आखिर केही त घट्यो

आखिर केही त घट्यो

लगातार समाचार आइरहेको छ, देशमा राजश्व घटिरहेको छ । केही महिनादेखि राजश्व संकलन राम्ररी भइरहेको छैन । यसले गर्दा राजश्व निरन्तर घटिरहेको छ ।

अब यसमा सरकारलाई धन्यवाद दिनैपर्छ कि धेरै समयपछि देशमा एउटा यस्तो पनि तत्व आएको छ जो घटिरहेको छ । होइन भने यतिबेला देशमा के पो घटेको छ र ? महँगी घटेको छैन । भ्रष्टाचार घटेको छैन । अख्तियार दुरूपयोग घटेको छैन । असुरक्षा घटेको छैन । लुटमार घटेको छैन । हत्या घटेको छैन । बरु उल्टो सबै बढेको छ । यस्तो बेला बल्लतल्ल एउटा कुरो भेटिएको छ, जो बढेको छैन, घटेको छ । यसमा सरकारलाई धन्यवाद दिनै पर्छ । आखिर धेरै लामो मिहिनेतपश्चात् राजश्व घटाउन सरकार सफल भएको छ ।

हेर्नोस्, राजश्व भनेको त्यसै घट्दैन । यो घटाउन पनि धेरै मिहिनेत गर्नुपर्छ । अब म राजश्व घटाउँछु भन्दैमा घटाउन सकिँदैन । राजश्व घटाउन सबैभन्दा पहिले त कर्मचारीलाई अल्छि बनाउनुपर्‍यो । राजश्वसम्बन्धी जम्मै काममा ढिलासुस्ती बढाउनुपर्‍यो । राजश्व तिर्न चाहने जनतालाई यस्तरी हैरान बनाउन सक्नुपर्‍यो ताकि कोही राजश्व तिर्नै नआओस् । कसैले जिद्दी गरी तिर्न चाहे पनि आधी मात्र तिराउने र बाँकी आधी आफूले कुम्ल्याउने कौशलता प्रयोग गर्न सक्नुपर्‍यो । यति गरिसकेपछि मात्रै बल्ल राजश्वमा घटोत्तरी आउँछ । सरकारले यी सबै कार्य अवश्य पनि गरेकै होला । यो परिश्रमका लागि सरकारलाई धन्यवाद दिनु पर्दैन ?

टिप्पणीहरू