ललिताले पक्रेको ड्राइभरी लाइन

ललिताले पक्रेको ड्राइभरी लाइन

-ईश्वरी राई (इशु)

रामेछाप रामपुरकी ३१ वर्षीया ललिता तामाङले टेम्पो चलाउन थालेको १३ वर्ष भयो । हाल काठमाडौँ, सिनामंगल बस्ने उनी १५ घण्टा टेम्पो गुडाएरै दिन बिताउँछिन् । बिहान ५:३० बजेदेखि बेलुका ८:३० बजेसम्म यसैमा बित्छ । सरदर दिनको ४५ सय कमाउने उनी टेम्पो मालिकलाई ३३ सय ६० रुपैयाँ बुझाउने गर्छिन् । दिनभरि टेम्पो हाँक्ने उनी साहुबाट मासिक १४ हजार लिने गर्छिन् । 

‘टेम्पो साहुले टिपअनुसार पैसा लिनुहुन्छ । म दिनमा ८ टिप काम गर्छु । त्यसैले साहुलाई ३३ सय ६० बुझाउने गरेकी छु’, उनी सुनाउँछिन् । शुरुका दिनमा टेम्पो चलाउँदाको संघर्ष सम्झँदै भन्छिन्, ‘टेम्पो सिक्नका लागि म धेरै जनाको अगाडि झुकेकी थिएँ । शुरू–शुरूमा सरर टेम्पो गुडाउँदा हवाइजहाज नै उडाएजस्तो लाग्यो’, हाँस्दै भनिन् ।

घरको आर्थिक स्थिति कमजोर भएका कारण ०५८ सालमा शहर पस्न बाध्य भइन् । बाबुआमासहित १२ जनाको परिवार । त्यसैले पाँच कक्षा पढ्दै गरेकी माइली छोरी उनी घाँस काट्न जान्छु भन्दै ५ सय रुपैयाँ बोकेर काठमाडौं भागेकी थिइन् ।

२१ वर्षअघि रामेछापबाट १५० रुपैयाँ गाडी भाडा तिरेर राजधानी आएको बताउँदै थपिन्, ‘मेरो बाख्रा पेवा थियो, त्यसैलाई बेचेर काठमाडौं आएँ ।’ सानै उमेरमा काठमाडौँ आएकी उनी काकाको छोराको डेरा सुन्धारामा बस्न थालिन् ।

‘काठमाडौँ निकै रमाइलो लागेको थियो, तर गाडीहरू गन्हायो’, पहलो पटक काठमाडौं भित्रिएको अनुभव स्मरण गर्दै भनिन् । काम गर्ने उद्देश्यले काठमाडौं पसेकी उनले केही दिनमै बालुवा बोक्न थालिन् । जसबाट दिनको ५० रुपैयाँ कमाइन् । ‘मैले बालुवा बोक्ने काम ६ महिनासम्म गरेँ’, उनले भनिन्, ‘त्यहाँबाट कोठाभाडा ३०० तिर्न पुग्थ्यो ।’

बालुवा बोक्ने काम छोडेर घरघरमा खाना पकाउन थालिन् । ‘खाना पकाएर महिनाको हजार कमाउँथें’, उनले सुनाइन्, ‘एउटा घरमा बसेरै खाना पकाउने क्रममा मलाई ९ कक्षासम्म पढाइदिनुभयो ।’

२ वर्ष खाना पकाएपछि म्यानपावरमा सरसफाइ र चिया–नास्ता बनाउन थालिन् । ‘मासिक ३५ सय दिनुहुन्थ्यो’, उनले भनिन् । वर्ष दिनपछि बौद्ध चोकमा उनको अर्को काम थियो– गाडी ‘पार्किङ’ मा ‘सेक्युरिटी गार्ड’ बस्ने । 

‘त्यसबेला मेरो डेरा नारायणथान र काम बौद्धमा थियो’, विगत सम्झिइन्, डेढ वर्षपछि लगनखेलको ‘ज्योति विकास बैंक’ मा ‘सेक्युरिटी गार्ड’ को काम गर्न थालिन् । ‘चार हजार तलब दिइन्थ्यो’, उनी सुनाउँछिन्, ‘त्यो एक वर्षपछि काम पनि छाडेँ ।’

फेरि धापाखेलको ‘कृषि विकास बैंक’ मा काम गरिन् । र ९ महिना मात्र टिकिन् । ‘त्यहाँबाट ५४ हजार कमाएँ’, उनले भनिन् । त्यसपछि गार्डको काम छाडेर रिङरोडमा सहचालकको काम गर्न थालिन् । बसको ढोकामा उभिएर दिनमा ३०० कमाउँथिन् ।

सहचालक बनेर चलाखी गर्न सकियो भने पैसा कमाइने बताउने उनी भन्छिन्, ‘खलासी काम गर्ने मान्छेले अलि धेरै चलाखी गरेर पैसा कमाउने रहिछ, तर मैले त्यस्तो गर्न जानिनँ । त्यसैले पैसा पनि कमाइनँ ।’ ललिता एक वर्षपछि चालक भइन् रिङरोडमै ‘माइक्रो’ बस चलाउन थालिन् । एक महिनासम्म तलबबिनै गाडी चलाइन् । २ वर्षपछि टेम्पो चलाउन शुरू गरिन् ।

टिप्पणीहरू