बालेनबाहेक अरू कोही बस्दैनन् बागदरबारमा ?

बालेनबाहेक अरू कोही बस्दैनन् बागदरबारमा ? – लेखनाथ भण्डारी

आफ्नै आँगनमा राख झुपडी रची निन्दक
बिना सावन पानीले पार निर्मल जीवन ।

यो लेख बालेन साह अर्थात् काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको लागि मात्र हो । अनुकूल नहुँदा र रुचि नहुँदा अरूले नपढ्नुभए हुन्छ । तर यो लेख जस्ताको त्यस्तै बालेनलाई भने फरवार्ड गरिदिनुभए वा पहुँच हुनेहरूले पढेर नै सुनाइदिनुभए लेखको उद्देश्य पूरा हुनेछ ।

लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनापछि सन् २०१७ मा सम्पन्न स्थानीय निकायको पहिलो निर्वाचनका क्रममा आफ्नो मताधिकारसमेत प्रयोग गर्न नसकेका वा नभ्याएका बालेन साहले दोस्रो निर्वाचनमा भने आफ्नो सहभागिता रहने र त्यो पनि उम्मेदवारका रूपमा नै रहने उद्घोष गरेका थिए । तर, त्यसपछिका पाँच वर्ष उनको छायाँ पनि काठमाण्डुमा समकालीन राजनीतिक पार्टीहरूले देख्नु, भोग्नु परेको थिएन । उनी यसरी देखापर्छन् अनि यस्तो परिणाम ल्याउँछन् भनेर नेपालको कुनै पनि राजनीति वा निर्वाचनका सम्बन्धमा ज्ञान राख्ने विश्लेषकहरूले अनुमान गरेका थिएनन् ।

निर्वाचन प्रक्रयामा सहभागी हुँदै गरेको जुनसुकै उम्मेदवार र तिनका समर्थकले हामी जित्छौँ भनेर दाबी गर्नु स्वाभाविक नै हो । निर्वाचन परिणाम आफ्नै पक्षमा आउने मत परिणामको संख्यासहित साह पक्षको दाबी र प्रचारको आक्रामक शैली त यस्तो पनि थियो कि मतदानपछि पनि मतगणना शुरु नहुँदैदेखि बालेनको अग्रता भनेर सामाजिक सञ्जाल र केही अनलाइन समाचारमा प्रचार शुरू भएको थियो । हारजितको सन्दर्भ वा दाबी जे–जस्तो जोसुकैको हुँदा पनि सामान्य नै मानिएला तर बालेन साहप्रति उनका समर्थकको अन्धभक्ति र उनको धृतराष्ट्र चरित्रचाहिँ त्यसैबेलादेखि देखा पर्न थालेको हो । मतगणना नहुँदै आफ्नो अग्रता भएको समाचार र प्रचारबारे उनले मुख खोल्नु सायद आवश्यक नै ठानेनन् । एकपक्षीय प्रचारको गोयबल्स शैली सूत्रले मतपेटिकामा जम्मा भैसकेको जनमतको अपमान गर्छ वा गर्नुहुन्न भन्ने उनलाई लागेन यद्यपि अन्तिम परिणाम उनैको पोल्टामा परेको किन नहोस् !

बालेन साहलाई महानगरबासीका प्राथमिक आवश्यकता र आफ्नो सीमाबारे थाहै छैन भनेर भन्न वा आरोप लगाउनु हुँदैन । तर, उनी एक मात्र यो महानगरपालिकाको प्रमुखका रूपमा सर्वज्ञ नै हुन् र उनमा भने जादुको छडी छ भनेर प्रचार गर्नु र त्यसप्रकारका कुनै पनि प्रचारबारे मुख नखोल्नु उनको धृतराष्ट्र चरित्र हो । मेयरका रूपमा बालेन साह महानगरपालिका सम्पूर्ण जनप्रतिनिधि बराबर एक जना मात्र हुन् । तर, निर्वाचन परिणामयताका दिनमा यस्तो देखिन्छ मानौं काठमाण्डु महानगरपालिकामा नगरप्रमुख बालेन साहबाहेक अरु कोही जनप्रतिनिधि नै छैनन् !

आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा जहानियाँ राणा शासनको अन्त्य भएको सात दशक बितिसकेको छ । सक्रिय राजतन्त्रपछिको बहुदलीय प्रजातन्त्रका तीन दशक नाघिसकेको छ भने राजतन्त्रको समूल अन्त्यपछिका दुई दशक नजिक छौं हामी । हिजोको पुरातन वा सामन्ती व्यवस्थापछिको प्रजातन्त्र, बहुदल र गणतन्त्र नेपालमा राज्यका कुनै पनि निकायमा कसैको पनि एकल नेतृत्वको दाबी वा अवशेषको संवैधानिक कल्पना नगरिएको त छँदैछ, यो कल्पना जनचाहना र जनताको बलिदानविरुद्ध पनि हुन्छ । दलीय प्रतिनिधित्व, मित्रवत् प्रतिस्पर्धा, पारदर्शिता र प्रजातान्त्रिक आचरण भनेको कसैको एकल नायकत्व होइन । राज्यका सबै निकायका सबै प्रतिनिधिको समान सहभागिता, भूमिका र सम्मानजनक हैसियत तथा सामूहिक नायकत्व वा नेतृत्व अबको सामाजिक र राज्य व्यवस्थाको परिकल्पना हो । यसमा कसैको निगाह, आदेश, हुकुम आदिको मात्र होइन, सामान्य अवस्थामा निर्देशन पनि स्वाभाविक नहुन सक्छ । नेतृत्वमा रहने कुनै व्यक्तिले आफ्नो स्वभाव र व्यवहारले समग्र संस्थाको गतिविधिमा संस्थाका अन्य सदस्यको भूमिका कस्तो छ ? संस्थाका गतिविधिप्रति तिनका सबै सदस्यले अपनत्व लिएका छन् कि छैनन् ? संस्थाका प्रमुखहरूको बोली र व्यवहारलाई बाँकी सदस्यले सम्मान महसुस गरिरहेका छन् कि छैनन् ? कामको जस अपजसको अपनत्व र जवाफदेहिता महसुस गरिरहेका छन् कि छैनन् ? यो सक्षम नेतृत्वले हमेशा ख्याल नगरे राम्रा कामको अपनत्व पनि संस्थाका अन्य सदस्यले महसुस गर्दैनन् भने नराम्रा कामको परिणामप्रति जवाफदेही हुने त सम्भावना नै रहँदैन ।

