राष्ट्रपतिको कोठी
मान्छे जब सत्तामा पुग्छ, तब उसले हराउने सबैभन्दा पहिलो कुरा हो इमान्दारी । त्यसपछि नैतिकता । त्यसपछि लाज । त्यसपछि शरम । त्यसपछि क्रमशः अरु ।
तर राष्ट्रपति रामचन्द्र पौडेलको हकमा त्यस्तो भएन । राष्ट्रपति हुनेबित्तिकै उहाँको इमान्दारी हराएन । बरु गालाको कोठी हरायो । कोठी हराएपछि देशमा यस्तो हल्ला मच्चियो मानौं कोठी हराएको होइन स्वयं रामचन्द्र नै हराएको हो ।
उहाँको कोठी हराएको समाचार आएपछि मलाई भने प्रसिद्ध गायक फत्तेमान राजभण्डारीको एउटा गीत याद आयो –
सान्नानीको गालैमा कालो कोठी रै’छ
नजर नै तिरमिर गराउने ।
कोठी भनेको यस्तो खतरनाक हुन्छ । नजर नै तिरमिर बनाइदिन्छ । यस्तो नजर नै तिरमिर गराउने रामचन्द्र पौडेलको कोठी हराएपछि मानिसहरू तिरमिर हुनु स्वाभाविकै हो । फेरि अर्को कुरा । रामचन्द्र पौडेलको गालाबाट जो कोठी हरायो, त्यो सानोतिनो कोठी थिएन । किनभने त्यो देशकै राष्ट्रपतिको कोठी हो । राष्ट्रपतिको कोठी कुनै खेलवाड गर्ने विषय त होइन नि भाइ ! जनताले त कोठी भएको राष्ट्रपतिलाई पो समर्थन गरेको हो । कोठी नभएको राष्ट्रपतिलाई कसरी समर्थन गर्न सकिन्छ ?
सायद यस्तो धेरै हल्ला भएको कारणले पनि होला, अन्ततः उहाँको कोठी फिर्ता आयो । अहिले गालामा साबुद कोठी देख्न सकिन्छ । तैपनि टाइम टाइममा चेक गरिरहनुपर्ला, के थाहा एकचोटी हराइसकेको कोठी हो, फेरि नहराउला कसरी भन्ने ?
टिप्पणीहरू