राष्ट्रपतिको सवारीमा अब हुन्छ के

राष्ट्रपतिको सवारीमा अब हुन्छ के

मुख हात्तीको जत्रो, खान्की छ जिराको !

सशस्त्र    प्रहरी इन्स्पेक्टरमा भर्ना भएर १६–१७ वर्ष जागिर खाएका अधिकृतले बढुवा पाउने, १५ वर्षे सिपाहीले पनि न्याय पाउने गरी ४२ सय दरबन्दी माग भएको थियो । जबकि त्यति दरबन्दीले पनि सबैलाई न्याय मिल्दैन । आर्थिक मन्दीको बेला राज्यकोषलाई धेरै भार नपारौं भनेर चाहिएको भन्दा कम दरबन्दी मागियो । तर, गृहबाट १ सय ७५ दरबन्दीमात्र स्वीकृत गरिएको पत्र अर्थकै बाटोमा अड्किएपछि ‘हात्तीको मुखमा जिरा’ भएको छ । त्यो पनि अर्थ मन्त्रालयबाट गृहको ओ एण्ड एम टोलीमा प्रतिनिधि नभएका कारण स्वीकृत भएर आएको छैन । अर्थमा अड्किएर बसेको १५–२० दिन भयो । यसबीच, सशस्त्रमा मुनिका कर्मचारीलाई मुन्तिरै थन्क्याएर माथिका हाकिमहरु पोस्ने काम पनि भइरहेकै छ । सिसं ३ का डिएसपी एसपी, सिसं ७ का इन्स्पेक्टर डिएसपी बन्ने गरी दरबन्दी माग भएको थियो । यदि १५ वर्षे सिपाहीलाई बढुवामा समेटियो भने ११ वर्ष जागिर भएका सिपाहीहरु स्वतः सहायक हवल्दार बन्थे । 

अर्को समस्या हो, सीमा सुरक्षामा गएका कर्मचारीका लागि बस्ने घर छैन । भइरहेका बिओपीमा जग्गाको अभाव छ । नयाँ थप भएका बिओपीका लागि त न अफिस, न व्यारेक– केही छैन । सीमा सुरक्षामा खटिनेको कमी छ । एउटा सिपाहीले लगातार १७, १८ घण्टा ड्युटी गर्नुपर्ने अवस्था छ । सुरक्षा नीतिअनुसार ६ जनाभन्दा बढी ड्युटीमा बस्नुपर्नेमा २ जनाको भरले चलिरहेको छ । एक जना मात्रै बसे सामान लिएर तस्कर भाग्छन् । सामान समाउन पनि दुई जना राख्नुपर्ने हो । तर, सरकारले मागेको दरबन्दीमा पनि कञ्जुस्याईं गर्दा धन्न, तिनले देशको सेवा गरिरहेका छन् भन्ने स्थिति छ । 

उता, विद्या भण्डारी राष्ट्रपति हुँदैको एउटा झमेलाका कारण उत्पन्न समस्या नदोहोरियोस् भनेर बनाउन लागिएको सुरक्षा निर्देशिका अझै तयार भएको छैन । गत माघ २७ गते संसदलाई संबोधन गर्न भण्डारी नयाँबानेश्वर जाने क्रममा ट्रमा सेन्टरबाट वीर अस्पतालतिर जाँदै गरेका चिकित्सक डा.जनिथ सिंह प्रहरीबाट कुटिएका थिए । यसपछि विशिष्ट व्यक्तिहरुको सुरक्षा निर्देशिका संशोधन गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएअनुसार लामो कारकेड नबनाउने, गाडीको लस्कर लगाएर बाटो बन्द नगर्नेबारे सल्लाह भएका छन् । यसबारे प्रहरी र सशस्त्रका प्रमुखसहित सेनाका हाकिमहरु राखेर छलफल गरिएकोमा एक जना कर्णेलले आफूतिरका अप्ठेरा केही पनि सुनाएनन् । 

उता, घरेलु सहयोगीका रुपमा खटाइएका सशस्त्रका कर्मचारीहरु रवि लामिछाने गृहमन्त्री हुँदा फिर्ता गराइए । तर, अहिले सबै उही–उही ठाउँमा पुगिसकेका छन् । यो विसंगतिको पटाक्षेप रक्षा मन्त्री पूर्णबहादुर खड्काकी भाइ बुहारीको सवारी दुर्घटना निधन भएपछि भएको छ । उनलाई सशस्त्रबाट एक जना सवारी चालक दिइएको थियो ।

टिप्पणीहरू