बालुवाटारले विदेश जान रोकेपछि परराष्ट्रमन्त्री बालकोटमा

बालुवाटारले विदेश जान रोकेपछि परराष्ट्रमन्त्री बालकोटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री डा. विमला राई पौडेललाई स्वीट्जरल्याण्ड जान रोकेपछि लगत्तै बालकोट पुग्नुभएको छ । आज अपरान्ह  प्रधानमन्त्रीले उहाँलाई विदेश नजान निर्देशन दिनुभएको थियो ।

साँझ ६ बजे कतार एअरवेजको उडानमा दोहा हुँदै जेनेभा जान लाग्नुभएकी परराष्ट्रमन्त्री पौडेललाई प्रधानमन्त्रीले अन्तिम समयमा रोक्नुभएको हो । उक्त निर्देशनपछि मन्त्री पौडेल पौने ५ बजे बालकोट जानुभएको एमाले स्रोतले बताएको छ ।

बालकोट पुगेर उहाँले अध्यक्ष केपी शर्मा ओलीसँग झण्डै डेढ घण्टा कुराकानी गर्नुभएको हो । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको बैठकमा भाग लिन मन्त्री पौड्याल जेनेभा जाने कार्यक्रम थियो । भ्रमणको अन्तिम तयारीमा रहेको अवस्थामा पौड्याललाई बालुवाटारबाट तत्काल भ्रमण रद्ध गर्न निर्देशन दिइएको हाे ।

मन्त्रीलाई विदेश जान रोकेपछि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पूर्वमन्त्री गोविन्दप्रसाद कोइराला, प्रधानमन्त्री कार्यालयका सचिव उदयराज सापकोटा र परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साल त्यसतर्फ जानुभएको छ । साँझ ६ बजेको कतार एअरवेजको उडान नम्बर क्युआर ६४७ विमान राति पौने ८ बजे काठमाडौंबाट उडेको बताइन्छ ।

टिप्पणीहरू