सहकारी पीडितहरुको साझा स्वर ‘हामीलाई न्याय चाहियो’

सहकारी पीडितहरुको साझा स्वर ‘हामीलाई न्याय चाहियो’

हिजोआज राजधानी काठमाडौंमा पनि उखरमाउलो गर्मी छ । घरभित्र बस्दासमेत गर्मीको हपहपीले धेरैलाई असहज बनाएको छ । तर राजधानीको माइतीघर मण्डलामा धर्ना बसेका सहकारी पीडितहरुलाई चर्को घामले कुनै फरक पारेको देखिँदैन । उनीहरुलाई आफूले दुःख गरेर कमाएको पैसा फिर्ता आउँछ कि आउँदैन भन्ने चिन्ताले मात्र सताएको छ । 

झण्डै तीन सातादेखि सहकारी पीडितहरुले निरन्तर धर्ना दिइरहेका छन् । सहकारीले बिल्लीबाठ बनाइदिएपछि घरव्यवहार बिग्रिएको भन्दै पीडितहरुले सरकारसँग हारगुहार गरिरहेका छन् । त्यहाँ जम्मा भएका सबै पीडितको एकै खालको कथाव्यथा छ । उनीहरुले आफ्नो निक्षेप फिर्ता गरिदिन र सहकारी सञ्चालक समितिका सदस्यलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । 

सहकारीको कारणले घरभित्रै आन्तरिक द्वन्द्व मच्चिएको पीडितहरुको गुनासो छ । घर निकालासम्मको कुरा उठिसकेको भन्दै पीडित महिलाहरु सडकमा धरधरी रोइरहेका छन् । रातदिन नभनी सडकमा बस्दासमेत सरकारले बेवास्ता गरेकोमा दुःखेसो पोखिरहेका छन् । यतिखेर माइतीघरमा ४० भन्दा बढी सहकारी पीडितहरु छन् । 

मुलुकका प्रतिष्ठित सहकारीमा गनिएका देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, सिभिल सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था, नव संकल्प ऋण तथा बचत सहकारी संस्था लिमिटेड, ओरियन्टल सहकारी संस्था लिमिटेड, ईमेज बचत तथा ऋण सहकारी संस्था, गुडविल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडलगायत कैयौं सहकारी संस्थाका पीडितहरु न्यायको खोजीमा छन् । 

साझा रुपमा सम्पूर्ण पीडितको आवाज सरकारसमक्ष पुर्याउन सहकारी पीडित बचतकर्ता महासंघ, संघर्ष समिति पनि खोलिएको छ । उनीहरुले माइतीघरमा धर्ना बस्ने, माइकिङ गर्ने, सम्बन्धित निकाय गुहार्नेलगायत कार्य गरिरहेका छन् । १९ दिनदेखि घामपानीको बेपर्वाह गर्दै निरन्तर धर्ना दिँदापनि सरकारी निकायले उनीहरुको समस्या सुनिदिएको छैन ।

 

फुटपाथमा बसेर साग बेच्नेदेखि चिया पसल थापेर गुजारा गर्नेहरुको निक्षेप लिएर सहकारी सञ्चालकहरु फरार भएका छन् । पीडितहरु आफ्नो कामधन्दा छोडेर न्यायको माग गरिरहेका छन् । दिउँसो माइतीघरमा पाइला राख्ने ठाउँसमेत हुँदैन । सहकारी पीडितहरुले नै माइतीघर भरिने गरेको छ । राति भने पीडितहरु आलोपालो बस्ने गरेका छन् । 

‘मेरो त बिजोग भएको छ । भारी बोकेर कमाएको सम्पत्ति सबै सहकारीले खाइदियो । बुढेसकाललाई सहज हुन्छ भनेर अलिअलि बचत गरेको पैसा डुबेपछि मर्नुको विकल्प रहेन’, यो भनाई हो ओखलढुङ्गाका पेमाछिरी शेर्पाको । ७६ वर्षीय उनी यतिखेर भौतारिँदै सडकमा आएका छन् ।  

