‘राजा’ले नेता तोकेपछिको बैठकमा यतिसम्म रमिता

‘राजा’ले नेता तोकेपछिको बैठकमा यतिसम्म रमिता
सुन्नुहोस्

नवराज सुवेदीले ‘दरबारको इच्छाअनुसार’ भनेपछि ठाकुरप्रसाद शर्माले खोर्‍याएर सोधे, ‘राजाबाट भन्नु न सिधै, किन दरबारबाट भन्नुहुन्छ ?’ पूर्वराजा ज्ञानेन्द्रको रुचिअनुसार राजावादी आन्दोलनको मोर्चा सम्हाल्ने जिम्मासहित दुई वर्षपछि लौरो टेकेर झुल्किएका ८६ वर्षीय पूर्वपञ्च सुवेदीलाई आइतबार बसेको राप्रपा बैठकमा यसरी र्‍याख्र्‍याती पारियो ।

‘कसैसंग सल्लाहै नगरी माथिबाट तोक्ने कुरा स्वीकार्य हुँदैन’, अर्का एक जनाले असन्तुष्टि पोख्दै अध्यक्ष लिङ्गदेनलाई सोधे, ‘तपाईंसँग यसवारे सल्लाह भएको छ कि छैन ?’, उनले मुन्टो हलाउँदै ‘छैन’ को इशारा गरेपछि नवराजसङ्गै आएका उदयपुरे अर्का पूर्वपञ्च हरिबहादुर बस्नेतले रिसाउँदै भने, ‘यो एउटा प्रक्रियाको कुरा हो, हामीले ठूलो कामका लागि यस्ता साना कुरामा विवाद गर्नुहुँदैन ।’

प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले पुनः शक्तिमा फर्किने मनसुवाका साथ आफूलाई साथ दिन हार्दिक अपिल गरेका थिए । ‘राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम गर्न’ ‘मौसुफ सरकार’ ले साथ मागेपछि हौसिएका राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईं नेतृत्वको अभियानलगायत विभिन्न समूहमा छरिएर रहेका राजावादीहरु देशव्यापी प्रदर्शनको तयारीमा त छन्, तर उनीहरु आफैबीच मतैक्यता छैन । फागुन २५ गते पोखराबाट काठमाडौँ फर्किएका शाहको स्वागतार्थ हजारौँ समर्थक सडकमा उतारेका उनीहरुबीच यतिबेला जश लिने होडबाजी चलिरहेको छ ।

'०५९ कै जस्तो राजा फर्काउन लागेको हो भने उहाँ नै राप्रपाको अध्यक्ष बने पनि हुन्छ ।’  'दुर्गा प्रसाईंको नाम लिनुभयो । उहाँ को हो ? कहाँको पैसाले चलिरहनुभएको छ थाहा होला नि !’

यो सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्रले बृद्ध नेता सुवेदीलाई सबैसँग ‘समन्वय’ गरेर आन्दोलन अघि बढाउने जिम्मेवारी सुम्पिएपछि अर्को भाँडभैलो’ मच्चिएको हो । ज्ञानबहादुर शाही, रवीन्द्र मिश्र, धवल समशेरजस्ता खुंखार राजतन्त्रपन्थीको उदय भैसकेको अवस्थामा ८६ वर्षे सुवेदी नै दरबारको रोजाइमा परेपछि आन्दोलन नै तुहिने खतरा देख्छन् राप्रपाका नेताहरु । राजेन्द्र लिङ्गदेन र कमल थापा बाहिर मुखरित नभए पनि ‘राजा’ को यो निर्णयबाट खुशी नरहेको र दुबै राप्रपामा ठूलै भुइँचालो गएको बुझ्न सकिन्छ । राजनीतिमा सक्रिय नरहेका सुवेदी राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष हुन् । पञ्चायत नीति तथा जाँचबुझ समितिमा समेत रहेका यिनी ज्ञानेन्द्रलाई कू गर्न उचाल्ने पूर्वपञ्चमध्ये एक मानिन्छन् ।

