मधेश राख्न हुने, कोशीको अर्को नाम किन नहुने ?
-सामी पालुङ्वा
लिम्बुवान, किरात शब्द कसैले बनाएर वा कुनै साहित्यकारले रचेर लेखेको विषय होइन । नेपाल नाम रहनु पूर्वदेखि नै यसको आफनै इतिहास र पहिचान छ । अढाई सय वर्ष पहिले नेपालको इतिहास हेर्ने हो भने हामी सबै प्रष्ट हुन्छौं ।
नेपालमा धेरै राजनीतिक परिवर्तन भए । २००७ सालदेखि, २०४६ मा प्रजातन्त्र पुनस्र्थापना, १२ वर्षे माओवादी जनयुद्ध र ६२/६३ को जनआन्दोलनपछि नेपाली जन्ताले संघीय लोकतान्त्रिक व्यवस्थाको अनुभूति पाएका छन् । यसको निम्ति नेपाली जनताले आफ्नो ज्यानको बलिदानी दिए । तर आज इतिहासको यो घडीमा आइपुग्दा के ती नेपाली जनताले गरेको बलिदानी गलत थियो ? कि प्रणाली नै गलत हो ? आफैंले आफैैंलाई गरेको प्रश्न हो यो ।
आज म आफैं लिम्बुवान राज्य प्राप्तिको निम्ति निरन्तर लागेको १७ वर्ष भएछ । यो स्मरण पत्र लेखिरहँदा डेढ दशकअघिका धेरै विषय मानसपटलमा आएका छन् । म जस्तै हजारौं युवा अझै सोही आन्दोलनमा समाहित छन् । म यो क्षणमा आधुनिक लिम्बुवान आन्दोलनको निम्ति शहीद भएका राजकुमार आङदेबे, विद्यार्थी आदोलन समानुपातिक निर्वाचन प्रणालीको निम्ति शहीद भएका मनिल तामाङ र चैत्र ५ गते विराटनगरको आन्दोलनमा घाइते भएर उपचारको क्रममा निधन भएका लाजेहाङ सुकवबा लिम्बूलाई स्मरण गर्न चाहन्छु ।
मेरो प्रश्न हालको शासक जो प्रतिनिधि र प्रदेश सभामा निर्वाचित भएर गएकासँग हो । के लिम्बुवान, किरात साम्प्रदायिक मुद्दा हो ? किन हामीलाई जबर्जस्त श्रीलकाको जस्तै साम्प्रदायिक आन्दोलनकारी बनाउन खोजिँदैछ ? किनन हामीलाई जबर्जस्त हतियार बोकाउनु खोजिँदैछ ? किन शान्तिपूर्ण आन्दोलनलाई जबर्जस्त असान्त बनाउन खोजिँदैछ ? किन सम्विधानले बेवास्ता गरेको अधिकार खोज्दा हामीमाथि गोली बर्साइन्छ ? किन अङ्क गणितको नाममा हिक्मत कार्की, ईन्द्र आङ्बोलगायतले जबर्जस्त कोशी प्रदेश नामकरण गरेर किरात, लिम्बुवानको इतिहासलाई मेटाउन खोज्दैछन् ? डेढ दशकदेखि निरन्तर रुपमा म जस्ता पहिचानको आन्दोलनमा होमिइरहेका आम युवाहरुको प्रश्न हो यो ।
स्मरणरहोस् यही सम्विधानको जगमा टेकेर २ नम्बर प्रदेशको नाम मधेश प्रदेश बन्यो । अर्को स्मरण गराउन चाहन्छु : यही सम्विधानको जगमा टेकेर आज राष्ट्रपति हुनुभएका रामचन्द्र पौडेलज्यूलाई नेपालको सम्विधानमा उल्लेखित २०६४ चैत ६ गतेको सम्झौता नेपालको सम्विधानबमोजिम कार्यान्वयन हुनुपर्छ कि पर्दैन ?
हाम्रा मनमा प्रश्नहरु धेरै छन् । यति भनौं, बलीदानी गर्ने र शहीद हुनेको नामका निम्ति पानाहरु थपिँदै जाँदा तपाईंहरुका कापीका पृष्ठ सकिन सक्छन् । यसतर्फ बेलैमा मनन गर्ने कि !
टिप्पणीहरू