होटलमा देहव्यापार भएको प्रहरी आरोप, बेफ्वाँकमा बेइज्जत गराएको युवतीहरुको दाबी
अञ्जनकुमार
लमजुङ सदरमुकाम बेसीशहरका होटलमा देहव्यापार मौलाएको छ । साँझ अबेरसम्म खानपिनको रमझम र बिहान सबेरै अनुहारमा मास्क लगाएर होटलहरुबाट युवती र अधबैंशे महिलाको हुल निस्कने क्रम बढेकाले प्रहरीले उक्त आशंका गरेको हो ।
हिजो बिहान एउटा राम्रै होटलबाट अनुहारलाई कालो मास्क र सलले ढाकेका तीन जना अधबैंसे महिलाहरु निस्किए । लगत्तै ट्याम्पु चढेर हिँडेको पाँच मिनेटमा मास्क लगाएका पाँच जना पाको उमेरका पुरुषहरु पलाकपुलुक हेर्दै निस्केका थिए ।
नजिकै ड्युटीमा बसेका प्रहरीले ती सबैलाई नदेखेझैँ गरे । लख काट्न सक्ने प्रशस्त आधार भएपनि उनीहरुलाई पक्राउ त के साधारण सोधपुछ गर्ने हिम्मत गरेको देखिएन । यस्ता किस्सा चल्दै गर्दा बेसीशहरबाटै पाँच युवतीलाई भने प्रहरीले पक्राउ गरेको खबर बाहिरियो ।
त्यसरी पक्राउ परेकामध्ये बेसीशहर नगरपालिका ८ स्थित होटल हिमशिखरकी ५० वर्षे सञ्चालिकालाई अनैतिक क्रियाकलाप गराएको आरोपमा अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको थियो । लगत्तै प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई गुनासो पोख्न गएका ज्वाइँ छोरीले उल्टै हप्की खानुपरेको बताइन्छ ।
लगभग ५० वर्ष उमेर हाराहारीकी स्थानीय बाख्रेजगत घर तर बेसीशहरमा होटल सञ्चालन गर्दै आएकी आफ्नी आमालाई प्रहरीले बिना आधार पक्रेर मुद्दा चलाउन लागेको सुनेपछि ज्वाईंछोरी सिडियो भेट्न पुगेका थिए । सिडिओले ‘त्यो उमेरमा होटलमा त्यस्तो हर्कत गराउन लाज लाग्दैन ? के तपाइँको आमाले गरेको व्यवहार ठीक छ ?’ भनेर र्याखर्याख्ती पारेपछि उनीहरु नाजवाफ फर्केका थिए ।
सोही समयमा प्रहरीले ताप्लेजुङ तोङ्वा एण्ड सेकुवा कर्नरबाट पनि सञ्चालिका दोर्दी–८ कि १९ वर्षीया, गोर्खाकी वर्ष १९ कै, राइनास नपा–६ कि वर्ष १९ र बेसीशहर–८ कि ३० वर्षीया युवतीहरुलाई रङ्गेहात भन्दै पक्राउ गर्यो । अनैतिक क्रियाकलाप हुने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले सर्च अपरेशनका क्रममा ती युवती पक्राउ पर्दा कुनै प्रमाण भने फेला पारेको थिएन ।
प्रहरीले लगाएको आरोपमा युवती र होटल सञ्चालक महिलाले खाजा खान आउने ग्राहकसँग मोलमोलाईमा अनैतिक क्रियाकलाप (देहव्यापार) गराएको उल्लेख गरियो । तर पक्राउ पर्दा रङ्गेहातमा कुनै पुरुष ग्राहक भने पक्राउ परेका थिएनन् ।
ती युवतीलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताको कसूरमा पक्राउ गरिएको भनिएको छ । तर, अभद्र व्यववहारमा मुद्दा चलाइयो । अभद्र व्यवहार के गरे भन्ने केही पनि खुलाइएको छैन । प्रहरीले लगाएको आरोप पुष्टी नभए पनि जनही १० हजार धरौटीमा तारिखमा छुटेका उनीहरुले अनाहकमा प्रहरीले आफूहरुको बेइज्जत गरेको बताए ।
टिप्पणीहरू