बिदेश मन्त्रीसङ्गै चीनका गभर्नर पनि बर्खास्त

बिदेश मन्त्रीसङ्गै चीनका गभर्नर पनि बर्खास्त

चीनमा हिजो एकै दिन दुई महत्वपूर्ण जिम्मेवारीमा रहेका अधिकारीहरु बर्खास्तगीमा परेका छन् । आकस्मिक सँसद अधिवेशनले विदेशमन्त्री छिन गाङलाई हटाएर पूर्व विदेशमन्त्री वाङ यी र केन्द्रीय बैंकका गभर्नर यी काङलाई हटाएर डेपुटी गभर्नर पान कोङसेङलाई नियुक्त गरेको हो ।

गत डिसेम्बरमा नियुक्त छिन गाङको स्थानमा वाङलाई पुनः विदेशमन्त्रीको जिम्मेवारी सुम्पेर चिनियाँ नेतृत्वले नयाँ सन्देश दिएको बताइन्छ । छिन डिसेम्बर ३० अघि अमेरिकाका लागि चिनियाँ राजदूत थिए ।

राष्ट्रपति सि जिनपिङले निकै विश्वासका साथ राजदूतलाई एकै पटक महत्वपूर्ण राजनीतिक जिम्मेवारी स्टेट काउन्सिलरको हैसियतसहित विदेशमन्त्रीमा नियुक्त गरेका थिए । तर, पछिल्लो सात महिनामा उनले खेलेको भूमिकामा कुनै प्रभावकारिता नदेखिएको,केही निजी र अन्तरंग सम्बन्धहरु पदीय मर्यादा अनुकूल नभएको पाइएपछि हिजो उनी बर्खास्तगीमा परेको बताइन्छ । 

दुई साताअघि सम्पन्न दक्षिण पूर्वी एसियाली मुलुकहरुको संगठन आसियानको बैठकमा छिन अस्वस्थताको कारण उपस्थित हुन नसक्ने जानकारी दिएर राज्यले छिनको बहिर्गमनको सन्देश दिइसकेको थियो । उनले विशेषगरी अमेरिका, युरोपेली युनियनलगायत रणनीतिक विषय र अन्तर्राष्ट्रिय चासोमा चीनको रचनात्मक एवम् कूटनीतिक भूमिका निर्वाह गर्न नसकेको अनुमान गरिएको छ ।

यता वाङ भने दोस्रो पटक विदेशमन्त्री बनेका छन् । यसअघि उनी सन् २०१३ देखि २०२२ को डिसेम्बरसम्म उक्त जिम्मेवारीमा थिए । १० वर्षको कार्यकालमा वाङले अन्तर्राष्ट्रिय क्षेत्रमा खेलेको भूमिकाको चीनभित्र र बाहिर मुक्त कण्ठले चर्चा भएको थियो । 

छिन गाङको बर्खास्तगीसँगै चिनियाँ नेतृत्वले आफ्ना उच्च अधिकारीहरुलाई अप्रत्यक्ष सन्देश दिन खोजेको राजनीतिक विश्लेषकहरुको बुझाई छ । राष्ट्रपति सि जिनपिङको विश्वासमा सोझै राजदूतबाट विदेशमन्त्री बनाइएका स्टेट काउन्सिलरलाई पदमुक्त गराउन कुनै आइतबार कुर्न नपर्ने भएपछि अन्यले पनि इमान्दारिता र प्रभावकारिता देखाउन नसकेको अवस्थामा उक्त अवस्था सोच्न बाध्य हुनुको विकल्प अब देखिँदैन ।

यता, पिपुल्स बैंक अफ चाइनाको गभर्नर पनि हिजैदेखि हटाइएका छन् । सन् २०१८ को मार्चमा नियुक्त यी काङको स्थानमा तेस्रो नम्बरका डेपुटी गभर्नर पान कोङ्सेङलाई ल्याइएको छ । चिनियाँ केन्द्रीय बैंकमा सात जना डेपुटी गभर्नर हुन्छन् । गभर्नरको अध्यक्षतामा डेपुटी गभर्नरहरुसहित आठ जनाको समूहलाई म्यानेजमेन्ट टिम भन्ने गरिन्छ । 

यसअघि सन् १९९३ जुलाईदेखि १९९५ जुनसम्म गभर्नर रहेका चु रोङची प्रधानमन्त्री बनेका थिए । उनी सन् १९९८ देखि २००३ सम्म मुलुकको प्रधानमन्त्री रहे ।

टिप्पणीहरू