कोशी प्रदेशमा तत्काल सरकार परिवर्तन नहुने, भित्रभित्रै सबैको आ–आफ्नै दाउ

कोशी प्रदेशमा तत्काल सरकार परिवर्तन नहुने, भित्रभित्रै सबैको आ–आफ्नै दाउ

संघीय राजनीतिक समीकरणमा आएको परिवर्तनसँगै प्रदेश सरकारको भविश्य अस्थिर बनेको छ । गण्डकी र बाग्मतीमा सरकारको समीकरणमा परिवर्तन आइसक्दा कोशीमा तत्काल सरकार परिवर्तनको सम्भावना देखिएको छैन । 

एमाले मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वमा रहेको गठबन्धन सरकारलाई माओवादी केन्द्र, राप्रपा र जसपाको सर्मथन यद्यपि कायम छ । संघमा एमाले र राप्रपाले सरकारबाट समर्थन फिर्ता लिए पनि कोशी प्रदेसमा अहिलेसम्म कसैले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनन् । 

माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङबो अन्य प्रदेशमा जे भए पनि कोशीमा तुरुन्तै सरकार परिवर्तन नहुने बताउँछन् । उनले आफूहरु स्थीर सरकारको पक्षमा रहेकाले वर्तमान सरकारलाई निरन्तरता दिन केन्द्रीय नेताहरुसँग पनि छलफल गर्न लागेको जानकारी दिए । नेता आङबो भन्छन्, ‘अन्तको जस्तो छैन कोशी प्रदेस । यहाँको अंक गणित नै फरक छ । त्यसैले अहिले सरकार परिवर्तन हुँदैन ।’
 
प्रदेश सभाको पहिलो कार्यकालमा अर्थमन्त्री समेत रहेका नेता आङ्बो भन्छन्, ‘अवस्था परिवर्तन भएर थेग्न नसक्ने प्रेसर आएन भने हामी यही सरकारलाई नेतृत्व दिन्छौं परिवर्तन गर्दैनौं । पूर्णबहुमतको सरकार सञ्चालन भइरहेकाले किन सर्मथन फिर्ता लिनु भन्ने धारणा बलियो छ ।’ 

उनले एमालेसँग मिलेर मुख्यमन्त्रीमा आलोपालो गर्ने कुनै सहमति नभएको  र त्यो नहुने जानकारी पनि दिए । नेकपा एकीकृत समाजवादीले पनि हालसम्म दोस्रो कार्यकालका लागि मुख्यमन्त्री दाबी नगरेको पनि आङ्बो बताउँछन् । ‘कोशीमा कुनैपनि हालतमा मध्यावधि निर्वाचन हुँदैन र सभामुखले पनि राजीनामा दिनुहुन्न,’ उनले भने ।

तर कोशी प्रदेश सभामा मुख्य प्रतिपक्षी दल नेपाली काँग्रेसले भने सरकार परिवर्तन गराउन केन्द्रिय नेताहरुसम्म निरन्तर दबाब बढाइरहेको प्रष्ट देखिन्छ । काँग्रेस ससंदीय दलका नेता उद्धव थापा संघीय राजनीति परिवर्तन भइसकेकाले कोशी प्रदेसमा पनि सरकार परिर्र्तन हुनुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘अब कोशी प्रदेसमा पनि नयाँ गठबन्धनको सरकार बन्नुपर्छ एमाले नेतृत्वको औचित्य सकियो ।’ 

कोशी प्रदेशमा गत पुस २४ गते ४१ जना प्रदेश सदस्य भएको एमालेका मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्वमा गठबन्धन सरकार निर्माण भएको हो । सरकारलाई १३ जना सदस्य भएको माओवादी केन्द्र, ६ जना सांसद भएको राप्रपा र एक जना सदस्य भएको जसपाले समर्थन गरेका छन् । ४ जना सदस्य भएको एकीकृत समाजवादी र २९ जना रहेको काँग्रेस विपक्षमा छन् ।  

कोशीमा माओवादी केन्द्रले सभामुखलाई राजीनामा गर्न लगाएर काँग्रेस, माओवादी र जसपाका ४८ जना सांसदको बहुमतमा सरकार निर्माण गर्ने हल्ला पनि राम्रैसँग चलेको छ । तर माओवादी केन्द्र संसदीय दलका नेता आङ्बो सभामुखले कुनै पनि हालतमा राजीनामा नदिने र त्यो हल्ला मात्र भएको जानकारी दिए ।

कोसी प्रदेसमा काँग्रेसको २९, माओवादीको १३ र जसपाका एक  जना सदस्यको गठबन्धन भएमा सरकार गठनका लागि समान्य बहुमत पुग्ने अवस्था छ । तर त्यसका लागि माओवादी केन्द्रबाट सभामुख रहेका बाबुराम गौतमले राजीनामा दिनुपर्ने हुन्छ । 

राप्रपाले साथ दिएको अवस्थामा एमाले बाहेकको गठबन्धनलाई सुविधाजनक बहुमत पुग्छ । तर हालसम्म मुख्यमन्त्री कार्कीको सरकारबाट कसैले पनि समर्थन फिर्ता नलिएकाले नयाँ सरकार गठनको हल्ला कोशी प्रदेसमा हल्लामै सीमित हुन पुगेको हो । अर्कोतिर सभामुखलाई राजीनामा गराएर नयाँ सरकार बनाउने पक्षमा माओवादी अहिलेसम्म देखिएको छैन । 

सभामुखलाई राजीनामा नगराई सभामुखको हस्ताक्षरमा नयाँ सरकार गठनको दाबी गर्न कानुनतः मिल्दैन । यसैले  नयाँ गठबन्धनको सरकार निर्माण गर्न कोशी प्रदेश सभामा चुनौतीपूर्ण अवस्था छ । अर्कोतिर सरकार गठन भए पनि हरेक निर्णयमा सभामुखले निर्णायक मत दिनुपर्ने हुन्छ । जुन संसदीय मर्यादा र प्रणालीको असल अभ्यास पनि होइन ।

टिप्पणीहरू