नक्कली नोटको बिगबिगी, विदेशीको संलग्नता बढ्दो
वैशाख २२ गते काठमाडौँको गोकर्णेश्वरबाट नक्कली नोटसहित दुई जना समातिए । जाजरकोट घर भएकी ३१ वर्षीया सम्झना गहतराज र बाँके घर भएका ३२ वर्षीय सादाय हलुवाई प्रहरी हिरासतमा पुगे ।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–६, नयाँबस्तीबाट उनीहरुलाई पाँच सय र हजार दरको नक्कली नोटसहित नियन्त्रणमा लिइएको जनाएको थियो ।
उनीहरुको साथबाट तयारी अवस्थामा रहेका हजार दरका एक सय २६ थान, पाँच सय दरका दुई थान र प्रिन्ट गरेर काट्न बाँकी पाँच सय दरका ६० थान नक्कली नोट पनि बरामद गरिएको थियो ।
त्योसँगै प्रिन्ट मेसिन एक थान, प्रयोग गरिसकेको रिचार्ज कार्ड चार थान, कृषि विकास बैंकको चेकबुक एक थान, नागरिकता एक थान, फोटोकपी पेपर एक रिम र दुई थान मोबाइल पनि बरामद गरेको बताइएको छ ।
यसअघि वैशाख २० गते पर्साको वीरगञ्जमा चार लाख ८६ हजार नक्कली नोटसहित सर्लाहीका ३४ वर्षीय आनन्दबर्दन सिंह र बाराका ३६ वर्षीय ओमप्रकाश साह पक्राउ परे ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले वीरगञ्जस्थित बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार बसपार्कबाट प्रतिमा चोकतर्फ जाँदै गरेको बीआर ०१ पीजी ६५७७ नम्बरको भारतीय गाडी चेकजाँच गर्ने क्रममा चालक सिंह र गाडीमा सवार साह नक्कली नोटसहित फेला परेका हुन् ।
त्यस्तै, वैशाख १५ गते ललितपुरको गोदावरीमा ओखलढुंगा घर भएका ३६ वर्षीय सुरेश तामाङ र कास्कीका २१ वर्षीय भुपाल विक नक्कली नोटसहित प्रहरी नियन्त्रणमा पुगे ।
गोदावरीको झरुवारासीस्थित किराना पसलमा सामान किन्दा नक्कली नोट दिएका सुरेशलाई जिल्ला प्रहरी परिसर, ललितपुरबाट खटिएको टोलीले पक्रेपछि भुपाल समातिएका हुन् । प्रहरीले उनीहरुको साथबाट हजार दरका एक थान, पाँच सय दरका दुई थान र सय दरका दुई थान नक्कली नोट बरामद गरेको जानकारी दिएको थियो ।
त्यसअघि वैशाख १२ गते धनुषाको जनकपुरमा सात लाख रुपैयाँभन्दा बढीको नक्कली नोटसहित एक युवती पक्राउ परिन् । विदेह नगरपालिका–६ की २५ वर्षीया अनुकुमारी साह सात लाख ७१ हजार नक्कली नोटसहित प्रहरी हिरासतमा पुगिन् ।
उनको साथबाट एक हजार दरका चार सय ९२ थान र पाँच सय दरका ५ सय ५१ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ । जनकपुरधामस्थित जिरो माइल क्षेत्रमा खटिएको टोलीले कालो रङको झोला बोकेर शंकास्पद तरिकाले हिँडडुल गरिरहेकी साहको झोला चेकजाँच गर्ने क्रममा ती नोट फेला परेका थिए ।
उनको साथबाट प्रहरीले नेपाली रुपैयाँ १० हजार ५ सय र भारतीय १ सय ६० समेत फेला परेको बताइन्छ । यी नक्कली नोट कारोबारका केही उदाहरण मात्रै हुन् । पछिल्लो समय नेपालमा दिनहुँ यस्ता अपराध बढिरहेका छन् ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२२ मुद्दासम्बन्धी कसूरमा स्पष्ट लेखिएको छ, ‘प्रचलित कानूनी मापदण्डविपरीत हुने गरी आफ्नो वा अरुलाई लाभ, सहयोग पुर्याउने गरी मुद्रा बनाउन पाइने छैन ।’
यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । तर, यस्ता अपराध न्यूनीकरणको साटो उल्टै वृद्धि भइरहेको पाइएको छ ।
नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार पछिल्लो समय नक्कली नोटसहित पक्राउ पर्नेको संख्या अप्रत्याशित ढंगले बढेको देखिन्छ । आर्थिक वर्ष २०७५/०७६ मा प्रहरीले नक्कली नोटसहित ३० जना नेपाली नागरिकलाई पक्राउ गरेको थियो । सोही अवधिमा नौ जना विदेशी नागरिक पनि नक्कली नोटसहित समातिएका थिए ।
आर्थिक वर्ष २०७६/०७७ मा ४७ जना नेपाली नागरिक र १८ जना विदेशी नागरिक नक्कली नोटसहित पक्राउ पर्दा आर्थिक वर्ष २०७७/०७८ मा ४३ जना नेपाली नागरिक र एक जना विदेशी नागरिक समातिएको प्रहरीले जनाएको छ ।
यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा यो संख्यामा वृद्धि भई ७९ जना नेपाली नागरिक र १५ जना विदेशी नागरिकलाई प्रहरीले नक्कली नोटसहित नियन्त्रणमा लिएको थियो । चालु आर्थिक वर्षको माघ मसान्तसम्म ९० जना नेपाली नागरिक र ५ जना विदेशी नागरिक नक्कली नोटसहित पक्राउ परेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता कुँवेर कठायत पछिल्लो समय नक्कली नोटसहित पक्राउ पर्नेको संख्या तीव्र रुपमा बढिरहेको बताउँछन् । उनले नागरिकमा कानूनी ज्ञान, चेतनाको अभाव नहुँदा वा बढ्दो गरिबी र बेरोजगारीलगायत जटिल समस्याका कारण यस्ता घटनामा वृद्धि हुँदै गएको बताए ।
‘नागरिकमा कानूनी ज्ञानको अभाव छ । गैरकानूनी कार्य गर्दा कति र कस्तो प्रकारको दण्ड, सजाय र जरिवानासम्म हुन्छ भन्नेमा उनीहरु सचेत छैनन्,’ उनले भने, ‘यस्तो घटनाको अर्को प्रमुख कारण गरिबी र बेरोजगारी पनि हो ।’
बढ्दो गरिबी र बेरोजगारीका कारण आर्थिक प्रलोभनमा परेर यस्ता अपराधमा व्यक्तिहरु संलग्न हुँदै गएको उनको भनाइ छ । साथै, यस्ता घटना नियन्त्रणका निम्ति जनचेतनाको अभिृवृद्धिका साथ साथै दोषीलाई कडा कानूनी कारबाहीको व्यवस्था मिलाइएको उनको दाबी छ ।
(जनआस्था साप्ताहिकबाट साभार)
टिप्पणीहरू