तीस हजार खाँदा जेल, सवा अर्बमाथि सफाइ !

तीस हजार खाँदा जेल, सवा अर्बमाथि सफाइ !

अदालततिरको अर्को अचम्म कस्तो भने गत वर्ष सवा अर्ब रुपैयाँ बिगो मागदाबीसहित चलेको मुद्दामा प्रतिवादीले सफाई पाए, तर, ड्रगको कारण रिह्याबमा राखिएका पति र २ छोरीको पढाइ खर्चका निम्ति सेवाग्राहीसँग ३० हजार रुपैयाँ लिएको आरोप लागेकी कर्मचारी पुर्पक्षका लागि कारागार चलान भइन् ।

यस्तो अचम्म देखिने ठाउँ हो, विशेष अदालत, बबरमहल । जागिर सकिएर घर जान लागेका न्यायाधीशहरू बलभद्र मिश्र, रमेश पोखरेल, शालिग्राम कोइरालाले धनाढ्यहरूको मुद्दा ‘मिलाइदिने’, गरिबलाई जेल हाल्ने काम गरेको भनी अख्तियारका हाकिमहरू रुष्ट छन् । 

कानुनविपरीत चुनढुंगाको खानी उत्खनन् गरी राजस्व हिनामिना गरेको तथा त्यस्ता उद्योग र सञ्चालकलाई जरिवाना नतिराएको भन्दै उद्योगपति एवं सिद्धार्थ मिनरल्स प्रालिका सञ्चालक पशुपति मुरारका, खानी तथा भूगर्भ विभागका पूर्वमहानिर्देशक रामप्रसाद घिमिरे, सुनवलका पूर्वमेयर भीम थापासहितका १८ प्रतिवादीलाई विशेषले सफाई दिँदा आन्तरिक राजस्व कार्यालय, महाराजगञ्जकी कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधान ३० हजार रुपैयाँको झमेलामा जेल गएकी छन् । उनले कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको दावी अख्तियारको थियो । 

गतवर्ष माघ १२ मा पशुपति मुरारकाहरूविरुद्ध सवा अर्ब रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भयो । तर, एक वर्ष कट्दाकट्दै विशेषका न्यायाधीश रमेशकुमार पोखरेल, बलभद्र बाँस्तोला र खुशीप्रसाद थारुको इजलासले चैत ३ गते सबैलाई उन्मुक्ति दिएको छ । उक्त मुद्दामा खानी विभागका कानुनतर्फका उपसचिव सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, सिडिमेई प्रशान्त बोहरा, सिडिजी धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत वसन्त अधिकारी र जियोलोजिष्ट सैनिक भण्डारी पनि प्रतिवादी थिए । त्यसमध्ये सपनालाई त आठदेखि दश वर्षसम्म कैद सजायँ माग गरिएको थियो ।

मुरारकासहित सर्वोत्तम सिमेण्टका विष्णु न्यौपाने, मारुतीका शरद गोयल, अन्नपूर्ण क्वेरिजका ऋषि अग्रवाल, उदयपुर मिनरल्स टेकका प्रवलजंग पाण्डे, युनाइटेड सिमेन्ट प्रालिका निरेश दुगड, सोनापुर मिनरल्स एण्ड आयलका निपेश तायल, कञ्चन क्वेरिजका भीम थापा क्षेत्री, डोलोमाइट चुनढुंगाका मानबहादुर श्रेष्ठ र ती नौवटै कम्पनीविरुद्ध एक अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैयाँ बिगो तथा कम्पनी सञ्चालकविरुद्ध दुई वर्षसम्म कैद मागदाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।

अख्तियारका हाकिमहरू अर्को अचम्ममा छन् । जसरी प्रहरीका डिआइजी अशोक सिंहले जन्ममिति विवादपछि राजीनामा दिए, त्यही अवस्थाका डिआइजी श्यामलाल ज्ञवाली भने बढुवामा परी एआइजी भएका छन् । यी दुबैले जन्म मिति सच्याएर जागिर खाएको अख्तियारका अनुसन्धान अधिकृतहरू बताउँछन् । 

उता, प्रधानमन्त्री प्रचण्डका भाइ तथा माओवादी केन्द्रका नेता नारायण दाहाल अख्तियारमा १३ पाने फारम भर्न पुगेको बताइन्छ ।
 

टिप्पणीहरू