झ्यालखानाबाट भागेका कैदीको जंगलमा बास
-अञ्जनकुमार
‘लिमा वान लिमा वान चार्ली फाइभ, दुई कैदी फरार हजुर,’ निन्द्रामा परेका प्रहरीले लिमा वान जर्याकजुरुक उठेर लिमा टु, थ्रीलाई एलर्ट गराए । तत्काल जिल्ला प्रहरी कार्यालयबाट लगभग एक किलोमीटरको दूरीमा रहेको कारागार मुभ गरे ।
कारागारमा सुरक्षा इन्चार्ज थिए वरिष्ठ सई मनोज थेबे । पोष्ट ड्युटीमा थिए सहायक हवल्दार असिम जिसी । कारागारको थुनुवा कोठाबाट टिनको छानो उधारेपछि पर्खाल नाघेर अस्ति राति २ बजेतिर फरार भएका दुई कैदीमध्ये एक फेला परे ।
अघिल्लो वर्ष जेठ १ गते पराजुली थरकी ७० वर्षीया एकल वृद्धालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मध्यनेपाल–४, दुईपिप्ले तिलाहार चोकका २७ वर्षका विनोद विक हिजो बिहान ११ बजेतिर पक्राउ परेका हुन् । उनलाई सोही वर्ष जेठ २४ गते जिल्ला अदालत लमजुङले जबरजस्ती करणी र डाँकाचोरी मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरेको १० महिनापछि गत चैत १ गते जबर्जस्ती करणीमा चार वर्ष कैद र चार लाख जरिवाना र डाँकाचोरीमा ४५ दिन कैद र ७५ सय जरिवाना तोकिदिएको थियो ।
तीन महिना नपुग्दै अरु कैदीबन्दी र प्रहरी मस्त निदाएको मौका पारेर फरार भएका दुई कैदीमध्ये विक हिजो बिहान पक्राउ परेका हुन् । अस्ति राति अर्का कैदी चन्द्रबहादुर गुरुङ पनि विकसँगै भागेका थिए ।
साबिक सिर्दीखोला गाविस हाल चुम्नुब्र्री गाउँपालिका–२, घट्टेखोला घरभई पोखरा महानगरपालिका–१६ बस्दै आएका ३७ वर्षीय गुरूङ गत वैशाख ६ गते प्रेमिका केशुमाया थापासँगै दोर्दी गाउँपालिका–४ बाट पक्राउ परेका हुन् । मनिका गुरुङको जाहेरीले ठगी मुद्दामा पक्राउ परेका उनलाई धरौटीमा छाड्न तीन लाख माग गरिएपनि बुझाउन नसकेपछि वैशाख ३१ गते कारागार चलान गरिएको बताइन्छ ।
प्रहरीले समेत निकै चलाख ठानेको गुरुङको उक्साहटमा परेर भागेका विकलाई बेसीशहर–३ बोहराबेसी पुगेपछि आफूसँग पैसा भएकाले खानेकुरा लिएर आउँछु बस्दै गर्नु भनेर उनैले छाडेका थिए । गुरुङ नआएपछि विक त्यहाँबाट चिसापानीको जंगलतिर लागेको बतान्इछ ।
विक पक्राउ परेको तर गुरुङ भागेपछि थप तनावमा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरीहरुले गुरुङको खोजी कार्य तीब्र पारे । उनी हिजै सदरमुकामको चिप्लेटी भन्ने स्थानमा लुकेर बसेको अवस्थामा फेला परेका हुन् ।
सोही कारागारबाट गत वर्ष नाइके नारायण परियार फरार भएका थिए । जीर्ण कारागार र खचाखच कैदी बन्दीका कारणपनि जिल्ला कारागार लमजुङ असुरक्षित बन्दै गएको हो ।
टिप्पणीहरू