लहानमा असार लागेपछि प्रशासनिक काम फटाफट, बजेट निकासा भटाभट

लहानमा असार लागेपछि प्रशासनिक काम फटाफट, बजेट निकासा भटाभट

-सन्तोष बराइली

यतिबेला मुलुकभरका स्थानीय तहमा बजेट निकासाको चटारो छ । आर्थिक वर्ष घर्किनै लाग्दा धमाधम बजेट निकासा गर्न थालिएको छ । स्थानीय तहहरुले कामै नगरी विभिन्न उपभोक्ता समिति र फर्मको नाममा विनियोजित रकम निकासा गरिरहेका छन् । यही मौका छोपेर सिरहाको लहान नगरपालिकाले पनि हुँदै नभएको विकास निर्माण, परामर्शलगायत शीर्षकमा भुक्तानी दिएको आरोप लागेको छ ।

यसबीचमा नगरपालिकाले कार्यालय परिसर सौन्दर्यीकरणको नाममा २० लाख रुपैयाँ भुक्तानी गरेको छ । तर, त्यस सम्बन्धमा कुनै काम नभएको स्थानीय बताउँछन् । त्यस्तै, आधारभूत स्वास्थ्य सेवा केन्द्रहरु निर्माणका लागि एक करोड २२ लाख रुपैयाँ निकासा गरिएको छ । डिपिआरको निम्ति ै लाखौं रुपैयाँ भुक्तानी गरिसकिएको नगरपालिकाको लेखा शाखा स्रोतले जानकारी दिएको छ । 

वडा नम्बर–५ स्थित हाटबजारका लागि पाँच लाख, लहान बजारस्थित दुर्गा मन्दिरका लागि चार लाख, वडा नम्बर– ४ स्थित वृद्वाश्रम तथा अनाथालयका लागि पाँच लाख, विपन्न वर्ग बसोबासका लागि पाँच लाख र पुनः कार्यपालिका कार्यालय परिसर सौन्दर्यीकरण डिपिआर शीर्षकमा पाँच लाख रुपैयाँ भुक्तानी भइसकेको स्रोतको दाबी छ ।  

सडक सुधारका नाममा पनि उस्तै 

नगरपालिकाले सडक सुधारको शीर्षकमा करोडौं भुक्तानी गरेको बताइन्छ । भगवानपुर सडक सुधार कार्यका लागि ७० लाख रुपैयाँ निकासा गरिएको छ । उक्त सडकखण्ड सडक डिभिजन कार्यालयले प्रत्यक्ष स्तरोन्नति गर्दै आएपनि नगरपालिकाले रकम निकासा गरेको पाइएको हो । 

त्यसैगरी, जहदी–गमहरिया सडकको नाममा ३० लाख, बासाजोडी–हात्तीदह सडकमा ५० लाख, लोकमार्ग–सन्यासी सडकमा ५० लाख, सिंगराही सडकमा ७० लाख, छरापट्टी सडकमा ५० लाख, घले टोल र सरस्वती टोलमा १० लाख रूपैयाँ दिइएको छ ।

 

उता, शिवचोक सडकका नाममा एक करोड रूपैयाँ, सर्रे खोला सडकका नाममा पनि एक करोड रूपैयाँ र तटबन्ध तथा बाँध निर्माणका नाममा ४० लाख रुपैयाँ भुक्तानी गरिएको बताइन्छ । असार लागेपछि मधेशका स्थानीय तहमा अत्यधिक आर्थिक अनियमितता हुने गरेको छ । 

हरेक वर्ष एउटै सडक सुधार र पुनः निर्माणका लागि करोडौं निकासा हुँदै आइरहेको देखिन्छ । नवनिर्वाचित नगरप्रमुख महेशप्रसाद चौधरीबाट स्थानीयले धेरै परिवर्तनको अपेक्षा राखेपनि कागजात मिलाएर विकास गरेको देखेपछि नगरबासी दिक्क भएका हुन्
 ।

डिपिआरको नाममा रकम निकासाको खेल

लहान नगरपालिकामा डिपिआरका नाममा धेरै रकम निकासा हुँदै आएको पाइएको छ । यसको जल्दोबल्दो उदाहरण पुरानो खट्टी नहरको डिपिआर हो । यसका लागि ११ लाख रुपैयाँ छुट्याइएको छ । सवारी साधन तथा ग्यारेज निर्माणका लागि पाँच लाख रुपैयाँ निकासा भइसकेको छ । 

मुलुककै ठूलो नगरपालिकामा भएको खुल्लमखुल्ला अनियमितता र बेथिति रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको रैथाने एकता परिषद्का केन्द्रीय अध्यक्ष भाग्यश्वर चौधरी बताउँछन् । भ्रष्टाचारको विरोधमा जनता जाग्न ढिलो भइसकेको उल्लेख गर्दै उनले भने, ‘लहान नगरपालिकामा भइरहेको बेथितिको विरोध अब जनताले गर्नुपर्छ । सरोकारवाला निकाय हात बाँधेर बस्नेबाहेक कुनै काम गर्दैनन् ।’

टिप्पणीहरू