सशस्त्रको दरबन्दी ३७ हजार १५३ कायम

सशस्त्रको दरबन्दी ३७ हजार १५३ कायम

सरकारले सशस्त्र प्रहरी बल नेपालको नयाँ दरबन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषदको साउन ३ गतेको बैठकले सशस्त्रको कूल दरबन्दी ३७ हजार १५३ स्वीकृत गरेको बताइएको छ ।

स्वीकृत दरबन्दीमा तहगत रुपमा महानिरीक्षक एक जना, अतिरिक्त महानिरीक्षक तीन,नायव महानिरीक्षक १८ जना हुनेछन् । नायव महानिरीक्षकमध्ये दुई जना प्राविधिक छन् । एक जना सञ्चार तथा इञ्जिनियरिङ र अर्का स्वास्थ्यतर्फका हुन् ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको दरबन्दी ४२,उपरीक्षक १६७, नायव उपरीक्षक ४८८ र इन्सपेक्टरको संख्या ११ सय ४९ जना कायम भएको छ । त्यसैगरी, वरिष्ठ नायव निरीक्षक १०६, नायव निरीक्षक १३ सय ८८, सहायक निरीक्षक १६ सय ३१, वरिष्ठ हवल्दार २७ सय ६४, हवल्दार ५४ सय २३, सहायक हवल्दार ८१ सय ७७, जवान १३ हजार ८१३ र रिक्रुट १९ सय ८३ जना गरी ३७ हजार १५३ जनाको दरबन्दी स्वीकृत भएको छ ।

प्राप्त विवरणअनुसार महानिरीक्षकको सचिवालयमा ७४ जना खटिनेछन् । जसमा नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षक एक एक जना हुनेछन् । सबैभन्दा धेरै जवान १२ जना रहनेगरी दरबन्दी बनाइएको छ ।

सुरक्षा परिषद्को सचिवालयमा ६ जना, मानवस्रोत विभागमा ५५२ जना, कार्य विभागमा ४४५ जना र सीमा सुरक्षा विभागको निम्ति ८५ जनाको दरबन्दी स्वीकृत भएको छ । त्यस्तै प्रशिक्षण प्रतिष्ठानमा १८७, कमाण्ड तथा स्टाफ कलेज, काठमाडौंमा ९५, इन्टेलिजेन्स ब्यूरोमा ५४, एपीएफ अस्पतालमा २८७, आर्थिक प्रशासन महाशाखामा २८ जना रहनेगरी दरबन्दी कायम भएको छ ।

स्वीकृत दरबन्दीअनुसार प्रबन्ध महाशाखामा १४, भण्डार महाशाखामा १४, बाहिनी मुख्यालय आठ वटामा १७२, तालिम शिक्षालयहरु ककनी, कुरिनटार र नौबस्तामा गरेर १७८,हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, पोखरामा १७८, सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा १७८, तालिम शिक्षालयहरु पाथिभरा, दन्तकाली सप्तरी, मनाङ, टिकापुरमा १२८ जनाको दरबन्दी राखिएको छ ।

नेपाल प्राविधिक तालिम शिक्षालय काठमाडौंमा ११७, खेलकुद तथा शारीरिक सुगठन शिक्षालयमा ४६५, ४४ वटै गण हेडक्वार्टरमा ६१८, गुल्म हेडक्वार्टरहरु २७ वटामा १६० र मद्दती तथा सेवा गुल्महरु आठ वटामा ३९ जना खटिनेछन् । 

सशस्त्रमा साधारण समूहको साधारण उपसमूहमा ३६ हजार ६३ जनाको दरबन्दी कायम भएको छ । त्यसैगरी सोही समूहको लेखा उपसमूहमा २०१, कानुन उपसमूहमा १४, प्राविधिक समूहको सञ्चार तथा इञ्जिनियरिङतर्फ ५८८, प्राविधिक समूहको स्वास्थ्यतर्फ २८७ जना रहने जनाइएको छ ।

टिप्पणीहरू