बीआरआईको उपलब्धीबारे काठमाडौंमा गहन छलफलको तयारी

बीआरआईको उपलब्धीबारे काठमाडौंमा गहन छलफलको तयारी

चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को दशौं वार्षिकोत्सवको उपलक्ष्यमा काठमाडौंमा छलफल कार्यक्रमको आयोजना गर्न लागिएको छ । छलफल आगामी बिहीबार गर्ने तयारी थालिएको छ । ​​​​​

बीआरआई स्थापनाको १० वर्षमा विश्वका १५१ राष्ट्र र ३२ वटा अन्तर्राष्ट्रिय संघ संस्था आवद्ध भइसकेका छन् । कोरोना महामारीका बाबजुद् पनि आगामी पाँच वर्षभित्र विश्वमा चिनियाँ लगानी २७ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । 

नेपाल पनि बीआरआईको सदस्य बनेको छ । सीमाना जोडिएकाले नेपाल विश्वव्यापी कार्यक्रममा विशेषगरी व्यापार, भौतिक पूर्वाधारको विकास र सडकलगायत विभिन्न मार्गबाट जोडिन सक्ने अवस्था बन्दै गएको छ । सोही सन्दर्भमा नेपाल र चीनका नीति निर्माता, विज्ञ, अनुसन्धानकर्ता, निजी क्षेत्र र अन्य सम्बन्धि सबैसँग बीआरआईको १० वर्षमा नेपालको उपलब्धीबारे छलफल गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

यसले नेपालमा ल्याउने थप अवसर, मुलुकको आर्थिक तथा सामाजिक विकासलगायत विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र त्यसमा छलफल गरिने बताइएको छ । कार्यक्रम राजधानीको याक एण्ड यति होटलमा बिहान ११ बजेदेखि शुरु हुने बताइएको छ ।

टिप्पणीहरू