अन्धविश्वासमा जकडिएको नेपाली समाज, अकालमा सर्वसाधारणले गर्छन् मृत्युवरण

अन्धविश्वासमा जकडिएको नेपाली समाज, अकालमा सर्वसाधारणले गर्छन् मृत्युवरण

२१ औं शताब्दीमा पनि अन्धविश्वासले नेपाली समाज नराम्रोसँग जेलिएको छ । अझै पनि आमनागरिकको मस्तिष्कबाट अन्धविश्वास हट्न सकेको छैन । झारफुकको नाममा कुटपिट गर्ने, बोक्सीको आरोपमा अनेकौं यातना दिने क्रम चलिरहेको छ । 

रुढीवादी र अन्धविश्वासको जालोभित्र समाज नराम्रोसँग जेलिएको छ । धामी झाँक्रीमाथि विश्वास गर्दा धेरैको अकालमा ज्यान गइरहेको छ । अन्धविश्वासको पछि लाग्दा हालैमात्र रुपन्देहीको सैनामैनामा एउटा अप्रिय र दुःखद् घटना भएको छ । 

कथित माताको चरम यातनाबाट एक बालिकाको मृत्यु भएको छ । सैनामैनाको फूलबारी बस्दै आएकी १४ वर्षीया बालिका सीता ज्ञवालीको माताको कुटपिटबाट ज्यान गएको प्रहरीले जनाएको छ । केही समयदेखि बिरामी बालिकालाई गाउँलेको सल्लाहअनुसार बाबुआमाले माताकहाँ पुर्याएका थिए । 

आफूले बिरामीलाई निको बनाउने गरेको बताउँदै माताले ती बालिकालाई लछारपछार गर्दै अनेकौं शारीरिक यातना दिएकी हुन् । वयश्क महिलाले लगातार चार घण्टासम्म कुटिरहँदा पनि बाबुआमा रमिते भएर हेरिरहेको बताइन्छ । छोरीको गुहार सामुन्ने रहेका बाबुआमाको कानले नसुनेपछि ती बालिकाले अकालमा ज्यान गुमाउनुपरेको हो ।  
फागुन २० गते रातिको उक्त घटना यतिखेर सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियो हेर्दा जोसुकैको आँखा रसाउँछ र मुटु काप्छ । उपचारको बहानामा बालिकाको निर्ममतापूर्वक हत्या गरिएकोमा चर्को आलोचना भइरहेको छ । 

माताले बालिकालाई भुईंमा लडाएर घोप्टो पार्दै शरीरमाथि चढ्ने, हातमा भएको रुद्राक्षको मालाले कुट्ने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, नाक र मुखमा पानी खनाइदिने, टाउको समातेर कपाल बटारी दिने, अनुहारमा थुक्ने, खरानी खुवाइदिनेलगायत कार्य गरेको भिडियोमा देखिन्छ । 

त्यहाँ उपस्थित अन्यले मातालाई रोकेनन्, बरु भिडियो बनाउनतर्फ केन्द्रित भए । इलाका प्रहरी कार्यालय, सालझण्डीले माता भनिएकी २२ वर्षीया सोनिया रेश्मीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । 

यता, सीताको परिवारले सोही रात कसैलाई जानकारी नदिई दाहसंस्कार गरेको खुलेको छ । २०७८ पुसमा पनि माताको यस्तै क्रियाकलापबाट एक बालिकाको मृत्यु भएको थियो । टाउको दुख्ने समस्या निको नभएपछि छोरी रोशनी श्रेष्ठलाई लिएर उनकी आमा माता उमा शाही ठकुरीकहाँ पुगिन् । 

उनले समस्या ठीक पार्ने आश्वासन दिएपछि छोरी छाडेर आमा फर्किएकी थिइन् । त्यसको २१ दिनपछि रोशनीको मृत्यु भयो । माताको कुटपिट सहन नसकेर उनले पनि संसार छोडेकी हुन् । त्यसपछि छोरी निको हुने आशमा फर्किएकी आमाको काख नै रित्तो बन्यो । 

