कता हराए ती कमरेड ?

कता हराए ती कमरेड ?

‘संगठित सदस्य ३९ जना, भोटचाहिँ १७ ! बाँकी भोट कहाँ गयो ?’ भर्चुअल विधिबाट ‘मिशन ग्रासरुट’ उद्घाटनका क्रममा अध्यक्ष केपी ओलीले फागुन ५ गते सोध्नुभयो । त्यस्तो घटना भएको थियो, उपमहासचिव विष्णु रिमालकै जिल्ला नुवाकोटको एउटा वडामा, स्थानीय तह निर्वाचनका बेला । एउटा संगठित सदस्यले पाँच भोट रक्षा गर्ने एमालेको सर्कुलर थियो । त्यसो गर्दा प्रतिनिधिसभाको समानुपातिकमा ४० लाख मत आउनुपर्ने हो, तर २८ लाखमै रोकियो ।

०७४ को निर्वाचनमा आएको ३१ लाख पनि पुगेन । एमालेले ०७४ मा पाएको समानुपातिक मत उसको स्थिर जनमत हो । त्यसमा एकीकृत समाजवादीतर्फ तीन लाख मत गएको कुरा मंसिरको चुनावमा छर्लङ्गै छ । प्रत्यक्षतर्फ देशभरिका १९ सीटमा एकीकृत समाजवादीका कारण पराजय भएको पनि प्रष्ट नै छ । एकीकृत समाजवादीसहित साथै रहेको भए एमालेको मत ३१ लाख हुने रहेछ, प्रत्यक्षमा ९८ सीट पक्का । यो क्षति त भयो–भयो । चुनावलगत्तै एमालेसँग एउटा अवसर थियो, ठूलो पार्टी बन्ने । बसेर मन माझामाझ मात्रै गरिदिएको भए कुरै बेग्लै हुने रहेछ ।

चुनावलगत्तै फुटका कारण भएको क्षतिको विश्लेषण गरेर चल्न सकेको भए एमाले अहिले देशको ठूलो पार्टी हुने थियो । चिठी नै लेखेर राष्ट्रपतिमा भोट माग्ने त्यही काम त्यतिबेलै गरेको भए यतिबेला दुःख नहुने थियो । फागुन २१ को शहिद दिवसका दिन एमाले नेताहरु च्यासल मुख्यालयमा चर्चा गर्दै थिए, ‘संसद विघटन ठीक थियो भनेर किन बोल्नुपरेको ?’ कारण हो, एमालेभित्र राजनीतिक छलफल हुँदैन । सदस्यता नवीकरण, कार्यक्रमको व्यवस्थापनका काम मात्रै हुने गरेका छन् ।

पार्टी छाडेर गएका आफ्नालाई दुत्कार्ने, रवि लामिछाने र राजेन्द्र लिङ्देनलाई ‘ज्वाइँ सत्कार’ को व्यवहार गर्ने कुरालाई च्यासलमा भेला हुने कुनै पनि नेताले निको मानेका छैनन् । सबभन्दा बढी आक्रोश छ, कमल थापालाई पार्टीको टिकट दिएकोमा ।

अरु त अरु, ओली प्रधानमन्त्री हुँदा उहाँको असफलतामा साथ दिने अर्थमन्त्री डा.युवराज खतिवडाले च्यासलमा डेढ घण्टाको कक्षा लिएर ओली नीतिको आलोचना गरेका छन् । ओलीले आफ्नो कार्यकालमा दुई अंकको आर्थिक बृद्धि हुनुपर्छ भनेको कुरा सुनाउँदै डा.खतिवडाले एउटै अंक काफी हुने तर्क गरे । उनले आयात बढाएर, भन्सार राजस्वमा वृद्धि गर्नुपर्ने उपाय सुनाए । ‘८ अर्बभन्दा बढी आर्थिक बृद्धि गर्नुहुँदैन, पुँजिगत खर्च नबढी हुँदैन’, उनको भनाइ थियो, ‘हामीले आयात बन्द गरौँ भन्दा भन्सार घट्यो । राजश्व २० प्रतिशत घट्नुमा आयात संकुचन मुख्य कारक हो ।’ ओलीको कार्यकालमा अरु सबै व्यवसायिक गतिविधिका इजाजत (लाइसेन्स) वितरण रोकियो, लघुवित्तको रोक्न सकिएन । व्याजदर तोक्ने काम लघुवित्त बढाउनाले गर्नुपरेको उनको भनाइ थियो । किनभने, सय वटा लघुवित्त होलान् भनेको, दुई सय भइदिए ।

व्याजदर बजारले निर्धारण गर्ने हो । बचतमा दिने व्याज र ऋणमा दिने व्याज तोक्नुपर्छ, तर त्यसो नगर्नु गल्ती भएको उनको भनाइ थियो । ‘करको कुरामा पहिला मलाई गाली गरे, अहिले खोज्न थालेका छन्’, उनले दोहो¥याए । 

 

टिप्पणीहरू