सेनामा उचाल्ने–पछार्ने सुरसार
जागिर जाने मुखमा पुग्दा जागिर लम्ब्याउने खेती नेपाली सेनामा पनि मौलाउँदै छ । निजामती सेवाका कर्मचारीको सेवा, शर्तमाथि संशोधन गर्दै उमेरहद बढाउने तयारी भइरहँदा सेनाभित्र पनि त्यस्तो अभ्यासका निम्ति कान फुक्न थालिएको हो ।
निजामतीतर्फ जस्तै सेनामा पनि ३ तारे जर्नेलको उमेर हद ६० वर्ष बनाउनेबारे सरोजप्रताप राणा र सीताराम खड्काले सरसल्लाह र राजनीतिक लबिइङ गर्न थालेको प्रधानमन्त्री कार्यालयस्थित श्रोतले बतायो । सेनामा ३ तारेका निम्ति ५८ वर्षे उमेरहद छ भने प्रधानसेनापतिको हकमा ६१ वर्षको हद राखिएको छ । प्रधानसेनापतिभन्दा मुनिका जर्नेलको उमेर हद बढाउन छिमेकी देशको टावर खडा गरिएको गाइँगुइँ जंगी अड्डामा समेत चल्न थालेको छ । उमेर हद बढेन भने यी दुवै एक–डेढ महिनाको अन्तरमा घर जान्छन् ।
त्यसो त तीनतारे जर्नेलमा यसअघि बालानन्द शर्मा, गोविन्द गुरुङहरुको पनि १ वर्ष म्याद थपिएको थियो । सरोजप्रतापको थपिएन भने ताराध्वज पाण्डे आगामी प्रधानसेनापति हुनेछन् भने थपिएको अवस्थामा अशोक सिग्देलको दिन खुल्ने सम्भावना रहन्छ । अर्थात्, थपिँदा एउटाको, नथपिँदा अर्कोको भाग्य बल्दैछ । सीतारामको थपिएन भने उनी केही समयका लागि दोस्रो हैसियतमा रहन्छन् र खेल्ने मौका पाउँछन् ।
यदि सीतारामले भित्रबाहिर अलि बढी नै बल गरेमा प्रधानसेनापतिलाई कुनै न कुनै आरोप–प्रत्यारोपसहित खुलेआम उत्रिने अवस्था हुन्छ । अहिलेका प्रधानसेनापतिले कोरियन हतियार रोक्ने हिम्मत अन्तिममा हारेका छन् । पूर्णचन्द्रले गरेको कमाण्ड अवधारणा खारेजीलगायत अनेकन महत्वाकांक्षी काममा ब्रेक हाने पनि हतियारको काम रोक्न भने सफल भएनन् । सीतारामले यस्ता कुरा उछालेर अप्ठेरो नपार्लान् भन्न सकिन्न । उनी दोलखा, रामेछापबाट आएर कुस्त कमाएका तर बाहिर नदेखाउने जर्नेलका रुपमा चिनिन्छन् ।
हेटौडा पृतनाका जर्नेल होमनाथ दवाडी साउनमा घर जाँदैछन् । त्यसपछि नगरकोट शिक्षालयका सहदेव खड्का असोजमा, सरोजप्रताप कात्तिकमा, सीताराम पुसमा र हिरालाल जोशी वैशाखमा घर गएपछि गणेश श्रेष्ठ, विष्णु राउत, सन्तोषबल्लभ पौडेल, पवन घिमिरे दुई तारेको लाइनमा छन् ।
प्रेम शाहीलाई कारबाही गर्ने मुडमा प्रधानसेनापति थिएनन् । मुद्दा हाल्दै नहिँड भनेको नमानेपछि रिसाएका हुन् । अहिले प्राड विवाकले उनीमाथिको सजायँ पुगेन भनेर सैनिक विशेष अदालत गुहारेको छ । म्याद थप्नका लागि पैसा बोकेर हिँड्दा पनि प्रभुरामले अनन्त कार्कीलाई कारवाही नगरी छोडिदिएकै हुन् तर म्याद भने थपेनन् ।
अर्कातिर, सेनामा हुनेवाला गणपतिका लागि चलखेल शुरु भएको छ । को–को, कहाँ–कहाँ जाने टुंगो छैन । पहिलाको सिष्टमले काम गर्न छोडेको छ । राम्रोबाट राम्रोमै जाने थुप्रै छन् । सवारी परिवहन (एमटी) जस्तो ठाउँमा बढी दौडधुप चल्छ । पावर लगाउनेले घरपायकै पाउने भए । अफिसरको पोस्टिङ इन्टेलिजेन्सबाहेक २–२ वर्षमा हुने हो । तर, जहाँ अनुकूल हुन्छ, त्यहीँको त्यहीँ राख्ने गरिएको छ । पूर्व र मध्यपृतनासहितका निकायमा त्यस्तो काम मज्जैले भएको छ ।
यसरी पोस्टिङ खुल्ने बेला कोशेलीका लागि सेनाभित्र कतिसम्म हुन्छ भन्ने कुरा बलाध्यक्ष सीताराम खड्काको चालामालाबाट बुझ्न सकिन्छ । उनको अध्यक्षतामा बोर्ड बस्छ र दोस्रो हैसियतका बलाधिकृत सरोजप्रताप राणाले ओके गर्छन् । जो अफिसर जुन पृतनाअन्तर्गत छ, त्यहीअन्तर्गतको गणमा पठाउने प्रचलन हो । मातृगणमा पठाउनु पहिलो प्राथमिकतामा पर्छ । अहिलेका बलाध्यक्षले चाहँदा इञ्जिनियरको भए त्यसैलाई प्राथमिकता दिइन्छ । इञ्जिनियरको सेकेण्ड लप्टनदेखि जर्नेलसम्मै पैसा खाने स्थायी र घोषित नियमै छ । कालिबक्स, कालिप्रसाद, कालिभञ्जनजस्ता इञ्जिनियरिङ पल्टनहरुमा त्यस्तो हुने गरेको हो । भक्तपुर स्कुलमा सरोजप्रताप राणाका मान्छे नारायण थापा छन् । छाउनीमा उनीहरुको घर सँगै हो । एमटीमा उनकै मान्छे छन् । जंगी असबाब खानामा सम्भारले सामान पास गराउँदा पैसाकै चलखेल हुन्छ । सीतारामले कल्याणकारीको काम गरेको भनेर ठेकेदारबाट खाने गरेको आरोपै छ ।
टिप्पणीहरू