स्कुलको ‘माटो खाने’ हेडसर अख्तियारको फन्दामा

स्कुलको ‘माटो खाने’ हेडसर अख्तियारको फन्दामा

कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित वैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरा भ्रष्टाचारमा मुछिएका छन् । 

विद्यालय हाताभित्र रहेको जमिन गैरकानूनी रुपमा उत्खनन् गरी ईंटा उद्योगलाई बेचेको अभियोगमा बोहरासहित चार जनामाथि भ्रष्टाचार मुद्दा लागेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  

विद्यालयको जमिन बेचेको आरोप लागेकामा प्रधानध्यापक बोहोरा, व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, उद्योगका मेनेजर राजेन्द्रबहादुर भाट र प्रोपराईटर छन्  । उनीहरुले आर्थिक वर्ष २०७६–०७७ र ०७७–०७८ मा विद्यालय हाताभित्रको माटो खन्दै जमिन सम्याएर पोखरी निर्माण गर्दा सरकारी रकम हिनामिना गरेको अख्तियारले दायर गरेको अभियोग पत्रमा उल्लेख छ । 

तत्कालीन प्रदेश सरकारको आर्थिक ऐन, २०७६ को दफा ७ बमोजिमको अनुसूची–६ र सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७७ को दफा ८ बमोजिमको अनुसूची–६ ले तोके बमोजिमको करबापतको ७ लाख २९ हजार ५१४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगो जफत गर्न, जरिवाना र सजायको मागसमेत गरेको छ ।

टिप्पणीहरू