कथित माताले झारफुकका क्रममा रोशनीलाई मुक्का हानिको, त्रिशुलसमेत प्रहार गरेको र निरन्तर कुटाइबाट बालिकाको ज्यान गएको प्रहरी अनुसन्धानबाट पुष्टि भइसकेको छ । ज्यानसम्बन्धी कसूरमा उनी यतिबेला थुनामा छिन् । 

यी त केही प्रतिनिधि मात्रै हुन् । धामीझाँक्रीको विश्वासमा कैयौंले अकालमा मृत्युवरण गर्नुपरेको छ । पढेलेखेकाहरु नै धामीझाँक्रीको फन्दामा परिरहेका छन् । चिकित्सा क्षेत्रले फड्को मारिसक्दा पनि उपचारको निम्ति धामीझाँक्रीकहाँ जाने क्रम रोकिएको छैन । भूत, प्रेत र अदृश्य शक्तिजस्ता अन्धविश्वासको पछाडि लाग्दा पैसा मात्र होइन, ज्यान नै जाने गरेको छ । 

गाउँमा मात्र नभएर राजधानी र सहरमा समेत धामीझाँक्रीको जगजगी छ । विभिन्न ठाउँमा साइनबोर्ड राखेर यस्ता गैरकानुनी क्रियाकलाप चलाउँदै आएको पाइन्छ । तर, सम्बन्धित निकायको यसतर्फ ध्यान गएको छैन । 

बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ को दफा ३ को उपदफा (१) मा धामी, झाँक्री, टुनामुना, तन्त्रमन्त्र, झारफुक वा यस्तै अन्य कुनै माध्यमबाट बोक्सीको आरोप लगाउन नपाइने उल्लेख छ । त्यस्तै, बोक्सा वा बोक्सीको आरोप लगाउने, अपमानजनक वा अमानवीय व्यवहार गर्ने, विभिन्न किसिमका यातना दिने कार्यमा रोक लगाइएको छ । 

कानुनले निषेध गरे पनि धामीझाँक्रीका यस्ता हर्कतमा रोक लाग्न सकेको छैन । यता, नेपाल प्रहरीले धामीझाँक्रीले अपराध गरेमा मात्र कारबाही गर्न मिल्ने बताएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र जीशीले धामीझाँक्री, माताले कुटपिट गरे, लुटेलगायतका कार्य गरेको उजुरी परेमा मात्र प्रहरीले कारबाही अघि बढाउने जानकारी दिए । 

‘धामीझाँक्री, माताले गलत कार्य गरेमा मात्र प्रहरीले कारबाही अगाडि बढाउन मिल्छ । कसैले कुटपिट गरेको, ठगेको भनि उजुरी दिएमा हामी अनुसन्धान गर्छौं । उनीहरुको पेशा व्यवसाय सञ्चालन गर्न दिने–नदिने जिम्मा सिडियो कार्यालयको हो । उतैबाट यसको नियमन हुँदै आइरहेको छ’, उनले भने । 

त्यस्तै, नेपाल झाँक्री संघले विभिन्न रोग लागेका बिरामीलाई ठीक पार्ने दाबी गरेको छ । संघका अध्यक्ष चेतबहादुर थिङले भूतप्रेतले छोएको, पीडामा परेकालाई त्यसबाट निकाल्ने ठोकुवा गरेका छन् । 

‘अस्पताल र यहाँ गरिने उपचार विधि छुट्टाछुट्टै हुन्छ । हामी सक्ने उपचार गर्छौं । भूतप्रेत र पीडा भगाउने काम गर्दै आएका छौं’, उनले भने, ‘हाम्रो संघमा झण्डै तीन सय सदस्य हुनुहुन्छ । संघले उहाँहरुमाथि नियमन गर्ने गरेको छ । कसैले कुटपिट गरेको वा बढी शुल्क लिएको उजुरी परेमा तुरुन्त कारबाही गर्छौं ।’

झाँक्री संघ जिल्ला प्रशासन कार्यालय, काठमाडौंलगायत विभिन्न निकायमा दर्ता भएको उनी बताउँछन् ।

टिप्पणीहरू