देशप्रति गद्दारी गर्ने छुट कुन देशमा होला ?
– तीर्थ सिग्देल
चीनका एक जना प्राध्यापक डा. हुले भनेका रहेछन्, नेपाल सुनको कचौरा बोकेर भीख मागिरहेको छ । भारत र चीनजस्ता शक्तिसम्पन्न र विकसित अवस्थामा पुगेका ठूला देशको बीचमा रहेको म त्यही नेपालको नागरिक हुँ ।
भर्खरै चीन भ्रमण गरेर फर्किएको छु । अनि मेरो यात्रामा मिसिएकी अंग्रेजी नाम सिण्डी बताउने चिनियाँ विद्यार्थीले मलाई गरेको प्रश्नसम्झिरहेको छु । उनले सोधेकी थिइन्, तपाईं चीनबाट कस्तो अनुभव लिएर जाँदै हुनुहुन्छ ? मैले तत्काल उत्तर दिन सकिनँ । एकछिनपछि एकै शब्दमा भनेँ, ...अमेजिंग ।
चीनमा कमरेड माओले क्रान्ति गरिरहँदा हाम्रा पुर्खा पनि राणाशासनविरुद्ध भिड्दै थिए । भारतमा ब्रिटिश साम्राज्यविरुद्ध महात्मा गान्धीहरूले अंग्रेज छोडो अभियान चलाइरहेको त्यही समय नेपालले प्रजातान्त्रिक प्रणालीलाई अवलम्बन गरेको थियो । तर, खै किन हो ? त्यो व्यवस्था लामो समय टिकेन ।
बेलाबेला लाग्छ, राजनीतिक व्यवस्था परिवर्तन गरेर मात्र देशको अवस्था नफेरिने रहेछ । त्यसका लागि प्रतिबद्धतासँगै देश बनाउने सपना र योजना पनि चाहिँदो रहेछ । शायद हामीमा त्यही चिजको अभाव छ कि ? किन हामीले आफ्नो मुलुकको प्रणालीलाई स्थापित गर्न सकेनौं ?
हामी केही दिन व्यापारिक नगरी साँघाई बसाइलाई अल्पविराम लगाएर अर्को शहर ग्वाङ्झौतिरको यात्रामा थियौं । प्लेनमा मेरो सिट छेउ बसेका एक जना चिनियाँ भाइ यिन फिंगलिनले सोधे, के तपाईं नेपाली नागरिक हो ? मैले उत्तर दिनै परेन किनभने उनी मेरो पहिचानप्रति यति प्रष्ट भएरै प्रश्न गर्दै थिए । अनि उनले मेरो देश अति नै सुन्दर रहेको चर्चा गरे ।
म जानु अघिसम्म नेपाली बजारमा तातेको विषय थियो, नक्कली शरणार्थी प्रकरण । उतै पुगेपछि थाहा भयो, पूर्वगृहमन्त्री पक्राउ परेछन् । अलि पछि थाहा पाएँ, भुटानी नेता टेकनाथ रिजाल पनि त्यो काण्डमा मुछिएछन् । अनि फेरि सोचेँ, जब मानिसले आफ्नो मर्यादाको सीमा नाघ्छ, त्यसपछि हुने त यही नै हो । त्यसपछि मनमनै भनेँ, ...त्यसै केपी ओलीले नेपालीले चान्स पायो भने गरेर देखाउँछ भनेको होइन रहेछ ।
जब म नेपाल आइपुगें अनि संसद् अवरुद्ध भएको खबर सुनेँ । कारण खोज्दै जाँदा फेरि तिनै केपी ओलीले भनेको सम्झें, ...हो बा, नेपालीले चाह्यो भने सुनको जलहरीलाई पित्तलको बनाइदिन सक्छ । अरू त के कुरा !
अनि आजको विश्वमा चीनले गरेको प्रगतिको गाथाको रिभ्यू गर्न थालें, हामीसँगैका सहभागी श्रीलंकन मित्र चामिण्डा सामान्था पन्चिवान्दाराले मसँग गरेको कुराकानीलाई सम्झेर हेरें । उनले आफ्नो देशमा आर्थिक मन्दीको असरको कथा सुनाए । भन्दै थिए, ...जब देशको जिम्मा लिएका मान्छेहरू इमान्दार बन्दैनन् । त्यसपछि दुःख पाउने जनताले नै हो ।
जब देशले प्रगतिको शिखर चुम्छ, विकासका चरण पार गर्छ, त्यसपछि सभ्यताको ढोका खुल्छ, तब त्यस देशका नागरिकहरू पनि प्रगतिका साधक बन्छन् । मुलुकको प्रगति सरकार र त्यसका निकायको मात्र जिम्मेवारीको विषय होइन, जनताले पूरा गर्ने कर्तव्य पनि मुख्य हो ।
आफू झापावासी हुनुको नाताले भुटानी शरणार्थीका कथा, व्यथा राम्ररी थाहा पाउँछु । यतिसम्म कि लगातारजसो दश वर्षजति भुटानी मामलामा रिपोर्टिङ गरेको छु । तसर्थ यतिबेला देशको बेइज्जत हुनेगरी गृहमन्त्रीदेखि अरू मुख्य पदमा पुगेका मान्छेहरूले गरेका क्रियाकलापले शिर निहुरिन्छ । तिनै भुटानी शरणार्थीहरू नचाहेरै शरणार्थी भएका हुन्, अहिले पनि कसलाई शरणार्थी बन्न मन लाग्ला र ! तर, मेरो देश शरणार्थी उत्पादन गर्ने कारखाना भयो । यतिसम्म देशप्रति गद्दारी गर्ने छुट कुन देशमा होला ?
हामीले राजनीतिक व्यवस्था परिवर्तनका लागि धेरै खाले संघर्ष गर्याैँ । राजतन्त्र फालेर लोकतान्त्रिक गणतन्त्र ल्याउनु चानचुने कुरा थिएन । तर, यो व्यवस्था टिकाउन र यसलाई संस्थागत गर्न किन ध्यान दिइरहेका छैनौं ? काम गर्ने कि गफ गर्ने ? कुरा ठाउँमा गरिन्छ, जसले परिणाम निकाल्छ । तर, गफ चोक बजारतिर गरिन्छ, जसको कुनै अर्थ हुँदैन । आजको हाम्रो समस्या यही हो । विगतमा एउटा भनाइ थियो, नेपाल बसैया, दिल्ली हगैया...। नेपाली नेतृत्वले गरिरहेको क्रियाकलापले यस्तै अनुभूत गराउँछ, जबकि आफ्नो देशको अवस्था सुधार्नभन्दा पनि अन्यत्रको चिन्ताले धेरै सताउँदै लग्यो भने हुने त बर्बादी नै हो ।
टिप्पणीहरू