अमेरिकी ट्राभल डकुमेन्ट बाेकेका भारतीयको शरीरमा सुनैसुन, झोलाभरी आइफोन प्रोम्याक्स

अमेरिकी ट्राभल डकुमेन्ट बाेकेका  भारतीयको शरीरमा सुनैसुन, झोलाभरी आइफोन प्रोम्याक्स

दुबईबाट काठमाडौं आइपुगेका एक जना भारतीय नागरिक अवैध सुन र एक दर्जनबढी आइफोन प्रोम्याक्ससहित समातिएका छन् । फ्लाई दुबईको उडानमा बिहान पौने ८ बजे आइपुगेका विजेन्द्र कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अमेरिकी ट्राभल डकुमेन्ट नम्बर ४०१४७०११८ मा आएका उनलाई भन्सार क्षेत्रमा पुगेपछि शंका लागेर चेक जाँच गरिएको थियो । भन्सार कर्मचारीले उनको घाँटीमा रहेको दुई सय ग्राम सुनको सिक्री, हातमा लगाएको ५६ ग्राम सुनको बाला तोकिएको परिमाणभन्दा बढी भएको बताउँदै उनलाई नियन्त्रणमा लिएका थिए ।

त्यसपछि उनले लगेजमा लुकाएर ल्याएको १४ थान आइफोन प्रोम्याक्स १२ थान पनि फेला परेको बताइन्छ । उनी अमेरिकी ट्राभल डकुमेन्टमा दुबई हुँदै काठमाडौं आएका हुन् । सुन र आइफोन नियन्त्रणमा लिएपछि आफूहरुलाई विभिन्न प्रलोभन दिएको भन्सारका कर्मचारीले बताएका छन् । एक जना कर्मचारीले भने, ‘तपाईंहरुले जे माग्नुहुन्छ त्यो दिन्छु, मलाई छाडिदिनुहोस् ।’
 
हाल भन्सार कार्यालयको नियन्त्रणमा रहेका उनले केही दिन नेपाल बस्ने उद्देश्यले उनी काठमाडौं आएको तथ्य खुलेको छ । बिक्रीको उद्देश्यले ल्याइएका ती फोन र सुनबारे मुद्दा चलाउने तयारी गरिएको बुझिएको छ ।
 

टिप्पणीहरू