जनसंख्या वृद्धिदर अत्यन्तै न्यून, क्षेत्रगत रुपमा पनि असन्तुलन

जनसंख्या वृद्धिदर अत्यन्तै न्यून, क्षेत्रगत रुपमा पनि असन्तुलन

नेपालको जनसंख्या वृद्धिदर अत्यन्तै न्यून र असन्तुलित देखिएको छ । केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार पछिल्लो १० वर्षमा वार्षिक औसत ०.९२ प्रतिशतले मात्रै जनसंख्या वृद्धि भएको हो । 

२०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । आज सार्वजनिक भएको पछिल्लो जनगणनाको पूर्ण विवरणमा जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । त्यसमध्ये पुरूष १ करोड ४२ लाख ५३ हजार ५५१ छन् । महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ रहेको छ । 

यो तथ्याङ्कले पछिल्लो १० वर्षमा जम्मा २७ लाख मात्रै जनसंख्या थपिएको देखिन्छ । यो वार्षिक औसत जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत प्रतिवर्ष हो, जुन २०६८ सालको जनगणनामा १.३५ प्रतिशत प्रतिवर्ष थियो । 

जिल्लागत रुपमा सबैभन्दा धेरै वार्षिक औषत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर (३.३५ प्रतिशत) र कम वृद्धिदर भएको जिल्ला रामेछाप (–१.६७ प्रतिशत) छन् ।त्यस्तै, जनसंख्याको सबैभन्दा ठूलो हिस्सा बाग्मती प्रदेशमा छ । बाग्मतीमा कूल जनसंख्याको २०.९७ प्रतिशत छ भने सबैभन्दा कम जनसंख्या कर्णालीमा ५.७९ प्रतिशत रहेको छ । 

भौगोलिक क्षेत्रअनुसार तराईमा कूल जनसंख्याको ५३.६१ प्रतिशत (१,५६,३४,००६ जना), पहाडमा ४०.३१ प्रतिशत (१,१७,५७,६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७,७२,९४८ जना) जनसंख्या रहेको छ । जिल्लागत रुपमा सबैभन्दा बढी जनसंख्या काठमाडौं (२०,४१,५८७ जना) र कम मनाङ (५,६५८ जना) हो । 

जनगणना अनुसार जनघनत्व (प्रतिवर्ग किलोमीटर क्षेत्रफलमा रहेको जनसंख्या) १९८ जनाप्रतिवर्ग किलोमीटर रहेको छ, जुन २०६८ सालमा १८० वर्ग कि.मि. थियो । भौगोलिक क्षेत्रअनुसार सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमीटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमीटर रहेको छ । सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा (५१६९ जनाप्रतिवर्ग किलोमीटर) र कम मनाङ जिल्लामा (३ जना प्रतिवर्ग किलोमीटर) छ । 

नेपालमा विक्रम संवत् १९६८ सालदेखि जनगणना शुरु भएको हो । हरेक १० वर्षमा जनगणना हुँदै आएको छ । २०७८ को जनगणना १२ औँ हो ।
 

टिप्पणीहरू