सेनामा ठूलै लटको जागिर सोत्तर
सेनालाई ‘चलाउँदा’ को सास्ती ‘श्रीमान्’ हरूले झेलिरहेका छन् । अर्कातिर सर्टिफिकेट काण्डमा धेरैको जागिर गएको सैनिक सेवाबाट ड्राइभिङ लाइसेन्सका कारण जागिर गुमाउनेहरूको अर्को ताँती लागेको छ ।
तराई–काठमाडौं दू्रतमार्ग (फास्टट्रयाक) का बारेमा सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको बेञ्चबाट भएको एउटा आदेशका कारण दुःख पाएको भन्दै रिसाएको सेना अदालतप्रति अहिले झन् आक्रोशित छ । उक्त आदेशअनुसार दू्रतमार्ग निर्माणमा काम गरिरहेको चिनियाँ कम्पनी बाहिरिएर भारतीय कम्पनीले अवसर पाएको बताइन्छ । त्यसपछि जागिरबाट बर्खास्त भएका एक अमलदारलाई बहाली गराउन आदेश दिने दिपक कार्की र तिलप्रसाद श्रेष्ठमाथि पनि सेना खनिएको छ ।
जसरी जर्नेल प्रेम शाहीलाई जंगी अड्डाले अवकाशको सूचना दिँदादिँदै सर्वोच्चले बहाली गर्न आदेश दिएपछि न्यायाधीशका कल डिटेल्स र म्यासेज आदानप्रदानबारे सेनाले अनधिकृत निगरानी गर्यो, उसको प्रतिकूल आदेश दिने अन्य न्यायाधीशका हकमा पनि त्यस्तै हुने गरेको बताइन्छ । यसबारे सेनाले ३७ पानाको रिपोर्ट तयार पारेको छ । त्यसमा को–कोसँग कसको सम्पर्क छ भन्ने व्यहोरा उल्लेख छ ।
उक्त रिपोर्ट फोटोकपी गरेर वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र प्रेम शाहीलाई सहयोग गरेको आरोपमा पक्राउ परेका कर्णेल महेन्द्रजंग शाहीकी पत्नी तथा अधिवक्ता शोभा कार्कीले लगेका छन् । त्यो कागजको सक्कल अदालतमा नराखी सेनालाई नै फिर्ता पठाइएको छ । र, त्यससम्बन्धी मुद्दा पालो नै नआउने गरी सर्वोच्चमा राखिएको छ । प्रेम शाहीको हकमा पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको सम्पर्क तीन जना न्यायाधीशसँग देखाइयो । हालका रक्षामन्त्री पूर्णबहादुर खड्कालाई पनि विभिन्न चार–पाँच जना न्यायाधीशसँग जोडियो ।
उता, नक्कली ड्राइभिङ लाइसेन्सका आधारमा शान्ति सेना जाने गरेका तल्लो दर्जाका प्राविधिक सेनाले जागिर गुमाउने भएका छन् । यसरी ०८० सालको घाम झुल्किँदाझुल्किँदै १४ जना सवारी चालक रुँदैरुँदै घर गए । यसअघि नक्कली लाइसेन्सका आधारमा जागिर खाने र मिशन जाने गर्दा १ सय ७९ जनाको जागिर गएको थियो । अहिलेका १४ जनाको हकमा छानवीन चल्दाचल्दै मिशन रद्ध गरिएको छ । यसरी वैशाख ३ गते जागिर जानेहरूमा दयाराम थारु, नविन लकाई, भुवन थारु, विक्रम बोलम, सांगे तामाङ, मनिता केसी, नवीन थारु, राजाराम थारु, धर्मेन्द्र थारु लगायत छन् ।
टिप्पणीहरू