लाइसेन्सको ट्रायल पास गराइदिने प्रलोभनमा चार लाख ठगी
सवारी साधनको लाइसेन्स निकाल्न आउने व्यक्तिसँग पैसा दिए ट्रायल पास गराइदिन्छु भनी रकम ठगी गर्दै हिड्ने दुई जनालाई प्रहरीले समातेको छ ।
ललितपुरको महालक्ष्मीथान बस्ने ३० वर्षीय सम्राट, समिर, रागव भन्ने राजु परियार र काठमाडौं महानगरपालिका वडानं. १४ का ३६ वर्षीय ब्रम्हा रिसाल पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई हिजो काठमाडौंको कालीमाटीबाट नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेकामध्ये राजुले आफूलाई यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताई लाइसेन्स बनाईदिने, ट्रायल पास गराइदिने, सवारी साधनको प्रदूषण जाँचपास गराइदिने भनी पीडितहरुबाट नगद तथा सुनको गरगहना जबरजस्ती लिई चार लाख ३० हजार रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ ।
त्यस्तै, कृष्ण ज्वेलर्स एण्ड सन्सका सञ्चालक समेत रहेका ब्रम्हाले ठगी गरी लिएको सुन राजुसँग खरिद गरी त्यसलाई गाली ढिक्का बनाई राखेको प्रहरीले जनाएको छ । प्रहरीले ११.६८० ग्राम सुनसहित उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको निम्ति जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको जानकारी दिइएको छ ।
टिप्पणीहरू