प्रसाईंले बजाएको घण्टी

प्रसाईंले बजाएको घण्टी

राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले घण्टी बजिरहेको छ । घण्टी भनेको अर्काको घरमा गएर बजाउनु र आफ्नै घरभित्र बजाउनुको अर्थ के हुन्छ भन्ने कुरा अहिले थाहा भयो होला । 

एक दिन मेडिकल डन दुर्गा प्रसाईंको मोबाइलमा घण्टी बज्छ । घण्टी बजाउने मान्छेचाहिँ घण्टी पार्टीका सांसद डा. ढाकाप्रसाद श्रेष्ठ रहेछन् । हुन त उनले प्रसाईंसँग सहयोग माग्न मोबाइलको घण्टी बजाएका थिए । त्यो पनि सामान्य सहयोग हो । जसरी हुन्छ दुई करोड रुपैयाँ सहयोग गर्ने । त्यो दुई करोड भनेको यस्तो हो, जुन बुझाएपछि स्वास्थ्यमन्त्री ढाकाप्रसाद भए पनि स्वास्थ्य मन्त्रालयचाहिँ दुर्गा प्रसाईंको हुनेछ । 

यसबाट थाहा हुन्छ कि ढाकाप्रसादलाई स्वास्थ्यमन्त्री नबनाएका कारण रास्वपालाई दुई करोड घाटा भएको छ । बनाएको भए दुई करोड आउने रहेछ । त्यसो त डा. तोसिमा कार्कीलाई स्वास्थ्यराज्यमन्त्री बनाएका कारण पार्टीलाई कति करोडको नाफा भयो त्यो कुरा बाहिर आएको छैन । 

जे होस्, दुर्गा प्रसाईंको मोबाइलमा घण्टी बजाएबापत अहिले पूरा रास्वपामा घण्टी बजेको बज्यै छ । यो घण्टी बज्नुको कारण थाहा पाउन पनि ७२ घण्टा लाग्छ रे ! 

टिप्पणीहरू