म्यान्मारमा चर्को द्वन्द्व, बैंककमा नेपालीलाई आनन्द

म्यान्मारमा चर्को द्वन्द्व, बैंककमा नेपालीलाई आनन्द

निख्रिएको नीलो आकाश । गगनचुम्बी भवन । जताततै मठ–मन्दिर । पर्यटकले टम्म भरिएको शहर । सस्तो र उत्कृष्ट सडक–खाना । कुरूप फुटपाथ, छेउकुनातिर मसाज र मदिरालय । ‘थाई–अंग्रेजी’ लवज । वारिपारि सुरा–सुन्दरी । ‘सुवर्णभूमि’देखि ‘चाओ फ्राया’सम्म अजब–गजबको मेला–उत्सव । बैंककको रौनक बेग्लै छ– चम्किलो र थकाइलाग्दो छ नथाक्ने जीवन ।

एउटा बैंककका अनेकौँ जीवन–कहानी छन् । कथा–व्यथा र वेदनाले भरिएका बग्रेल्ती ‘आप्रवासी सपना’ छन् । थाइल्याण्डले कैयौं ‘गोर्खा’ अर्थात् नेपालीहरूको भाग्य चम्काएको छ । बीचमा कोरोना महामारीको कहरले एउटा गहिरो र भयानक भुमरीमा धकेल्यो । तर पनि ‘जिजीविषा’ बोकेर टण्टलापुर घाममा हिँडिरहेका छन्, बैंककका नेपालीभाषी ।

थाइल्याण्डको ‘थाई–नेपाली’ समाज छरिँदो भए पनि जीवन्त छ । नेपालीहरू जहाँ पुगे पनि भाषा, धर्म र संस्कृतिसँग बलियो सम्बन्ध राख्छन् । ती भावुक हुँदै भन्छन्, ‘थाइल्याण्डमा कैयन भावना र सपना छन् । नेपालबाट ढाटा छौँ । बर्माभन्दा अलिक पर । तैपनि दशकौँदेखि घामको चमकमा नेपाली जीवन खोज्दै हिँडिरहेका छौँ ।’

‘भाषा नर्बिसियोस्’ भनेर मन्दिरमै नेपालीभाषा पढाउँछन् । हिन्दू देवी–देवता सजाएर मठ–मन्दिर बनाएका छन् । दसैं–तिहार, तीज, जनैपूर्णिमा, गीता जयन्ती, रामनवमी, शिवरात्रीजस्ता पर्वहरू नेपालमा भन्दा धुमधामसँग मनाउँछन् । थाइल्याण्डमा नेपालीहरूका तीन वटा परिचय छन्, ‘थाई नेपाली’, ‘बर्मेली नेपाली’ र ‘नेपालका नेपाली ।’ उनीहरू नेपाली, बर्मिज (कतिपय), थाई, हिन्दी र अंग्रेजी (कतिपय) भाषा बोल्छन् । सन् १९९० तिर १० हजार हाराहारीमा रहेका नेपालीभाषी हाल ७० हजार पुगेको अनुमान छ । 

नेपाल–म्यान्मार–थाइल्याण्ड कनेक्सन

उखरमाउलो गर्मीसँगै सुखुम्भित–२२ मा भेटिए, होमनाथ न्यौपाने । म्यान्मारको मिचिनाबाट काम खोज्दै डेढ दशकअघि बैंकक आएका । बाध्यताले बा–आमाभन्दा टाढा भए पनि प्रवासी बसाइ सुखद भएको बताउँछन् । उनी थाईको काम र दाममा रमाइरहेका छन् । 

होमनाथका तीन देशसँग तीन वटा नाता छन् । पुर्खाको भूमि– नेपाल, जन्मभूमि– म्यान्मार । अनि कर्मभूमि– थाइल्याण्ड । प्रेमपूर्वक भन्छन्, ‘हामीहरू तीन देशका नागरिकजस्तै भएका छौँ । नेपाल र थाईप्रति उच्च सम्मान छ । पुर्खाको भूमि र त्यहाँको माटोको माया लाग्छ । नेपाली भाषा र संस्कार बिर्सिएका छैनौँ । बर्मा त झन् जन्मेको देश भइहाल्यो ।’ म्यान्मार अर्थात् बर्माको मिचिनामा हजारौँ नेपाली बस्छन् । उनीहरूमध्ये अधिकांश रोजगारी खोज्दै थाइल्याण्ड आउँछन् । होमनाथ पनि त्यही लहर समातेर यहाँसम्म आइपुगेका हुन् । उनीजस्ता हजारौँ युवा–युवती म्यान्मारको गृहयुद्ध छल्न थाइल्याण्ड आइरहेका छन् । 

