आलु–प्याजमा भ्याट : बिचौलियाको मस्ती, सर्वसाधारणलाई सास्ती
सरकारले बजेटमार्फत कृषिजन्य उपज आयातमा १३ प्रतिशत कर लगाएसँगै आलु र प्याजको भाउ आकासिएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यसअघि दिइएको छुट खारेज गरेका हुन् । सँगसँगै बजेटमा एक सय ७० वस्तुको आयातमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेपछि आलु र प्याज महंगिएको हो ।
हिजोआज भारतबाट प्याज र आलुको आयात ठप्प भएको छ । आयातकर्ता व्यवसायीले आलु र प्याजमा ९ प्रतिशत कृषि सेवा शुल्क र अग्रिम आयकर ५ प्रतिशत गरी १४ प्रतिशत कर भुक्तानी गर्दै आएका थिए । तर, थप १३ प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने भएपछि उनीहरुले आलु र प्याजको आयात रोकेका हुन् । यसले अहिले बजारमा कालोबजारी ह्वात्तै बढेको छ ।
उपभोक्ता पहिलेभन्दा दोब्बर मूल्य तिरेर आलु र प्याज खरिद गर्न बाध्य भएका छन् । उनीहरुको भान्छा दिन प्रतिदिन महंगो भएको छ । सरकारको यो कदम गरिबमारा भएको जनाउँदै सदनदेखि सडकसम्म चर्को विरोध भइरहेको छ ।
काठमाडौँ उपत्यकाभित्रका अधिकांश किराना पसलमा हिजोआज प्याजको अधिकतम मूल्य एक सय ४० रुपैयाँ किलो र आलु धार्नीको दुई सयबढी रुपैयाँ पुगेको बताइन्छ । बजेट अघिसम्म प्याज प्रतिकिलो ४५ रुपैयाँ र आलु धार्नीको सय रुपैयाँ थियो ।
उपभोक्ता सुशीला कार्की आलु र प्याजको भाउ बढ्दा भान्छा महंगिएको बताउँछिन् । उनले दैनिक प्रयोगका लागि आवश्यक पर्ने आलु र प्याजकै मूल्य हवात्तै बढेपछि सर्वसाधारण मारमा परेको सुनाइन् ।
‘सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने भन्दै कृषिजन्य उपजको आयातमा भन्सार शुल्क लगाउने घोषणा गर्यो । तर, कृषिमा आत्मनिर्भर नै नभई हचुवाको भरमा गरिएका यस्ता निर्णयले उपभोक्ता समस्यामा परेका छन्,’ उनले भनिन् ।
‘पहिल्यै बजारमा महंगी व्याप्त थियो । महंगीका कारण अधिकांश जनता आलु, प्याजकै भरमा छाक टार्दै आएका थिए । तर, अहिले उनीहरु भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ,’ उनले थपिन्, ‘मैले सरकारको निर्णयको विरोध गरेको होइन । तर, कृषिमा आत्मनिर्भर नभई सोचविचार नगरी गरिएका यस्ता निर्णयले उपभोक्ता ठगिनु बाहेक अरु केही उपलब्धी हुँदैन ।’ कार्कीले तत्काल उक्त निर्णय सच्याउनुपर्ने माग राख्दै सरकारले विलासिता वस्तुको आयातमा भन्सार शुल्क लगाउन आवश्यक रहेको धारणा राखेकी छन् ।
कालीमाटी तरकारी तथा फलफूल विकास समितिको तथ्यांकअनुसार मुलुक प्याज आयातमा निर्भर हुनैपर्ने अवस्था छ । कालीमाटी बजारमा भित्रिने प्याजमध्ये ९९ प्रतिशत भारतबाट आउने गरेको छ । गत आर्थिक वर्ष मुलुकमा १५ करोड ४४ लाख ५८ हजार मेट्रिक टन बराबरको ५ अर्ब ६९ करोड रुपैयाँको प्याज आयात भएको थियो । सोही अवधिमा २ करोड ४४ लाख मेट्रिक टन बराबरको ११ करोड ७० लाख रुपैयाँको आलु भारतबाट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
यस्तै, कालीमाटीको तरकारी बजारमा दैनिक ८० देखि सय टनको हाराहारीमा प्याज र एक सय ५० टनको हाराहारीमा आलु भित्रिने गरेका थियो । तर, अहिले व्यवसायीहरुले भारतबाट आयात ठप्प पारेपछि मुलुकका विभिन्न जिल्लाबाट दैनिक एक दुई टन प्याज र ९० देखि एक सय टनको हाराहारीमा आलु भित्रिने गरेको बताइएको छ ।
कालीमाटी थोक व्यापार संघका अध्यक्ष गीताप्रसाद आचार्य जेठ २१ गतेदेखि आधिकारिक रुपमा बजारमा प्याज नआएकाले बिचौलियाले फाइदा उठाएको दाबी गर्छन् । आयातकर्ता व्यवसायीले पछिल्लो १५ दिनमा प्याज र आलुमा १३ प्रतिशत भ्याट देखाउँदै आयात ठप्प पारेपछि यसमा कालोबजारी सुरु भएको हो ।
टिप्पणीहरू