टिंकर भञ्ज्याङ पुग्यो सेनाको टोली

टिंकर भञ्ज्याङ पुग्यो सेनाको टोली

सेनाको टोली दार्चुलास्थित नेपाल–चीन सीमाक्षेत्र टिंकर भञ्ज्याङ पुगेको छ । हरेक वर्ष सञ्चालन गरिँदै आएको हिमाल दर्शन अपरेशनअन्तर्गत वैशाख २ गते टोली टिंकर भञ्ज्याङस्थित १ नम्बर पिलरसम्म पुगेको हो । 

दार्चुलास्थित गुरु गोरख गुल्मबाट कमाण्डमा ५० जनाको टोली त्रिदेशीय सीमाक्षेत्रतर्फ गएको जिल्लास्थित सुरक्षा स्रोतले बतायो । चैत्र २१ देखि शुरु भएको अपरेशन हिमाल दर्शन वैशाख १० गतेसम्म सञ्चालन हुने सैनिक स्रोतको भनाइ छ । सदरमुकाम खलंगाबाट महाकालीको किनारैकिनार पैदल हिँडेको टोलीले भारत र चीनसँगको सिमाना निरीक्षण गरेको छ । खलंगाबाट टिंकर भञ्ज्याङसम्मको पैदल दूरी ८० किलोमीटर छ । 

महाकाली किनारैकिनार नेपालतर्फको पैदलबाटो क्षतिग्रस्त भए पनि सेनाले जोखिमपूर्ण यात्रा गर्दै व्यासक्षेत्र भ्रमण गरेको छ । दुई जना सुरक्षाकर्मीले महाकाली नदीको भिरालो र जोखिमपूर्ण बाटो हिँड्न नसक्दा ब्यारेक फर्किनुपरेको स्रोतले बतायो । व्यास गाउँपालिकाको वडा नम्बर २ तम्बाकु भीर क्षेत्रमा पैदलबाटो धेरै जोखिमपूर्ण छ । 

वडा नम्बर १ मा पर्ने छाङरु र टिंकर गाउँका स्थानीय वासिन्दा अहिले सदरमुकाममै छन् । हिउँदमा अत्यधिक हिमपातका कारण व्यासका स्थानीय वर्षमा ६ महिना सदरमुकाममै बस्छन् । नेपालतर्फ पैदलबाटोको सुविधा नहुँदा स्थानीयले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । यसपाली भारतीय प्रशासनले परमिट (अनुमतिपत्र) जारी गर्न ढिलाइ गर्दा व्यासको कुञ्चा (बसाइँसराइँ) सर्न ढिलाइ भएको वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । ‘धारचुलास्थित भारतीय एसडिएम कार्यालयमा पास (परमिट)का लागि पहल गरिरहेका छौं’ उहाँले भन्नुभयो । 

छाङरु र टिंकर गाउँको कुञ्चा सर्न बाँकी रहेको बेला सेनाको टोलीले सीमाक्षेत्रको भ्रमण गरेको हो । छाङरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीका साथै २÷३ स्थानीय परिवारको उपस्थिति भए पनि टिंकर गाउँ अहिले मानवविहीन छ । छाङरुबाट १२ किलोमीटरको पैदल दूरीमा टिंकर गाउँ पर्छ । 

झण्डै ३८ सय मीटर उचाइमा रहेको गाउँभन्दा ६ घण्टाको पैदल दूरीमा टिंकर भञ्ज्याङ रहेको छ । ५ हजार २ सय ७० मीटर उचाइको भञ्ज्याङमा सन् १९६२ मा निर्मित नेपाल–चीन सीमा छुट्याउने १ नम्बर पिलर छ । सेनाको टोली १ नम्बर पिलरमा पुग्दा टाटाक्षेत्रसम्मको भूभाग हिउँले ढाकिएको थियो । हिउँले ढाकिएको १ नम्बर पिलरलाई सेनाको टोलीले हिउँ हटाएर अवलोकन गरेको जिल्लास्थित सैनिक स्रोतले बतायो । 

मानवविहीन अवस्थामा रहेको टिंकर क्षेत्रमा सेनाले राशन र बन्दोवस्तीको सामानसमेत सँगै बोकेर लगेको थियो । लामो अवधिको सैन्य अपरेशनमा कम्तीमा ३ दिनलाई पुग्ने राशन सैनिक आफैँले बोक्ने गरेको स्रोतले बतायो । 

वैशाख ३ गते दिउँसो सेनाको अपरेशन टोली व्यासको छाङरु पुगेको छ । सुदूरपश्चिम पृतनापति उपरथी विजय थापा र महेन्द्रनगरस्थित २५ नम्बर बाहिनीपति सहायक रथी पुरुषोत्तम ढकाल वैशाख ३ गते हेलिकोप्टरमार्फत अपरेशन हिमाल दर्शनको निरीक्षण गर्न छाङरु पुगेका छन् । 

वैशाख ४ गते टोली सदरमुकामतर्फ फर्किएको छ । टोलीलाई खलंगा पुग्न झण्डै एक हप्ता लाग्नेछ । दार्चुलास्थित गुल्मपति मनीषप्रकाश बुढाथोकीले सेनाले नियमित अभ्यासअन्तर्गत अपरेशन हिमाल दर्शन सञ्चालन गरेको बताउनुभयो ।
 

टिप्पणीहरू