विदेशको प्रलोभन देखाउँदै ठगी धन्दा चलाउनेहरु समातिए
आकर्षक तलब सुविधासहित विदेशमा काम गर्न पठाइदिने प्रलोभनमा पारेर सर्वसाधारणलाई ठग्ने दलालहरुको बिगबिगी बढिरहेका बेला प्रहरीले सोही आरोपमा तीन जनालाई पक्रेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले दलालहरु मौसम मग्राती, अनन्तप्रकाश श्रेष्ठ र प्रचलन राईलाई पक्राउ गरेको हो । सुनसरी घर भई हाल भक्तपुरको सूर्यविनायक बस्दै आएका ३१ वर्षीय मौसमले माल्टा पठाइदिने नाममा ठगेको पुष्टि भएको छ ।
यस्तै, सिन्धुपलाञ्चोक घर भई हाल कोटेश्वर बस्दै आएका ३२ वर्षीय अन्नतले रोजगारीको सिलसिलामा पोल्याण्ड पठाइदिने आश्वासनमा पीडितबाट पटक–पटक गरि आठ लाख रुपैयाँ उठाएपछि सम्पर्कविहीन भएको खुल्न आएको छ । उदयपुर घर भएका र हाल ललितपुरको नखिपोट बस्ने ३० वर्षीय प्रचलनले पनि क्रोयसियामा राम्रो जागिर मिलाइदिने भन्दै पीडितबाट पटक–पटक गरेर छ लाख रुपैयाँ उठाएपछि फरार भएको खुलेको छ ।
आफूहरु ठगिएको थाहा पाएपछि पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेका थिए । त्यसपछि खोजतलास अघि बढाएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका निम्ति विभाग पठाइएको छ ।
टिप्पणीहरू