बैंकक आएदेखि जन्मभूमि फर्किएका छैनन्, होमनाथ । सम्भवतः तत्काल जाँदैनन् पनि । म्यान्मार द्वन्द्वमा फसेको छ । जताततै अशान्त छ तर बैंककमा रहेका नेपालीहरू शान्त र सुरक्षित छन् । होमनाथको नेपाली भाषा र साहित्यप्रति अधिक लगाव छ । कहिलेकाहीँ कविता–कथा लेख्छन् । अनलाइन खोलेर समाचार पढ्छन् । यात्राको बेला नेपाली गीत–संगीत सुन्छन् । उनी भारतेली–नेपाली प्रध्यापक महेन्द्र पी. लामाको ‘ओ दार्जिलिङ’ मार्फत् नेपाल–भारत–चीन–म्यान्मार नियालिरहेका छन् । ‘नेपालीहरूले देश भुल्लान् तर भाषा–संस्कार, रीति–थिति भुल्दैनन् । आधुनिकीकरणको प्रभावमा डुब्दैनन् । हामीहरू पनि त्यस्तै एउटा नेपाली जाति हौँ । पुर्खाहरू नेपालबाट बर्मा आए । हामीहरू बर्माबाट थाइल्याण्ड आएका छौँ, तर नेपाली नै भएर बाँचेका छौँ,’ होमनाथ भन्छन् । 

म्यान्मार द्वन्द्वमा फसेको छ । जताततै अशान्त छ तर बैंककमा रहेका नेपालीहरू शान्त र सुरक्षित छन् । 

थाइल्याण्डमा गुञ्जिएको नेपाली गीत

थाइल्याण्डले पर्यटकलाई मीठो र मस्त स्वाद बाँडिरहेको छ । सूर्य अस्ताउँदै जाँदा बैंकक–फुकेट–पटाया क्षणभरमै जुर्मराउँछन् । अनि एकाएक घन्किन थाल्छन्, आधुनिक बाजागाजा । 

अघिल्लो शुक्रबार दिउँसो ‘पटाया’मा एउटा गीत बज्यो–

सालको पात टपरी गाँसेर
जुनि बिताऊँ सँगसँगै हाँसेर...

थाई कोलाहलमा गुञ्जिरहेको एउटा नेपाली गीत । पर्यटकीय–नगरीको व्यापक चहलपहल । थाई रेष्टुरेण्टमा ‘देखिने–खाइने’ बेग्लै स्वाद । अनि खाना चपाउँदै नेपाली गीत सुनिरहेका विदेशी पर्यटक । नेपाली गीतको तालमा झुमिरहेका श्यामबहादुर थापा पटायाको एउटा रेष्टुरेण्टमा काम गर्छन् । म्यान्मारको मोगोकबाट पाँच वर्षअघि थाइल्याण्ड आएका उनी आफूले नेपाली भाषा मन्दिरमा सिकेको सुनाउँछन् ।

नेपाली गीत नसुनी बस्नै सक्दैनन् रे । ‘नेपाली गाना सुन्दा साह्रै रमाइलो लाग्छ क्या ! मचाहिँ विष्णु माझीको प्रशंसक हुँ, फेरि । उनका लोक गीत सधैं सुन्छु । नेपाली गीत आफ्नै लयमा बग्छन्,’ म्यान्माली नेपाली श्यामबहादुर भन्छन् । 

नेपालबारे चासो राख्छन् तर आजसम्म नेपाल पुगेका छैनन् । एकपटक नेपाल घुम्ने हुटहुटी बोकेका छन्् । ‘नेपाल जाने हो, हजुर । अलिअलि पैसा जम्मा गरेर एकबारको जुनीमा नेपाल घुम्ने हो,’ उनले भने । 

श्यामबहादुर बिदाइपूर्व विष्णु माझीको एउटा लोकगीत बजाउँछन्–

छिपछिपे पानीमा लेउ
माया के हो पाइन भेउ
कहाँ टुप्पो कहाँ छेउ...

