काभ्रेमा कर छल्ने र बेरुजु बढाउने को–को ?
काभ्रेपलाञ्चोकस्थित सरकारी कार्यालयहरूको लेखापरीक्षण सकिएको छ । ०७८र७९ को लेखापरीक्षण सम्पन्न गरी सम्बन्धित कार्यालयमा प्रतिवेदन बुझाइएको छ । जिल्लामा रहेका १३ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै बेरुजु हुने पालिका पनौती हो । कम बेरुजु हुने पालिकाको रूपमा फेरि पनि महाभारत गाउँपालिकाले बाजी मारेको छ । उसको कूल कारोबारमा ०.२६ प्रतिशत बेरुजु देखिएको छ । महाभारतपछि कम बेरुजु भएको पालिका तेमाल हो । उसको ०.७६ प्रतिशत बेरुजु छ । पनौती नगरपालिकाको सबैभन्दा धेरै ११.२९ प्रतिशत बेरुजु छ ।
पनौतीमा संघ सरकारले सरुवा गरेर पठाएको प्रशासकीय अधिकृतलाई हाजिर नगराउने भन्दै नगर प्रमुख रामशरण भण्डारीले पत्र लेखेपछि खाता रोक्कासम्मको चेतावनी पत्र कोलेनिकालाई बोधार्थ पठाइएको छ । निकासी करको ठेक्का नलागेर कर्मचारी आफैँले राजश्व संकलन गरिरहेका छन् । करारका कर्मचारीको म्याद ढिलो गरी थपिएपछि म्यादी भएको भन्दै तिनले जाँगर लगाएर काम गरेका छैनन । उता करारमा भर्ना गर्ने कर्मचारीको परीक्षाकै दिन प्रश्न र उत्तर दुबै बाहिरिएपछि स्थगीत परीक्षा पुनः हुन सकेको छैन । नगर प्रमुख र उपप्रमुखसहितका जनप्रतिनिधिहरूको विवाद छताछुल्ल भएकाले नगरपालिकाले सोचेजस्तो सेवा प्रवाह प्रदान गर्न सकेको छैन । पनौतीपछि धेरै बेरुजु हुने पालिका धुलिखेल हो । उसले रविओपी, देविटार, अनेकोट सडकका लागि विनियोजित रकम पेश्की दिएकाले बेरुजु देखिएको बताएको छ । उक्त रकम खर्च भएर बिल पेश हुनेबित्तिकै बेरुजु रकम कम हुने नगरपालिकाको दाबी छ । धुलिखेलपछि भुम्लु गाउँपालिकाको ४.०५ प्रतिशत छ, जहाँ लेखा र प्रमुख प्रशासकीय अधिकृत धेरै समय दिन सक्दैनन् । मण्डनदेउपुर नगरपालिकाको बेरुजु रकम ३.१२ प्रतिशत छ । उक्त पालिकाको पनि श्रोत धेरै छ । प्रमुख प्रशासकीय अधिकृत शिक्षाका छन् । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको समन्वय रहँदा पनि त्यहाँ धेरै बेरुजु देखिएको छ । उसले पनि अर्काे प्रमुख प्रशासकीय अधिकृत चाहिँदैन भन्दै मन्त्रालयलाई दबाब दिएको छ । बेथान्चोक गाउँपालिकाको बेरुजु प्रतिशत २.८४ छ । स्रोत धेरै भएको पालिकाका रूपमा बेथान्चोकलाई चिनिन्छ । खानिखोला गाउँपालिकाको बेरुजु प्रतिशत २.३३ छ । उक्त पालिका पनि विकट क्षेत्रमा पर्छ ।
नमोबुद्ध नगरपालिकाको बेरुजु २.२ छ । उक्त पालिका पनि यस अघि राजश्व संकलन तथा योजना कार्यान्वयनमा विवादमा आइरहने पालिका हो । चौरीदेउराली गाउँपालिका र बनेपा नगरपालिकाको बेरुजु प्रतिशत १.९२ छ । बनेपा धेरै बजेट भएको पालिकाभित्र पर्छ । चौरीदेउराली विकटमा पर्छ । पाँचखाल नगरपालिकाको बेरुजु प्रतिशत १.४२ छ भने रोशीको १.२ प्रतिशत छ । लेखापरीक्षण गरिएकामध्ये आन्तरिक राजश्व कार्यालय धुलिखेलको प्रतिवेदनले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाका करदाताको विवरण र कर छलीका विषय उल्लेख गरेको छ । महालेखापरीक्षकको कार्यालयले आन्तरिक राजश्व कार्यालय धुलिखेलको लेखापरीक्षण ०७९ चैत ७ गते सम्पन्न गरेर प्रतिवेदन बुझाएको छ । आन्तरिक राजश्व कार्यालय धुलिखेलमा ०७६/७७ मा कूल करदाता २६ हजार ३ सय ३९, ०७७/७८ मा ३२ हजार ३ सय ६१, ०७८/७९ मा ३७ हजार ६ सय ३१ थपिएका छन् । ०७८/७९ मा आयकरतर्फ ब्यक्तिगत फर्म २७ हजार १७ वटा दर्ता भएका छन् । प्राली कम्पनी तर्फ ३ हजार ४ सय ३६ वटा छन् । तोकिएको समयमा आय विवरण दाखिला नगर्ने करदाता १३ हजार ५ सय ८५ रहेका छन् ।
मूल्य अभिबृद्धितर्फ ४ हजार ७ सय ३० करदाता छन् । जसमध्ये १ हजार ४ सय ३० जनाले विवरण बुझाएका छैनन् । स्थायी लेखा नम्बर नम्बर लिने कर दाताको संख्या ३३ हजार ८२ पुगेको छ । १८ सय ८५ वटा फर्मले खारेजीका लागि आवेदन दिएका छन् । ५ सय ५३ करदातामध्ये विभिन्नसँग २०७९ असार मसान्तसम्म आयकर, पारिश्रमिक कर, बहाल कर, अन्तः शुल्क, बदर्ता मु.अ. कर, स्वास्थ्य सेवा कर, शिक्षा सेवा कर, अन्यसमेत गरी १४ करोड ९० लाख ४५ हजार ३१ रूपैयाँ असुल गर्न बाँकी छ । काभ्रेपलाञ्चोक जिल्लाका शान्ति जनआदर्श सेवा केन्द्र, विन्ध्यबासिनी इँटा उद्योग, संकटा वाइन एण्ड बेभरेज प्रालि, रोशी खोला रोडा ढुंगा उद्योगलगायतले कर तिरेका छैनन् । ती सबैलाई मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१ अनुसार बैंक खाताबाट असुल गर्ने, चल सम्पत्ति कब्जा गर्ने, सम्पत्ति लिलाम बिक्री गर्ने, कारोवार रोक्का गर्ने र नेपाल बाहिर जान रोक लगाउने प्रक्रियातर्फ पहल गर्न निर्देश गरिएको छ । जिल्लाका निर्माण व्यवसायी, केही होटल तथा अन्य क्षेत्रका व्यवसायले नाफा कम देखाउँदै कर छलेको तथा आम्दानीभन्दा धेरै खर्च देखाएर श्रोत उल्लेख नगरेका कारण राजश्व छलेको जस्ता विवरण लेखापरीक्षणमा समेटिएको छ ।
– मोतीराम तिमल्सिना
टिप्पणीहरू