बैंकको कर्मचारी बताउँदै ठग्नेले ११ लाखबढी कुम्ल्याए

बैंकको कर्मचारी बताउँदै ठग्नेले ११ लाखबढी कुम्ल्याए

बैंकको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक जना युवक पक्राउ परेका छन् । विभिन्न नम्बरबाट फोन गरेर बैंकको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने मोरङका २१ वर्षीय मजमद मोजाहिद मियाँ प्रहरी नियन्त्रणमा पुगेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले ९७६२२२५५४२,९७६२५१२८४१ नम्बरबाट फोन गरेर विभिन्न प्रलोभन देखाउने गरेका थिए ।  

बैंक खातासँगै वालेट आईडी लिंकअप, खाता नवीकरण, केवाईसी फाराम अपडेट, स्टेटमेण्ट भेरिफाई, सेक्युर ट्रान्सफर चार्ज नलाग्नेजस्ता कार्य गरिदिने बहाना बनाएर बैंक खातालगायत ओटिपी कोर्ड माग्ने गरेको पाइएको प्रहरीले जनाएको छ । 

अनुसन्धानका क्रममा उनले अर्काको खाताको रकम रकमान्तर गरेर ११ लाख १२ हजार ८४० रुपैयाँ ठगी गरेको खुलेको छ । आज पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकू पठाइएको छ ।

टिप्पणीहरू