पासपोर्टकै ध्यान

पासपोर्टकै ध्यान

प्रहरीले जसै नक्कली शरणार्थी प्रकरणको फाइल खोल्यो, धेरै जनाले धेरै प्रकारका सुझाव दिन थालेका छन् । अहिले सरकारमाथि सहयोगभन्दा पनि सुझावहरूको दबाब छ । कसैको सुझाव छ– कारवाही कुनै हालतमा रोकिनु हुँदैन । कसैको सुझाव छ– दोषी उम्किनु हुँदैन, निर्दोषी फस्नु हुँदैन । त्यस्तै कसैको सुझाव छ– जोसुकै होस्, छोड्नु हुँदैन । 

यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सुझाव दिन थालेको छ । यो पार्टीको सुझाव छ– ज–जसको नाम आएको छ उनीहरूको पासपोर्ट जफत गर्नु पर्दछ । रास्वपाको सुझाव अत्यन्त मौलिक छ । यो प्रकरण शुरु भएपछि कसलाई के धन्दा, कसलाई के धन्दा भइरहेको छ । रास्वपालाई चाहिँ पासपोर्टको धन्दा परिरहेको छ । पासपोर्टतिर कसैको ध्यान गएको थिएन । रास्वपाको गयो । वास्तवमा पासपोर्टसँग रास्वपाको गहिरै सम्बन्ध छ क्यारे ! त्यही भएर पासपोर्टकै सुझाव दिइरहेको छ ।

कारवाही होस् नहोस् मतलब छैन तर पासपोर्टचाहिँ जफत हुनै पर्छ । किनभने मुख्य कुरै पासपोर्ट हो । पासपोर्ट कति महत्वपूर्ण हुन्छ भन्ने कुरा रास्वपा बाहेक अरुलाई के थाहा ? पासपोर्टको दुःख त रास्वपाले पो भोगेको छ, अरुले कहाँ भोगेको छ ? त्यही भएर नक्कली शरणार्थी प्रकरणमा पनि रास्वपाको मुख्य ध्यान पासपोर्टमै गएको छ । कुरो त बुझिन्छ होला नि ! 
 

टिप्पणीहरू