अनि कसका कुरा पत्याउनु !

अनि कसका कुरा पत्याउनु !

पञ्चायतकालदेखि गणतन्त्रसम्मै दल बदलेर आएका शरतसिंह भण्डारीमाथि २० पटक मन्त्री खाएको मात्र होइन, भ्रष्टाचारमा समेत रेकर्ड ब्रेक गरेको आरोप छ । पछिल्लो समय श्रम सहचारी नियुक्ति गर्दा कार्यविधि मिचेको र बोलकबोलका आधारमा नियुक्त गरेको विषयले राम्रै चर्चा पाउन थालेको छ । कार्यविधिमा ज्येष्ठ उपसचिव र सर्वाधिक नम्बर ल्याउने कर्मचारीले रोजेको देश जान पाउने स्पष्ट व्यवस्था छ । तर, मोटो रकम बुझाउनेलाई रोज्जा मुलुकमा पठाएको मन्त्रालय स्रोतको दाबी छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ६ वटा देशमा ६–६ जना प्रतिनिधि नियुक्त गर्दा बदमासी भएको पत्ता लागेको छ । जसअनुसार श्रम काउन्सिलरमा दीपेन्द्र पौडेल (युएई), कविराज उप्रेती (साउदी अरब), मैया कँडेल (दक्षिण कोरिया), कुष्णप्रसाद भुसाल (मलेसिया) र सीता दुवाडी (कतार) पठाइँदै छन् । यस्तै सहचारीमा सुनिता थापा (बहराइन), प्रेमप्रसाद पोखरेल (कतार), पंकजलाभ कर्ण (युएई), जीवनकुमार घिमिरे (साउदी अरब, जेद्दा), विकासकुमार रजक (मलेसिया) र दामोदर ज्ञवाली (ओमन) जान लागेका छन् । यीमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा धादिङकी कँडेललाई कोरिया पठाइएको हो ।

कविराज उप्रेतीले युएई जान चाहेका थिए तर मन्त्रीले तोकेको दर रेट बुझाउन नसक्दा साउदी पुगेका छन् । यसअघि उप्रेती वैदेशिक रोजगार विभाग, ताहाचलमा निर्देशक (उपसचिव) थिए । त्यहाँ केही व्यवसायीसँग एलटी नम्बर ब्लक गरिदिएर १५ देखि २० लाखसम्म उठाएको आरोप छ । शरद्सिंह हटेर डिपी अर्याल श्रम मन्त्री हुँदा उप्रेतीलाई इटहरी पठाइएको थियो । शरद्सिंह मन्त्री बनेसँगै सचिवालयमा भिœयाइयो । श्रम काउन्सिलर बन्न आफूअनुकूल कार्यविधि बनाएर अहिले साउदी अरब पुगेका छन् । उनी साउदी गएपछि वसन्त बोहरालाई सचिवालयमा ल्याइएको छ । श्रम मन्त्रालयमा २८ उपसचिवको दरबन्दी रहेकोमा ३२ कार्यरत छन् ।

मन्त्रालयमा मात्र १२ जना उपसचिव छन् । कविराज उपसचिवमा बढुवा भएको ४ वर्ष पुगेको छैन । उनीभन्दा सिनियर महेश पराजुली, शोभाकुमारी पोखरेल, शारदा भण्डारी, गुरुदत्त सुवेदीलगायत आधा दर्जन छन् तर रकमका भरमा श्रम सहचारी नियुक्त गरिएपछि चर्काे असन्तुष्टि छ । त्यस्ता कर्मचारीले एकै पटक सञ्चयकोषमा बचत भएको रकम निकालेर त केहीले कोषबाटै ऋण लिएर भेटी चढाएको बताइन्छ । यसअघि एकनारायण अर्याल श्रम सचिव हुँदा वैदेशिक रोजगार विभागको सबै सिष्टम अनलाइनमा लगेका थिए ।

अहिले अनलाइन सिष्टम त छ तर कर्मचारीले एप्रुभ नगरी एक्सेप्ट हुँदैन । त्यसका लागि अघिल्लो पटक मन्त्री हुँदा सचिवालयमा कार्यरत सहसचिव सूर्यबहादुर खत्रीलाई भण्डारीले विभागको महानिर्देशक बनाएका छन् । सो कार्यालयबाट दैनिक ७० लाखसम्म संकलन हुने र सोको हिस्सा मन्त्रीदेखि सचिवसम्म पुग्ने गरेको भनेर संसदमा कुरा उठाएका थिए, डिपी अर्यालले । खत्री अबको केही महिनापछि अनिवार्य अवकाश लागेर घर जाँदै छन् । त्यहाँ पटक–पटक सरुवा हुँदासमेत उल्टाएर लामो समयदेखि कार्यरत उमेश अधिकारी, घुमिफिरी सोही कार्यालयमा पुगेका नासु गणेश बाँस्तोला, कम्प्युटर अपरेटर अनुप श्रेष्ठ, रामप्रसाद आचार्य, रामप्रसाद पोखरेल, रामु पौडेलहरूको टिमले सेटिङ मिलाउने गरेको एकथरी कर्मचारीको आरोप छ । 
 

टिप्पणीहरू