राष्ट्रवादी आदिपुरुष

राष्ट्रवादी आदिपुरुष

देशको पूरै राष्ट्रवाद अहिले काठमाडौँका मेयर बालेन साहमाथि आएर टिकेको छ । देशमा कोही राष्ट्रवादी छ भने त्यो बालेन साह मात्रै रहेछ । (भलै श्रीमतीको पेट देखाउन नेपाली डाक्टरप्रति विश्वास नलागेर भारततिर जान परेको नै किन नहोस् !) । देशको यही राष्ट्रवाद बचाउन उनले भारतीय चलचित्र ‘आदिपुरुष’ काठमाडौँमा देखाउन नपाइने नियम बनाइदिए । ‘आदिपुरुष’ मात्र होइन काठमाडौँमा त सम्पूर्ण हिन्दी फिल्म नै देखाउन बन्द भइदियो । उनले भनेकै रहेछन्– देखाउने भए ‘महापुरुष’ देखाउ, ‘आदिपुरुष’ चाहिँ देखाउन पाइँदैन । 

धन्य हिन्दी फिल्म बन्द भइदियो, त्यही कारण हाम्रो राष्ट्रवाद टिकेको छ । नभए अस्ति ‘आदिपुरुष’ रिलिज भएकै दिन हाम्रो राष्ट्रियता पनि बाढीले बगाइसक्थ्यो होला । 

यो घोषणा सँगसँगै बालेन साहले भारतबाट अब जे आउँछ त्यो जम्मै रोक्ने घोषणा गरेका छन् । तर उनलाई थाहा छ कि थाहा छैन, भारतबाट काठमाडौँमा हिन्दी सिनेमा मात्र आउँदैन । पेट्रोल आउँछ, ग्यास आउँछ, दाल, चामल, तेल तरकारी जम्मै आउँछ । के अब राष्ट्रवादको नाममा यो पनि बन्द गर्ने हो ?

फेरि नयाँ कुरा, फिल्म हेरिसकेका दर्शकहरू भन्दै छन् कि यसमा सीता भारतमा जन्मेको भन्ने डायलग नै छैन रे ! बालेन भाइ ! कागले लगेको कान भेट्टाइयो ?

टिप्पणीहरू