कपनको खरिबोटमा रहेको सुमो बचत तथा ऋण सहकारी संस्थाले २४ लाख रुपैयाँ खाइदिएपछि उनलाई ‘मर्नु न बाँच्नु’ भएको छ । भारतमा ‘कुल्ली’ काम गरेर कमाएको पैसा गुमेपछि उनलाई चिन्ताले साह्रै पिरोलेको छ । खुट्टा दुखाइबाट ग्रसित उनी टन्टलापुर घाममा माइतीघरमा आन्दोलनरत छन् । भएको अलिअलि रकम पनि सबै सहकारीका अध्यक्ष ज्ञानबहादुर लामा र कोषाध्यक्ष अनिता सापकोटाले कुम्ल्याएपछि घरभित्रै झगडा शुरु भएको उनी बताउँछन् । 

‘छोराछोरी बोल्दैनन्, श्रीमती र ममात्र छु । त्यसबाट आएको ब्याजले घरखर्च टार्दै आएका थियौं । अब त साँवा नै गुम्यो, कसरी घरखर्च चलाउने ? खुट्टा दुखेर हिँड्न सक्दिन । बेहोस भइरहन्छु । हामीले आन्दोलन गरेको यत्रो दिन भइसक्यो तर सरकारले सुनेको छैन । सहकारीका सञ्चालक फरार छन् । प्रहरीदेखि सहकारी विभाग, प्रदेशको सहकारी कार्यालय सबैतिर धाइसक्यौं । तर, कुनै समाधान निस्किएको छैन’, आँखाभरि आँशु पार्दै उनले भने । 

ताप्लेजुङ घर भई काठमाडौंको जोरपाटी बस्दै आएकी जेनिशा शेर्पाको पीडा पनि उस्तै छ । गएको डेढ वर्षदेखि उनले प्लसप्लस बचत तथा ऋण सहकारी संस्थामा बचत गर्दै आएकी थिइन् । खाजा घर सञ्चालन गर्ने उनले दैनिक एकदुई सय रुपैयाँ बचत गर्ने गरेकी थिइन् । आफ्नो पसल नजिकै भएकाले उनलाई सहकारी भाग्लाजस्तो लागेको थिएन । तर, विगत एक महिनादेखि उनी निकै तनावमा छिन् । 

सहकारीका अध्यक्ष र अन्य सञ्चालक भागेपछि उनको ‘रातको निद्रा र दिनको भोक’ हराएको छ । सहकारीमा उनको एक लाख ७८ हजार रुपैयाँ निक्षेप छ । उनलाई सहकारीको अध्यक्षको नामसमेत थाहा छैन । सहकारी भागिसकेपछि मात्र सञ्चालकको नाम दिपेन्द्र श्रेष्ठ भन्ने थाहा पाएको उनी बताउँछिन् । सहकारीका कारण घरमा दिनहुँ कलह हुन थालेपछि सडकमा आउन बाध्य भएको उनको गुनासो छ । 

‘हामी त सानो व्यवसाय गरेर खाने मान्छे हौं । बैंकमा राख्नका लागि एकचोटि धेरै पैसा हुँदैन । दिनमा एकदुई सय जम्मा गर्यौं भने खाँचो परेको बेलामा काम लाग्छ भनेर राख्यौं । अहिले त्यही पैसाले दुःख दिनसम्म दियो । आफ्नै पैसाका लागि चिसो भुँइमा आएर बस्नुपरेको छ’, उनले दुःखेसो पोखिन् ।

अर्की सहकारी पीडित हुन् मुना बस्नेत । सोलुखुम्बुकी मुनाको कोटेश्वरमा सानो चिया पसल छ । उनले त्यही चिया पसलबाट घरखर्च चलाउँदै आएकी छिन् । उनले छोराछोरीको शिक्षादीक्षाका लागि भनेर प्लसप्लस बचत तथा ऋण सहकारी संस्था र पिनाकल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा बचत गरेकी थिइन् ।

