सुरक्षा सल्लाहकारलाई थप सुरक्षा

सुरक्षा सल्लाहकारलाई थप सुरक्षा

यही देश हो, जहाँ एउटा कार्यालयमा एकजना करारको दरबन्दी थप्नुपरे संगठनात्मक संरचनाको अध्ययन (ओएनएम) गर्नुपर्ने हुन्छ तर यही देशमा राष्ट्रिय सुरक्षा सल्लाहकार भन्ने पद सिर्जना गर्न मनमा कुरा खेलिदिए पुग्छ, कुनै प्रक्रिया पूरा गर्नुपर्दैन । अनि कार्यविधिद्वारा सिर्जित पदको निम्ति आजीवन सुरक्षाको व्यवस्था पनि खुसुखुसु गरिन्छ । अघिल्लो हप्ता यस्तै भयो । गृहसचिव दिनेश भट्टराई नेतृत्वको बैठकले राष्ट्रिय सुरक्षा सल्लाहकारका हकमा २ नेपाल प्रहरी र ६ सशस्त्रको सुरक्षा टोली खटाउने निर्णय गरेको छ । पदमा रहुञ्जेल यति सुविधा पाउने उनलाई भूपू भइसकेपछि आजीवन दुई प्रहरीले सुरक्षा दिने छन् । यससम्बन्धी निर्णयमा तीनवटै सुरक्षा निकायका प्रमुख र सेनाका युद्धकार्य महानिर्देशक ताराध्वज पाण्डेको हस्ताक्षर छ ।

पूर्व मुख्यसचिवलाई राजीनामा गर्न लगाई डा.बैकुण्ठ अर्याललाई तत्काल उक्त पदमा नियुक्त गर्दागर्दै शंकरदास बैरागीको हकमा हाल रक्षा मन्त्रालय परिसरभित्र पुतली बगैंचामा कार्यालय रहने गरी राष्ट्रिय सुरक्षा सल्लाकार पद सिर्जना गरियो । आफ्ना लागि आफैंले प्रस्ताव र निर्णय गर्ने क्रममा सुविधा पनि आफैं तोक्नेजस्तो हाँस्यास्पद काम यस प्रकरणमा भएको छ । अर्कातिर, कार्यकाल नतोकिएको कुनै पनि सरकारी पद नहुने हाम्रो देशमा उनीमात्र यस्तो पदाधिकारी भएका छन्, जसको कुनै व्यवस्थित अवधि तोकिएको छैन । यदि, उनी मुख्यसचिवबाटै अवकाश हुन्थे भने आजीवन दुई प्रहरी सुरक्षाका लागि दिइन्थ्यो । तर, मुख्यसचिवबाट सीधै राष्ट्रिय सुरक्षा सल्लाहकार भएपछि उनी सेना, प्रहरी, सशस्त्र र अनुसन्धान विभागका प्रमुखको हाकिम भएका छन् । 

अमेरिकी र चिनियाँको ओइरो

नेपाल देशको भलिभाँती माया लागेर हैन, आ–आफ्नो स्वार्थका कारण अहिले पश्चिमा र उत्तरी पाहुनाको एकैचोटि ओइरो लागेको छ । 
चिनियाँ बिआरआईदेखि अमेरिकी एमसिसीसम्मले अवस्था यस्तो बनाइदियो कि देशका जनप्रतिनिधि गाउँबाट शहरतिर छिर्दैछन्, विदेशीहरू चाहिँ भटाभट गाउँ–गाउँ चहार्दै छन् । काठमाडौंमा चिनियाँ सरकारका प्रतिनिधिदेखि कम्युनिष्ट पार्टीका जिम्मेवार व्यक्तिको भीड लागेकै बेला अमेरिकाबाट विभिन्न उद्देश्य लिएर नेपाल छिर्नेहरूको संख्या पनि बढेको छ । यसक्रममा अमेरिकी नागरिक ट्रिस्टा लिन फ्लकसहित तीन जनाको टोली असार २७ गते तल्लो डोल्पाको भ्रमणका लागि नेपालगञ्जबाट समिट एयरमा जुफाल विमानस्थलमा अवतरण भयो । उनीहरू त्यहीँबाट सदरमुकाम दुनैतर्फ लागे । अर्को टोली थियो, अमेरिकी दूतावासका तिब्बती मामिला प्रमुख मार्क पल, अधिकृत जेम्स मार्क र डेभिड बोर्नसहित पाँच जनाको । उनीहरूले बुद्ध एयरमा काठमाडौंबाट उडेर कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा रात्रि मुकामसहित दुई दिन बिताए । त्यहाँबाट २६ गते सुर्खेत हुँदै दैलेख र जाजरकोट पुगे ।

अमेरिकी टोलीले डोल्पा, हुम्लाजस्ता दुर्गम भेगका गाउँगाउँ पसेर युवा कति विदेश गएका छन् भनी स्थानीयसँग सोधखोज गरेको जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाले बताए । त्यसरी कर्णाली उक्लिएको छुट्टै टोलीको भेट असार ३१ गते हुम्लामा भयो । एउटा टोली डोल्पा हुँदै हुम्ला गयो भने अर्को टोली सीधै हुम्ला पुगेको थियो । दोस्रो टोलीले दैलेखमा सञ्चालित विभिन्न आयोजनाको अवलोकन गरेको र यहीबेला युएसएडका प्रादेशिक प्रमुखहरू पनि आफूद्वारा लगानी गरिएका विभिन्न परियोजनाहरूको प्रगति विवरण बुझ्न मध्य र सुदूरपश्चिम गएको बुझिएको छ ।

 

टिप्पणीहरू