आर्थिक बेतालमा जगदीशपुर ताल

आर्थिक बेतालमा जगदीशपुर ताल

तालको व्यवस्थापन गर्न गठित समिति आफ्नै व्यवस्थापनतिर लागेपछि विश्व सिमसारमा सूचीकृत जगदिशपुर ताल बेताल बन्दै गएको छ । आर्थिक दोहनको श्रोतको रुपमा यो ताललाई स्थानीय टाठाबाठाले लिन थालेपछि यसको व्यवस्थापनभन्दा पनि नाम बेच्ने र कोषको रकम दुरुपयोग गर्ने क्रम बढेको छ । 

जगदिशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुङ्गले तालको संरक्षणका लागि कोषमा राखिएको ४ लाख ७० हजार रकम निकालेर हिनामिना गरेको भन्दै विवाद सिर्जना भएको छ । आफ्ना कार्यकर्ता मनोज परियारको नाममा समितिको निर्णय विना गत बर्ष निकालेको रकम अहिलेसम्म फिर्ता नगरेको र अपचलन गरेको भन्दै स्थानीयले विरोध गरेका छन् । यति मात्र नभई तालमा डुंगा सन्चालन गर्न लगाइएको ठेक्काको रकमसमेत हिनामिना भएको छ । २ बर्षअघि स्थानीय ऋषि पोख्रेललाई समितिले ३ बर्षका लागि ३५ लाखमा डुंगा सन्चालन ठेक्का दिएको थियो । तर ठेकेदारले कोभिडको समस्या देखाउँदै ११ लाख ७० हजार मात्र बुझाए भने अरु रकम असुल उपरमा अध्यक्ष गुरुङले बेवास्ता गर्दै पुनः अर्को ठेक्का सूचना जारी गरेका छन् । श्रोतका अनुसार ठेकेदारले अध्यक्ष गुरुङ्गलाई मिलाएर बाँकी रकम तिर्न नपर्ने सहमति भएको छ । 

यति मात्र नभई अध्यक्ष गुरुङ्गले समितिको निर्णय विना नै नयाँ डुंगा खरिद गरेका छन् । खरिद प्रक्रिया लत्याउदै गुरुङ्गले चितवनको स्वीप नेपाल बोर्ड संग ५ वटा नयाँ डुंगा किनेका छन् । ५ लाख २ हजार मा उनले नयाँ डुंगा किन्दा समिति बाट निर्णय समेत नगराएको समितिकै सदस्यहरु बताउछन् । यत्ति मा    त्र होइन अध्यक्ष गुरुङ्ग र कोषाध्य शान्ता अर्यालले आइसियुएन, वडा कार्यालय तथा समितिले आफैले किनेका ८ वटा पुराना डुंगा समेत चितवनकै स्वीप नेपाल बोर्डलाई बेचेका छन् । कतिमा बेचे थाहा भएन तर त्यहि दिएका छन, सट्टापट्टाको पनि कुरो आएको छ तर कसैलाई जानकारी छैन” एक सदस्यले भने । 

कपिलवस्तु नगरपालिका, डिभिजन बन कार्यालय तथा विभिन्न संघ संस्थाले मञ्च मार्फत तालको विकास, संरक्षण र सम्र्बद्धनमा लगानी गर्दै आएपनि मञ्चका पदाधिकारीका लागि ताल मागि खाने भाडो बनेको छ । मंसिरको संघिय निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनमा ललित गुरुङ्गलाई माओवादी नेता चक्रपाणी खनाल विरुद्ध दीपकुमार उपाध्याय तथा एमाले नेताले बलियो आर्थिक श्रोत दिएर बागी उठाएका थिए । तर मत भने हास्यास्पद आएको थियो । यस सम्बन्धमा गुरुङ्गले आफ्नो नाममा रकम बक्यौता नभएको, पुरानो डुंगा साटेर ल्याएको र समितिमा सबै विषयमा जानकारी भएको दाबी गरे । ताल व्यवस्थापनमा बेताल अवस्था देखेपछि अहिले प्रदेश सरकारर, स्थानीय सरकार तथा चरा सम्बन्धि काम गर्ने बर्ड स्यान्चुरी, डिभिजन बन कार्यालय अन्र्तगतका प्रोजेक्टहरुले पनि तालमा लगानी गर्न छाडिसकेका छन्  । विश्व सिमसार क्षेत्रमा सूचिकृत जगदीशपुर ताल पछिल्लो समय चरा पर्यटनका लागि देशकै आर्कषक गन्तव्य मानिन्छ । १५७ हेक्टरमा फैलिएको यो तालमा १६७ प्रजातिका चराहरु पाइन्छन् ।

टिप्पणीहरू