समाचार स्रोतका अनुसार संसद र सडकमा संघर्ष गरिरहेको वैधानिक शक्तिलाई पन्छाएर लामो समयदेखि राजनीतिमा निष्क्रिय रहेका र उमेरले समेत थला पर्दै गएका व्यक्तिलाई एकाएक अघि सारिएपछि राप्रपा बैठकमा यसबारे लामै गलफत्ती चल्यो । नेताहरुले कुरा उठाए–‘आफू वरपरकालाई टिपेर जिम्मेवारी दिने यस्तै शैलीले राजसंस्था ढलेको हो ।’

प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डलगायत गणतन्त्रवादीहरुले ‘पूर्वराजाले चलखेल गरे’ भनिरहेका बेला त्यसलाई बल पुग्नेगरी ज्ञानेन्द्रले अनावश्यक हस्तक्षेप गरेको विषयलाई गम्भीरताका साथ लिइएको एक नेताले बताए । निर्मल निवासले हस्तक्षेप ग¥यो भन्दै कमल थापा राजतन्त्र छोडेर केही समय गणतन्त्रवादीकै तहमा ओर्लिएका थिए । 

‘राजा आएर खुरुक्क नारायणहिटीमा बसे भने पनि पार्टी त चाहिने होला नि ?’, लिङ्गदेनतिर हेर्दै नेताहरुले प्रश्न तेस्र्याए, ‘उनले मन्त्री बनाउलान् र खाउँला भनेर बस्ने साथीभाइ कोही हुनुहुन्छ भने भन्नुस् ०५९ कै जस्तो राजा फर्काउन लागेको हो ?’ हुकुम प्रमांगीबाट नेता तोक्ने शैलीप्रति आक्रोश पोख्दै भनियो, ‘यस्तै चाहेको हो भने उहाँ नै राप्रपाको अध्यक्ष बने पनि हुन्छ ।’ गलफत्ती चर्किंदै जाँदा पूर्व आइजिपी ध्रुवबहादुर प्रधानले पनि पूर्वराजाको कदमको विरोध गरे । दरबारले पार्टीमा हस्तक्षेप गरेर नाम तोक्ने कुरा सह्य नहुने बटमलाइन सुनाउँदै सुवेदीलाई भने, ‘तपाईं आफैँले पनि हुँदैन भन्न सक्नुपथ्र्यो ।’

तर, सुवेदीले भने दरबारको विश्वास कायम राख्ने प्रतिवद्धता जनाउँदै सहयोगको अपेक्षा राखेको बताएका थिए । पञ्चायतमा राजाले फ्याट्ट प्रधानमन्त्री बनाएपछि लोकेन्द्रबहादुर चन्दहरु सहयोग माग्न हिँडेजस्तै आत्मविश्वासका साथ भने, ‘कमल थापा, केशरबहादुर विष्टहरुले मानिसक्नुभयो । दुर्गा प्रसाईंले पनि हुन्छ भन्नुभएको छ । राप्रपा आफ्नै पार्टी हो भनेर पो लास्टमा आएको !’ दुर्गा प्रसाईंको नाममा भने केही नेताको आपत्ति रह्यो । राप्रपा र प्रसाईंलाई एकै हैसियतमा राखेकोमा असन्तुष्ट एक नेताले भने, ‘तपाईंले दुर्गा प्रसाईंको नाम लिनुभयो । उहाँ को हो ? कहाँको पैसाले चलिरहनुभएको छ थाहा होला नि !’

समाचार स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्रले ८–१० महिनाअगाडि पशुपति समशेर जबरालाई पनि आन्दोलनको जिम्मा लिइदिन प्रस्ताव राखेका थिए । तर, अध्यक्षसँग दूरी बढाउने काम नगर्न पार्टीका नेता र साथीभाइले सल्लाह दिएपछि उनी ‘अध्यक्ष हुँदाहुँदै राजाले तोक्ने कुरा स्वीकार्य हुँदैन’ भन्नेमा पुगे र पछि हटे । भोलिपल्टको भेटमा राजालाई के जवाफ दिने भन्ने परेपछि उनलाई ‘म बूढो भएँ, अब सक्दिन’ भन्न लगाइएको थियो । ८३ वर्षे उनलाई बुढो भनाएर छोडाएका राप्रपा नेताहरु उनीभन्दा ३ वर्ष जेठो ८६ वर्षे सुवेदी पूर्वराजाको रोजाइमा परेपछि अचम्मित भएका छन् ।
 

टिप्पणीहरू