 

दुईटा सहकारीमा गरेर उनको छ लाख रुपैयाँ फसेको छ । सहकारीले दिएको पीडा सहन नसकेर आन्दोलनमा सहभागी भएको उनी बताउँछिन् । माइतीघरमा आएपछि मनलाई शान्त हुने उनको भनाइ छ । उनी पनि पसल बन्द गरेर आन्दोलनमा आएकी हुन् । ‘सानो बच्चालाई स्कुल छोडेर आएकी छु । चियापसल सञ्चालन गरेर राखेको पैसा डुबिहाल्यो । बच्चाको स्कुल फि तिर्न सकेकी छैन, घरभाडा त्यतिकै छ । अब गाउँ नै फर्किनुपर्छ जस्तो छ । यहाँ बस्नै नसकिने भो । छोराको भविष्य हेरेर काठमाडौं आएकी थिएँ, सबै चक्नाचुर भयो’, यति भन्दै गर्दा उनको आँखा रसाइसकेका थिए । 

विदेशमा बसेर कमाएको र पैतृक सम्पत्ति बेचेर ललितपुरको कुमारीपाटीस्थित गुडविल सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभमा एमबहादुर विष्टले बचत गरेका थिए । दक्षिण कोरिया, जापान, अमेरिकालगायत विभिन्न मुलुकमा दुःख गरेको र बाबुबाजेको सम्पत्ति बेचेर उनले उक्त सहकारीमा १० करोड ७१ लाख रुपैयाँ राखेका थिए । 

झापा घर भई भक्तपुरको सूर्यविनायक बस्दै आएका उनको परिवारका सबै सदस्य अमेरिकामा छन् । २०७६ सालदेखि उनले उक्त सहकारीसंग कारोबार गरेका थिए । सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ र जेनी श्रेष्ठसंग उनको पहिल्यैदेखि राम्रो चिनजान थियो । अध्यक्षकै घरमा पहिले भाडामा बसेको हुनाले उनी विश्वासमा परे । 

सोही सहकारीले उनीमाथि ठूलो विश्वासघात गरेको छ । सहकारीका अध्यक्ष दिवाकर प्रहरी हिरासतमा छन् भने श्रीमती जेनी छोराछोरीसहित फरार छिन् । उनका अनुसार करोडौं रुपैयाँ डुबेपछि घरका सदस्य उनीसँग बोल्न छाडेका छन् । सहकारीबाट पैसा फिर्ता आउँछ भन्ने अपेक्षा नभएको उल्लेख गर्दै उनले सरकारलाई पीडितहरुको समस्याप्रति चासो देखाउन आग्रह गरेका छन् । 

सहकारी पीडितहरुको समस्या समाधानार्थ प्रयासरत छौं : विभाग

सहकारी विभागले सहकारी पीडितहरुको समस्या समाधान गर्नका लागि निरन्तर प्रयास गरिरहेको दाबी गरेको छ । विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले अधिकारले दिएसम्मका कामहरु भइरहेको जनाए । उनका अनुसार सहकारी पीडित र सञ्चालक समितिबीच छलफल गराउने, भागेका सञ्चालकलाई पक्राउ गर्न सिआईबीलाई पत्राचार गर्ने, पैसा फिर्ता गर्न नसक्ने सहकारीलाई समस्याग्रस्त घोषणा गर्नेलगायतका कार्य विभागद्वारा भइरहेको छ । 

विभागमा सहकारीबाट ठगी भएको भन्दै उजुरी आउने क्रम ह्वात्तै बढेको उनको भनाइ छ । कुनै बेला दैनिक एक हजारसम्म उजुरी आउने गरेको उनले जानकारी दिए । सहकारीका सञ्चालकको सम्पत्ति बेचेर पनि बचतकर्ताको निक्षेप फिर्ता गर्ने भनि मञ्जुरीनामा गराउने कार्यसमेत विभागले गरिरहेको उपरजिष्ट्रार उपाध्यायले बताए ।

टिप्पणीहरू