काठमाण्डु महानगरपालिका प्रमख बालेन साहका पछिल्ला गतिविधि सामूहिक नेतृत्व र जवाफदेहिताभन्दा ज्यादा व्यक्तिगत रुचि र व्यक्तिगत महत्वाकांक्षा केन्द्रित महसुस हुन थालेका छन् । स्वयं उनी भने व्यक्तिगत रूपमा आफूलाई कुन रूपमा प्रस्तुत गर्न रुचाउँछन् ? तर उनका नाममा सार्वजनिक भएका समाचार र सामाजिक सञ्जालको प्रचारले महानगर प्रमुख बालेनका गतिविधि विधिसम्मत सामूहिक निर्णयका आधारमा होइन, उनको रुचि र उनकै प्राथमिकतामा मात्र हुने देखिन्छ । उदाहरण अनेक हुन सक्छन् र सज्जनलाई इशारा नै काफी हुन्छ–

– बालेन साह सुन्धारा पुगेर गरे सुनको धाराबाट पानी झार्ने घोषणा ।

– बालेन साह र शेरबहादुर देउवाको आर्यघाटमा एक्कासी जम्काभेट, मेयरले प्रधानमन्त्रीलाई बालै दिएनन् ।

– मेयर बालेन साहको चमत्कार युरोपजस्तै काठमाडौँ – बालेनको इञ्जिनियरिङ कलाले दुनियाँ चकित ।

– मोदीलाई मेयर बालेनको ठाडो काउण्टरः भारतमा ठूलो तरंग ! बालुवाटार र सिंहदरवारमा हल्लिखल्ली ।

– राजनीतिक दलभन्दा पनि क्रान्तिकारी बालेन ।

– नयाँ–पुराना सबै नेता चोर हुन्, कसैलाई देशको माया छैनः बालेन साह

गुगल सर्चमा बालेन साह टाइप गरेर हेर्दा देखापरेका यी केही सामान्य उदाहरण हुन् तर अघिपछि क्यामेरा बोकेर कुदिरहेका युट्यबरहरूले गरेको बालेन साहको प्रशंसा र प्रशस्ती देख्दा लाग्छ, काठमाण्डु महानगरपालिका उनको निजी कम्पनी हो, त्यहाँ अरू कसैको साझेदारी वा शेयर नै छैन । उनको महानताको महिमागान, उनका चमत्कारको चर्चा, उनका तिलस्मी गतिविधिको प्रशस्ती पढ्दा, सुन्दा र हेर्दा काठमाण्डू महानगरपालिका त रित्तो नै देखिन्छ भने लाज लाग्नुपर्ने हुन्छ– उनैलाई । प्रशंसकको घेरा र प्रशंसाको बाढी रोक्न नसके आगामी पाँच वर्षमा यही प्रशंसक र प्रशंसाको घेराले बगाउने खतरा पनि त छ ! नेपालको राजनीति र राज्य सञ्चालनमा युवा नेतृत्व र पुस्तान्तरणको आवश्यकता देखिएको बेला बालेन साह वा हर्क साम्पाङ्हरू प्रशंसक र प्रशंसाको एकोहोरो बाढीले असमयमै नबगुन् भनेर उनीहरूकै पक्षमा गाएको तिनकै महिमा गान हो यो पनि ।

जवाफदेहिता र पारदर्शिता भनेको सम्हालिनु र सम्हाल्नु पनि हो । अरुका कमीकमजोरीविरुद्ध औंला उठाउन र खेल्न जति सजिलो हुन्छ, तिनलाई सच्याउन र सम्हाल्नका लागि पनि असल नेतृत्वले भूमिका खेल्न सक्नुपर्छ । अरुलाई कमजोर देखाएर अगाडि दौडिँदा जति टाढा पुगे पनि आफ्नो सामथ्र्य थाहा हुँदैन तर सबै सँगसँगै मिलेर दौडिँदा पछि परे पनि आफ्नो सामथ्र्य भने थाहा हुन्छ । महानगरपालिकाका सबै गतिविधि निर्वाचित सबै जनप्रतिनिधिको सामूहिक चाहना, भावना र समझदारीको परिणाम हुन् । त्यसैले नगरप्रमुख साहले आफ्ना शुभेच्छुकहरूलाई राम्रो कामको लागि एकलौटी प्रशंसा त गर्नै भएन, नराम्रा वा कमीकमजोरी औंल्याउन र सच्याउन अनुरोध गर्नु राम्रो हुन्छ । माथि लेखको शुरुमा उल्लेख नीति श्लोकले भनेको छ– प्रशंसकको घेरामा होइन कि आफ्ना आलोचकलाई घरैमा नजिकै राख, तिनबाट सित्तैमा कमीकमजोरी पत्ता लगाऊ र आफ्नो जीवनलाई सफल वा सार्थक बनाऊ ।

त्यसैले नीतिहरूमा भनिन्छ– अति सर्वत्र वर्जयेत् ! 
 

टिप्पणीहरू