बलात्कार र शरीर बन्धकका प्रतिवादीलाई २८ वर्ष जेल सजाय
ताप्लेजुङ जिल्ला अदालतले नाबालिग बलात्कार र शरीर बन्धक मुद्दामा दोषी ठहर गर्दै एक जना प्रतिवादीलाई २८ वर्षको जेल सजाय सुनाएको छ ।
जबरजस्ती करणीको मुद्दामा अपहरण तथा शरीर बन्धकको सजायसमेत थप गरी अदालतले २८ वर्ष कैद सजायसहित एक लाख चार हजार रुपैयाँ जरिवाना तोकेको छ ।
सिदिङ्वा गाउँपालिका ४ का प्रवीण भनेर चिनिने २३ वर्षीय रमेश रिमालविरुद्ध २०७९ वैशाख २१ गते जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।
१३ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा दायर मुद्दामा फैसला सुनाउँदै अदालतले जबरजस्ती करणीमा १८ वर्ष र शरीर बन्धकमा १० वर्ष गरी २८ वर्ष कैद सजाय गरेको हो ।
त्यस्तै, पीडितलाई क्षतिपूर्तिवापत एक लाख र पीडित राहत कोषमा चार हजारसहित एक लाख चार हजार रुपैयाँको समेत जरिवाना सुनाएको छ ।
टिप्पणीहरू