सिंहदरबारको फोहोर

सिंहदरबारको फोहोर

काठमाडौंका मेयर बालेन साहले अचानक फोहोर नउठाउने भनेपछि सिंहदरबारमा फोहोर थुप्रिन थालेको छ । सिंहदरबारमा फोहोर थुप्रिएपछि त्यो अहिले देशविदेशमै समाचारको विषय बनेको छ ।

अहिले सिंहदरबारमा दिनानुदिन फोहोर बढ्दै गइरहेको छ । तर, सिंहदरबारमा यतिबेला जति फोहोर थुप्रिएको हो, त्यो बालेन साहले नउठाएको कारणले मात्र थुप्रिएको हो जस्तो भने मलाई लाग्दैन । बालेन साहले सिंहदरवारमा जति फोहोर नउठाएको हो, त्योभन्दा बढी फोहोर त्यहाँ जम्मा भइरहेको छ । वास्तवमा सिंहदरबारमा यति धेरै फोहोर उत्पादन हुन्छ भन्ने कुरा स्वयं बालेन साहलाई पनि थाहा छैन होला । उनलाई त अहिले लागिसक्यो होला, सिंहदरबार भनेको फोहोर उत्पादन हुने मुहान नै हो । यहाँ जत्तिको फोहोर नेपालमा अरू कतै पनि उत्पादन हुँदैन । 

वास्तवमा सिंहदरबारको फोहोर बालेन साह एक्लैले सफा गरेर सकिने ठाउँ होइन । बालेन साहले अहिले फोहोर उठाउँदैमा पनि सिंहदरवार सफा हुनेवाला छैन । बालेन साहले नउठाएको कारणले सिंहदरवारमा फोहोर थुप्रियो त भन्ने मात्रै हो । राम्ररी आँखा लगाएर हेर्नुभयो भने थाहा हुन्छ, बालेन साहले उठाइहाले पनि सफा नहुने गरी टाँसिएका फोहोरहरू सिंहदरवारमा कति छन् कति !

टिप्पणीहरू