महराका बाबु,छोरालाई किन मुछ्यो प्रहरीले ?

महराका बाबु,छोरालाई किन मुछ्यो प्रहरीले ?

त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थल भन्सार कार्यालयका कर्मचारीले गोदामबाट सुन गायब पार्नुअघि उच्च राजनीतिक नेतृत्वले लिलाम प्रक्रियाबाट सम्वन्धित तस्करलाई नै विद्युतीय चुरोटका रुपमा ती सामान पार्न तीब्र लबिइङ्ग गरेको पाइएको छ । इलेक्ट्रिक सिगरेटमा लुकाएर दुबई बाट नेपाल भित्र्याइएको अवैध सुन सोझो तरिकाले फुत्काउन नसकिएपछि भन्सारका कर्मचारीसँगको मिलेमतोमा तस्करहरुले गोदामबाट बाहिर निकालेको पाइएको हो । 

गत माघ २९ गते चिनियाँ नागरिकले २ वटा सुटकेशभित्र ७३ वटा बट्टामा ७३० थान इलेक्ट्रिक सिगरेट नेपाल ल्याएका थिए । आगो नसल्कने उक्त सिगरेटलाई गैरकानुनी ठहर गर्दै भन्सार कार्यालयले जफत गरेको थियो । पटक-पटक स्क्यान गरेर बाक्सामा चुरोटबाहेक अरु कुनै बहुमूल्य वस्तु नभएको ठहरिएपछि भन्सारका कर्मचारीले त्यसलाई गोदाममा थन्काएर राखेका थिए । सामान्यत: जफत गरिएका सामानहरु एकट्ठा गरी एक-दुई महिनामा लिलामीका लागि पठाउने अभ्यास रहेकाले उक्त सामान पनि करिब ५० दिनदेखि गोदाममै थियो । 

जब लिलामी प्रक्रिया शुरु भयो, 'इ-सिगरेट' भएकाले लिलाम गर्ने कि 'डिस्पोज' भन्नेबारे छलफल हुँदै गर्दा त्यसको भ्यालुयसन गरी भन्सारले पुन: गोदाममै थन्काइदियो । त्यसबीचमा भन्सार कार्यालयका हाकिमलाई भेटेर केही व्यक्तिले सामानबारे सोधखोज गर्न थाले । आफूलाई चिनियाँ दूतावासको कर्मचारी भनेर घुमाउरो दबाब दिन थालियो । बूढीगण्डकी परियोजनाका चिनियाँ मजदुरको लागि ल्याएको चुरोट भन्दै उच्च तहबाट भन्सारका हाकिमलाई उक्त सिगरेट छुटाउन तारन्तार दबाब गयो ।

उच्च तहबाट निरन्तर सामान छुटाउन दबाब बढेपछि भन्सार कर्मचारीले बाक्सामा अरु कुनै मालवस्तु लुकाइएको आशंका गरे । र, पुन: एक्सरे गरेर हेरियो । फेरि पनि बहुमूल्य वस्तु केही देखिएन । त्यसपछि भन्सार कार्यालयले आन्तरिक कमिटी बनाएर छानविन थाल्यो ।  सो क्रममा त्यहाँ कार्यरत गोल्ड मेडलिस्ट नायव सुब्बा रेवन्त खड्काले इलेक्ट्रिक सिगरेटसँगै सुटकेशमा लुकाएर राखेको सुन निकालेर सोही प्रकृतिको अर्को सामान राखेको पुष्टि भएपछि भन्सार कार्यालय प्रमुख अरुणकुमार पोख्रेलको तर्फबाट थप अनुसन्धानका लागि सिआइबीलाई जिम्मा दिइयो । 

झण्डै पाँच महिनाको अनुसन्धानपछि तस्करहरुको सेटिङ्गसम्म पुग्न सफल भएको सिआइबीले यस घटनामा पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलसहित दर्जनौँ व्यक्तिको संलग्नता ठहर्याएको छ ।  सिआइबीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनमा महराका बाउ छोरा,सुन आयातकर्ता चिनियाँ नागरिक र अरु सम्पर्क सूत्रको टेलिफोन नम्बरसहितको विवरण पेश गरिएको छ । जसमा पूर्वसभामुख महराले सुन ल्याउने समूहमा रहेका चाइनिज नागरिक लुई, वाङ्ग दाओजिङ, लोकेन्द्र पौडेल,खुवाप्रसाद न्यौपाने,राहुल महरालगायतसँग सम्पर्कसूत्रको काम गरेको जनाइएको छ । त्यसैको बलमा रेवन्त खड्का,दिनेश बस्नेत, निर्मल बिक,दिपेश बस्नेत,गोपाल सुवेदीको सम्पर्क सुन किन्ने बेदप्रकाश अग्रवालसंग रहेको सिआइबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सुन खरिद गर्ने समूहका अन्य सदस्यहरुमा गणेश बडू, साहेब राव मार्गेला, सचिन पावर,नन्दुकुमार रहेको जनाइएको छ ।

   

तर,यस घटनामा प्रत्यक्ष संलग्न रहेको भनिएका त्रिभुवन विमानस्थल कार्यालय,गौचरको मुद्दा शाखामा गोदामको कार्य जिम्मेवारी तोकिएका नायव सुब्बा खड्का, सिन्धुपाल्चोकको सुनकोशी-६ का ३२ वर्षीय दिनेश बस्नेत, सुनसरीको धरान उपमहानगरपालिका-२ घर भई हाल काठमाडौँ भोटेबहल बस्ने ५४ वर्षीय बेदप्रकाश अग्रवाल, भारत महाराष्ट्र घर भई अहिले काठमाडौँ बस्ने ३९ वर्षको साहेब राव पाण्डुरङ मरग, सिन्धुपाल्चोक सुनकोशी-६ घर भई हाल काठमाडौँको शान्तिनगर बस्ने ३२ वर्षीय अमृत कार्की,बाग्लुङ्गको काठेखोला-३ स्थायी ठेगाना भएका र हाल पोखरा बस्ने वर्ष २२ को निर्मलकुमार बिक, सिन्धुपाल्चोकको सुनकोशी-६ घर भै हाल कागेश्वरी मनहरा बस्ने वर्ष २९ को दिपेश बस्नेत र सोही ठाउँ स्थायी ठेगाना भएका र अहिले पेप्सीकोला बस्ने वर्ष ४२ को गोपाल सुवेदी पक्राउ परेका छन् । काभ्रेको बनेपाका रामकेशव थापा भने फरार छन् । उनीहरु सबैविरुद्ध आपराधिक विश्वासघात र संगठित अपराधसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ । 

सिआइबीले कल डिटेलका आधारमा पूर्वसभामुख महरासहितको कनेक्सन पत्ता लगाएको हो । उनीहरुले फरक-फरक समूहमा रही आ-आफ्नो जिम्मेवारीबमोजिम सम्पर्क स्थापित गरी गोदाममा रहेको २ वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट बेची साँठगाँठमा आपराधिक विश्वासघात गरेको अभियोग छ । यस प्रकरणका मुख्य हर्ताकर्ता खड्काले उक्त सुन दिनेश बस्नेतसँगको मिलेमतोमा बेचविखन गरी ६५ लाख साथी तथा आफन्तको खातामा जम्मा गराएको र बाँकी रकम सबैले बाँडेर लिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ ।

टिप्पणीहरू