बजेटको मुखमा हाकिम चाहियो काखमा
‘म ताक्छु मूढो, बञ्चरो ताक्छ घुँडो’ भनेझैँ मन्त्री छन्, कर्मचारी प्रशासनमा आमूल सुधार गर्न हुटहुटी बोकेका । उनको टिम छ ‘सरुवाखेती’ चलाउने ! अर्थ सामान्य प्रशासन सचिव कृष्णहरि पुष्कर, सहसचिव कमल भट्टराईदेखि सचिवालयकै कर्मचारीहरू यस्तोमा संलग्न भएका हुन् ।
जस्तो कि, एउटा प्रदेशको एउटा नगरपालिकामा मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटायो । तीन जना प्रशासकीय अधिकृत खटाउँदा पनि कोही टिकेनन् । पालिकाको मेयरले नै निमित्त भई पालिका चलाइराख्न चाहे । त्यही कारण उनले मन्त्री अगमलाल मोदीको सचिवालयको एउटा टिमलाई शुरुमा एक लाख बुझाए । पछि अर्काे टिमलाई तीन लाख बुझाइएको चर्चा अहिले सिंहदरबारमा व्याप्त छ ।
यसरी कर्मचारी सरुवा गर्दा चलखेल भएको मन्त्री मोदीको कानमा ठोकिएसँगै कर्मचारी प्रशासन हेर्ने हर्ताकर्ता सहसचिव कमल भट्टराई त्यहाँबाट लखेटिए । अहिले कर्मचारी प्रशासन हेर्ने गरी लोकसेवाका गुरु हेमराज तामाङलाई भित्र्याइएको छ । कृष्णहरि पुष्कर अर्थसचिव र कमल भन्सारको महानिर्देशक हुँदा कर्मचारी सरुवामा व्यापक चलखेल गरेको अहिले उदांगो भइरहेको छ । धेरै घोटाला गर्न सकिने भन्सार कार्यालयहरूमा दरबन्दी नै नभए पनि ५० जना कर्मचारीलाई जबर्जस्ती फाजिलमा पठाएको भेटिएको छ । प्रचलित ऐनविपरीत दरबन्दी नै नभएका स्थानमा पचासौं कर्मचारी पठाउँदा एक जनाबाट ३ देखि ५ लाखसम्म आर्थिक लाभ उठाइएको खटाइएका कर्मचारीले बताउने गरेका छन् । उनै कमल अहिले संघीय मामला तथा सामान्य प्रशासन महाशाखा प्रमुखको कुर्सीमा थिए । गत चैत २९ मा कर्मचारी प्रशासन महाशाखामा कुटाकुट नै भयो ।
माओवादीकै एउटा समूह कर्मचारी सरुवाका विषयलाई लिएर धाउँदा कमलहरूले झुलाएकै कारण भट्टराईमाथि हातपात भएको थियो । भट्टराईले सर्लाहीको कविलासी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको चूडामणि चापागाईंको सरुवा बदर गरी भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमा लैजाँदा २ लाख ५० हजार आर्थिक लाभ लिएको चर्चा चल्यो । उनको विगतसमेत बदनामीमा मुछिएको छ । स्थानीय तह निर्वाचनको मुखमा विराटनगर भन्सार प्रमुख तारा सापकोटासँग अनुचित लाभ खोजेको थिए । कमलले खोजेझैं रकम बुझाउन अस्वीकार गरेको चर्चा त्यतिखेर भन्सारमा व्यापक रूपमा सुन्न पाइन्थ्यो । यसैगरी, सुक्खा बन्दरगाहका तत्कालीन हाकिम जयबहादुर भण्डारीलाई समय–समयमा बोलाएर स–सना कुरामा बयान लिने र दुःख दिने गरेको भन्सारकै भुक्तभोगी कर्मचारी सुनाउँछन् । यसरी एकपछि अर्काे सरुवाको लफडामा मुछिएका कमललाई कर्मचारी प्रशासन फाँटबाट गलहत्याएर अर्काे शाखातिर पठाइएको छ ।
यस्तै मन्त्री मोदीको निजी सचिवालयमा कार्यरत अधिकृत सातौँ (सिअहेव) नागमणि पटेल र नायव सुब्बा विष्णु लामिछाने पनि फालिनेमा परेका छन् । उता, अर्थमन्त्रीको तनाव बेग्लै छ । मन्त्रीको कुर्सीमा डा. प्रकाशशरण महत देखिए पनि उनलाई चलाउने ‘रिमोट’ अन्यत्रै छ । त्यही कारण महिनादिनसम्म आफू अनुकूलको सचिव लैजान सकेका छैनन् । पूर्वअर्थमन्त्री विष्णु पौडेलका समयमा अर्थमा मन्त्रालय भिœयाइएका सचिव तोयम रायसँग ‘ट्युनिङ’ नमिल्दा बजेट लेखन नै प्रभावित हुने खतरा देखिएको अर्थमन्त्री प्रकाशरण महतको सचिवालय स्रोतले जनआस्थालाई बताएको छ । आफू कतिखेर ‘फुटबल’ बनिने हो भन्ने भयकाबीच काम गर्नुपर्दा सचिवले मन्त्रीलाई खासै ‘भाउ’ दिने नगरेको अर्थका अर्का सहसचिवले सुनाए । सामान्यबाट पुष्करलाई नै सचिवको रूपमा अर्थमा भिœयाउनका लागि आरजू राणादेखि पूर्वमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीसम्मले दबाब दिँदै आए ।
तर, अर्थमन्त्री महतले बदनाम र विवादित चरित्रका सचिवलाई अर्थमा भित्र्याउने हिम्मत गरिसकेका छैनन् । कांग्रेस क्याडर मानिने सचिव अर्जुन पोखरेलका अलावा मधुकुमार मरासिनी, डा. वैकुण्ठ अर्याल र केवलप्रसाद भण्डारीहरू अर्थसचिवका प्रवल दावेदार मानिएका छन् । यद्यपि, अर्थमन्त्री महतले ‘कम्फर्टेबल’ सचिव भेटिसकेका छैनन् । नयाँ बजेट आउन अब एक महिना बाँकी छ । तर, मन्त्रीले अझै खोजेजस्तो सचिव अर्थमा लैजान सकेका छैनन् । अर्थका कर्मचारीको हेरफेरमा सभापति देउवादेखि आरजू राणा र पावर ब्रोकर दीपक भट्टसम्मको हस्तक्षेप हुने गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
टिप्पणीहरू