काण्ड उनका धेरै, स्वर पनि उनकै ठूला

काण्ड उनका धेरै, स्वर पनि उनकै ठूला

देशमा काण्ड पनि यति धेरै कि नाम मात्र उल्लेख गर्दासमेत किताबका किताब छाप्न सकिने । कुनै यस्तो सरकार छैन जसको नामसँग काण्ड नजोडिएको होस् । इतिहासमा धेरै पर नजाँदा पनि काण्डका फेहरिस्त पाइन्छन् । नमिता–सुमिता बलात्कार र हत्याकाण्ड, मदन–आश्रित जीप दुर्घटना काण्ड, राजा वीरेन्द्रको वंशनाश गरेको राजदरबार हत्याकाण्ड र हालसालैको किशोरी निर्मला पन्त बलात्कार काण्ड आदि आदि । हत्या र हिंसाका यी काण्ड कहिल्यै नसुल्झी रहश्य नै भएर बसेका छन् । कसले र किन घटाए यस्ता काण्डहरू भनेर कहिल्यै पत्ता नलाग्न पनि सक्छ । पुराना टनकपुर र महाकाली सन्धिजस्ता देशका नदीनाला तथा प्राकृतिक श्रोत र साधनहरू विदेशीलाई बुझाउने काण्डहरू पनि घटित भए । यस्ता काण्ड घटाउनलाई देश र जनतासामु अत्यन्तै झुठ बोलिए । झुठ कहाँसम्म भने बिजुली स्याटेलाइटबाट निर्यात गर्ने र बार्षिक एक खर्ब पच्चिस अर्ब आम्दानी हुने भनेर डंका पिटिएको थियो । न बिजुली उत्पादन भयो, न स्याटेलाइटबाट बिजुली निर्यात भयो र भनेजति धन नै आर्जन भयो । तर अहिले पनि चुरिफुरी यिनैका धेरै । 

उल्लिखित यी सबै काण्डको अलावा पनि अरु धेरै आर्थिक, राजनीतिक तथा संवैधानिक पक्षसँग जोडिएका काण्ड छन् जसले देशमा अस्थिरता निम्त्याए, लोकतन्त्रलाई कमजोर बनाउने, जनतालाई कङ्गाल बनाउने, जर्जर बनाउने, परनिर्भर बनाउने काम गरिरहेकै छन् । यी काण्डहरू नेपाली जनतालाई कमजोर बनाइरहने मन्द विष हुन् । जननिर्वाचित संसदलाई अदालतले असंवैधानिक भनेर भन्दासमेत दुई दुईपटकसम्म विघटन गर्ने काम भयो । यस्तो काम जनताले बलिदानीपूर्ण संघर्षमार्फत् प्राप्त लोकतान्त्रिक अधिकारहरू कुण्ठित पार्ने, खोस्ने वा निलम्बित हुनसक्ने थियोे । धन्न, त्यो काण्डले शिर उठाउन नसक्दै त्यो निरस्त हुन पुग्यो । इतिहासमै पहिलोपटक ठूलो कम्युनिष्ट पार्टी बनेको, त्यसलाई जनताको अभूतपूर्व समर्थन रहेको र लगभग दुईतिहाई सांसदसहित सरकार बनाएको तत्कालीन नेकपालाई अदालतबाट दुई टुक्रा बनाउने काम भयो । यो काण्डको दुष्परिणाम अहिले भोगिरहेका छौं । 

यीबाहेक विभिन्न समयमा घटाइएका अनेकौं काण्ड छन् । तीबारे पनि कुरा गरौं । किनभने ती उत्तिकै सनसनीपूर्ण छन् । कतिपय काण्ड त मानवताविरोधी प्रकृतिका समेत छन् । जस्तो ओम्नी काण्ड । जनताको स्वास्थ्यमाथि रचिएको गम्भीर खेलवाड । यसरी जनताको जीवनमाथि खेलवाड गर्दै जुन भ्रष्टाचार गरियो यसले सबैलाई लज्जित तुल्याउने काम गर्‍यो । यस्तो घृणित र अमानवीय काम गरेर इतिहासमा लज्जित हुने काम गरे सत्तामा रहेकाहरूले । यस्तो गर्दासमेत न त यिनीहरूमाथि कुनै अनुसन्धान र कारबाही भयो न यिनीहरू स्वयंले लज्जावोध गरे । यस्तै गरी मजदुर बनेर बिदेशी भूमिमा अलपत्र परेका आफ्नै देशका नागरिकलाई पैसाको लोभमा परेर राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्समा चढ्न नदिई रित्तो जहाज उडाएर ल्याए र पछि निजी कम्पनीको जहाजमा महँगो दरमा टिकट काटेर आउन बाध्य पारे । योभन्दा दुष्ट्याँइ अरु हुन सक्दैन । हेर्दा सामान्यजस्तो लाग्ने गरिब र मजदुरमारा काण्डको जतिसुकै बिरोध र भत्र्सना गरे पनि कमै हुन्छ । यस्तो काण्ड घटाउनेहरूमाथि कारबाही चलाउनुपर्छ, यिनका फाइल पनि खोलिनुपर्छ ।

यस्ता काण्डहरूको देशमा कुनै कमि छैन । सत्तरी करोड भनेर चिनिने सेक्युरिटी प्रेसको काण्ड पनि छ जसलाई अहिलेको बोलिचालीको भाषामा हान्देकै हो काण्ड भनेर चिनिन्छ । यो काण्डको पर्दाफास भएपछि हान्नेवालाले मन्त्री पदबाट राजीनामा दिएकै हुन् । तर, यसको वास्तविकता के हो भनेर सत्यतथ्य बाहिर ल्याउने काम भने भएको छैन । यस्ता काण्ड अनेकौं छन् । वाइड बडी जहाज काण्ड, यतिलाई जग्गा ठेक्का दिएको काण्ड, ललिता निवास जग्गा घोटाला काण्ड । झापाको सयौं बिघामा रहेको गिरिबन्धु टि इस्टेट काण्ड, राजदूत नियुक्ति काण्ड, नागरिकता विधेयक काण्ड, पासपोर्ट काण्ड, बाउन्न भाइ नियुक्ति काण्ड आदि इत्यादि । 

कम्युनिष्टको सरकार, धर्मनिरपेक्ष राष्ट्रको प्रधानमन्त्रीले पशुपतिमा ९९ केजी सुनको जलहरी चढाउनु आफैँमा एउटा जोक त हुँदै हो तर त्यसमा पनि सुन गायब पार्ने काण्ड भयो भनेर भन्छन् । हिन्दू धर्म मान्नेहरूको निम्ति त यो घोर अपमानको विषय हो । प्रधान न्यायाधीशद्वय सुशीला कार्की तथा चोलेन्द्रसमशेर राणाका महाभियोग काण्डसमेत सामुन्ने छन् । 

अहिले अर्को गजबको काण्ड सार्वजनिक र छानबिन भइरहेको छ । देशको उपप्रधानमन्त्री, रक्षामन्त्रीको पदमा बसेका, गृहमन्त्रीको पदमा बसेकाहरू यस काण्डका आरोपित हुन् । यो देशलाई काण्डै काण्डले भरिएको देश बनाउने र आफ्नो दुनो सोझ्याउनेहरू जनताका बैरी हुन् । आफू जलेर अरुलाई प्रकाश दिने दियो जस्तै आफू सक्किन परे पनि हिम्मत राखेर सबै खाले काण्डको फाइल खोल्ने दुस्साहस नगरिहुन्न । हामीले भन्ने यही नै हो । 
 

टिप्पणीहरू