस्ने कुरै भएन । अमेरिकाबाट पनि एउटा सूची पक्कै आउँछ होला । 

यसरी धमाधम विदेशबाट समेत सूची आउन थाल्यो भने त राष्ट्रपतिको चुनावमा राष्ट्रिय होइन अन्तर्राष्ट्रिय सहमति जुटाउनुपर्ने अवस्था नआउला कसरी भन्ने ? राष्ट्रिय सहमति जुटाऊँ भन्दा त यति भद्रगोल भइसक्यो, अब अन्तर्राष्ट्रिय सहमति जुटाउनुप¥यो भने झन् कति भद्रगोल हुने होला ?
 

टिप्पणीहरू