थाई नेपालीहरू नेपाली संगीतमै रमाउँछन् । नेपाली गीत गाएरै नाचगान गर्छन् । हप्तौँसम्म तीज मनाउँछन् । 

पर्यटकहरूले घेरिएको ‘बैंकक–पटाया–फुकेट’मा हजारौं ‘नेपाली कथा’ छन् । तर थाई मुस्कानमा लुकेका छन् । सडकदेखि समुन्द्रसम्म । मन्दिरदेखि मार्केटसम्म, कम्पनीदेखि घरसम्म । कतिपय नेपाली आफैंले व्यापार गर्छन् । ट्याक्सी चलाउँछन् । सडकमा खाना बेच्छन् । सानातिना सटर खोलेका छन् । घर–जग्गाको कारोबारमा जमेका छन् । महाजनको घरमा काम गर्छन् । कतिपय थाई विद्यालयमा पढाउँछन् । उद्योग, कलकारखानासम्मै पुगेका छन् । दिनरात केही नभनी काम गर्छन् । आकाशे रेल वा गाडी चढेर कोठा पुग्छन् । थकित हुन्छन्, सुत्छन् । एकैछिन आँखा चिम्लिन्छन्, थकाइ मेट्छन् । अनि एकाबिहानै जुरुक्क उठेर काममा दौडिहाल्छन् । 

थाइल्याण्डमा नेपाली भाषीहरूको यकिन तथ्यांक छैन । तर एउटा विशाल देशमा जातीय अस्तित्वको जगेर्ना गर्दैछन् । बर्सेनि नेपालबाट कलाकार बोलाएर सांस्कृतिक उत्सवमा रमाउँछन् । हप्ता दिनसम्म तीज र तिहार मनाउँछन् ।

भरिभराउ नेपाली

मोगोकका प्रकाश कार्की आफूलाई भाग्यमानी ठान्छन् । उनी जहाँ पुग्छन्, नेपाली नै भेट्छन् । सुखुम्भित–२२ को एउटा भारतीय रेष्टुरेण्टमा काम गर्छन् । बैंककप्रति आभारी छन् । बसाइ राम्रो छ । ९ वर्षअघि काम खोज्दै थाइल्याण्ड आएका हुन् । ‘नेपालीहरू इमान्दार छन् । काम भनेपछि हुरुक्कै हुन्छन् । आफ्नै जस्तो ठान्छन् । बिहानदेखि रातिसम्म खटिएर काम गर्छन् । भारतीय वा थाईभन्दा थोरै पैसामा धेरै जना अटाउँछन्,’ प्रकाशले भने । 

नेपाली छरिएर बसेका छन् । बैंकक, फुकेट, मेसाई, पटाया, चियाङमाई, होहिन र कसोमोईलगायत शहरमा नेपाली वंशजका थाई नेपाली छन् । नेपाली पहिचान खोज्दै भौंतारिन्छन् । नेपाली पहिचानको कागजपत्र माग्दै दूतावाससम्म पुग्छन् । 

नेपाल सरकारको समयमै ध्यान नपुग्दा लाखौं नेपालीले पहिचान गुमाउनुपरेको गैरआवासीय नेपाली संघ थाइल्याण्डका उपाध्यक्ष कान्छा गुरुङ ‘गाबो’को गुनासो छ । सरकारले थाई नेपालीहरूलाई तत्कालै पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) परिचयपत्र दिनुपर्ने माग उठिरहेको बताउँछन् । ‘वर्षाैंअघि प्रवासिएका नेपालीहरूले मौलिक कला–संस्कृति जोगाउन ठूलो भूमिका खेलेका छन् । नेपालभन्दा टाढा भए पनि नेपाली भाषा र संस्कार भुलेका छैनन्,’ गाबोले भने, ‘नेपाली पहिचानको कुरा जोडतोडले उठाइरहेका छौँ । थाई नेपाली र बर्मेली नेपालीलाई एनआरएनमार्फत् नेपालसम्म जोडिरहेका छौँ ।’
 

टिप्पणीहरू