स्रोत नखुलेको लाखौं रुपैयाँ बोक्ने समातिए, मोटरसाइकल चालक फरार
बाँकेको नेपाल–भारत सीमाना नजिकै २० लाख रुपैयाँ फेला परेको छ । सशस्त्र प्रहरी बल नेपालको टोलीले नेपालगञ्ज उपमहानगरपालिका १५, जमुनाहस्थित शर्मा गल्लीमा स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको बताइएको छ ।
नेपालगञ्जको जयसपुर बस्ने २० वर्षीय सोहेल कुरेशीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहले उल्लेखित रुपैयाँसहित पक्रेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका कुरेशी सवार मोटरसाइकल खानतलासी गर्ने क्रममा चालक भने मोटरसाइकल लिएर भागेका थिए ।
मोटरसाइकल पछाडी बसेका कुरेशीले बोकेको उक्त रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिइएको सशस्त्रको भनाई छ । बरामद रुपैयाँसहित आवश्यक कारबाहीको निम्ति उनलाई नेपालगञ्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको छ ।
टिप्पणीहरू